गणेशमान सिंहले देखाएको बाटो जीवन दर्शन र संस्कार बनाएर हिँड्नुपर्छ : राष्ट्रपति पौडेल

हिमाल प्रेस २ असोज २०८० १८:००
4
SHARES
गणेशमान सिंहले देखाएको बाटो जीवन दर्शन र संस्कार बनाएर हिँड्नुपर्छ : राष्ट्रपति पौडेल

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाएर गणेशमान सिंहले देखाएको बाटोमा हिड्न सके मात्र पनि उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको व्यक्तित्व र योगदानलाई स्मरणीय बनाउन भक्तपुरको कटुञ्जेमा निर्माण गरिएको गणेशमान बाटिकामा रहेको सिंहको पूर्णकदको शालिक मंगलबार अनावरण गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन, वचन र कर्मले गणेशमानजीले निर्वाह गर्नुभएको काम सबैका लागि सँंधै प्रेरणा बन्नेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘राजनीतिलाई सत्ता र शक्तिको साधन होइन राष्ट्रनिर्माणको लागि जीवन समर्पित गर्ने आदर्श, त्याग र निष्ठाको निष्काम कर्म हो भनेर प्रमाणित गर्ने गणेशमानजीको यही जीवन दर्शनको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन सक्नुपर्छ।’

सिंहसँगको साथ आफ्नो राजनीतिक जीवनमा पाएको बताउँदै उनले थपे, ‘उहाँकै कारण सदैव सत्य, निष्ठा र आदर्शको बाटोमा हिड्न अभिप्रेरित गरिरहेको छ।’

नेपालमा २००७ सालको क्रान्तिले एक सय चार वर्ष लामो मध्ययुगीन बन्द समाज र जहानीयाँं शासनको अन्त्य गरेसँगै प्रजातान्त्रिक युगको प्रारम्भ भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सातदेखि सत्र सालको दशक प्रजातन्त्र पल्लवित पुष्पित हुँदै नेपाललाई सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणसहित आधुनिक युगतर्फ डोर्याउने एउटा ऐतिहासिक कालखण्ड भएको बताए।

‘जेलनेल, निर्वासन र क्रान्तिका कठिन समयमा पनि लोकतन्त्रको पक्षमा सतिसाल झैँ उभिने मात्र नभएर आफ्नो विचार र अडानमा अडिग रहने सिंहको स्वभाव हामीजस्ता लोकतन्त्रमा लाग्ने र लड्नेहरूका लागि प्रेरणाको अजस्र स्रोत बन्यो र अझै बनिरहने छ’ उनले भने।

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहले आन्दोलन सफल भएपछि तत्कालीन राजाबाट प्रधानमन्त्री पदको लागि भएको प्रस्तावलाई अस्वीकार गरी आफ्ना समकक्षीलाई त्यसको नेतृत्व सुम्पिएको स्मरण पनि पौडेलले गरे।

प्रकाशित: २ असोज २०८० १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =