उति बेला विद्यार्थी डराउँथे, अहिले शिक्षक डराउनुपर्छ

संगीता श्रेष्ठ ३१ भदौ २०८० १०:२३
3.9k
SHARES
उति बेला विद्यार्थी डराउँथे, अहिले शिक्षक डराउनुपर्छ

एक समय थियो, विद्यार्थी ‘वर्षा म्याम’ को नाम सुन्दा मात्रै पनि डराउँथे। उनी स्कुलको गेटमा पुग्नेबित्तिकै विद्यार्थी खुरुखुरु कक्षा छिरिसक्थे। विद्यार्थीले यस्तो व्यवहार सम्मानका साथ गरेको महसुस गर्थिन् उनी।

‘पहिले विद्यार्थी आफ्नो गुरुलाई आमाबुबाजस्तै आदर गर्थे,’ उनले ती दिन सम्झिइन्, ‘विद्यार्थीमा गुरुप्रति आदरभाव हुन्थ्यो। केही नभन्दा पनि विद्यार्थीमा गुरुप्रति एक किसिमको डर हुन्थ्यो। तर यसले सिकाइमा कुनै असर गर्दैनथ्यो।’

वर्षा अग्रवाल २५ वर्षयता शिक्षण पेसामा छिन्। विद्यालयमा अध्यापन सुरु गर्दाका ती दिनतर्फ फर्कँदा उनलाई अहिले अनौठो लाग्छ।

सिकाइ क्रियाकलाप, सिक्ने शैली र प्रविधिमा नयाँपन आएको छ नै। विद्यार्थीले शिक्षकसँग गर्ने व्यवहारमा पनि आमूल परिवर्तन भएको उनको अनुभव छ। त्यसैले त उनी देख्दा विद्यार्थी हच्किँदैनन्। अनि उनलाई लाग्छ- विद्यार्थीले टेर्नै छाडे।

त्यसलाई उनी स्वाभाविक ठान्छिन्। भन्छिन्, ‘अभिभावकहरू आमाबुबालाई नै सम्मान गर्दैनन् भनेर गुनासो गर्न आउँछन्। गुरुलाई के सम्मान गर्थे? अनि कसरी डराउँथे? यो त सामाजिक व्यवस्थामा आएको परिवर्तनले हुनुपर्छ।’

वर्षा विद्यार्थी र अभिभावकमाझ ‘स्ट्रिक्ट टिचर’ का रूपमा परिचित थिइन्। ‘मलाई विद्यार्थीले सुरुदेखि नै स्ट्रिक्ट टिचर भन्थे,’ उनी भन्छिन्, ‘मैले केही नगर्दा पनि विद्यार्थी डराउँथे।’

समयसँगै शिक्षकसँगको आदरसहितको डर हराएको उनको अनुभव छ। ‘पहिलेका विद्यार्थी एकदमै ज्ञानी हुन्थे,’ उनले भनिन्, ‘भनेको कुरा चुपचाप मान्थे। आँखा तर्दा पनि डराउँथे।’

अहिलेका विद्यार्थी त्यस्ता छैनन्। उनीहरू शिक्षकले भनेको कुरा खासै ध्यान दिँदैनन्, बेवास्ता गर्छन् र शिक्षकका कुरा सुने पनि नसुनेझैँ गर्छन्। ‘अहिलेका विद्यार्थी शिक्षकका कुरा एक कानले सुन्छन् अर्कोले उडाइदिन्छन्,’ वर्षाले भनिन्, ‘कि त कुरा सुन्दैसुन्दैनन्। कि सुने पनि नसुनेझैँ गर्छन्।’

यसो भन्दैमा विद्यार्थीमा सिकाइ कमजोर हुँदै गएको हो त? उनलाई त्यस्तो लाग्दैन। विद्यार्थी ‘एड्भान्स्ड’ रहेको वर्षाको बुझाइ छ। कतिपय सन्दर्भमा विद्यार्थी धेरै अगाडि छन्। ‘पहिलेजस्ता सोझा विद्यार्थी छैनन् अहिले,’ उनले भनिन्, ‘त्यसैले उनीहरूलाई बुझ्न गाह्रो छ। पढाउन पनि सजिलो छैन।’

विद्यार्थीले वर्षा म्यामको तुलना ‘नरिवल’सँग गर्ने गरेका छन्। ‘अहिलेका विद्यार्थीले धेरै कुरा बुझेका छन्,’ उनले थपिन्, ‘म्याम बाहिरबाट कडा हुनुहुन्छ तर भित्र नरम’ भन्ने गर्छन्।’

अभिभावक पनि बदलिए

पहिलेका शिक्षकले अनुशासनहीन विद्यार्थीलाई सही बाटोमा ल्याउन थप्पड हान्ने गरेको सबैलाई थाहै छ। वर्षाले पनि अध्यापन सुरु गर्दाताका चकचके विद्यार्थीलाई अनुशासनमा राख्न एकदुई थप्पड हान्थिन्। तर अहिले त्यस्तो पटक्कै नगर्ने उनी बताउँछिन्।

‘पहिले शिक्षकले विद्यार्थीलाई एकदुई झापड हान्दा त्यसलाई पोजिटिभ पनिसमेन्टका रूपमा लिइन्थ्यो,’ उनले भनिन्, ‘तर अहिले त्यस्तो छैन। स्कुलले नै विद्यार्थीलाई पिट्न दिँदैन। अलिकति केही भयो कि अभिभावक गुनासो लिएर स्कुलमा आइपुग्छन्। पढाइका बारेमा पनि अभिभावकसँग डराउनुपर्छ। अनि भयरहित सिकाइको पनि त कुरा छ।’

अहिलेका विद्यार्थीलाई मात्र नभई अभिभावकलाई पनि सम्झाउने गरेको अनुभव वर्षासँग छ। ‘अभिभावक पनि पहिलेजस्ता छैनन्,’ उनले भनिन्, ‘पहिले अभिभावक आफैँ विद्यार्थीलाई सम्झाउनू, पिट्नू र अनुशासित बनाउनू भन्थे। अहिले त केही भन्यो कि आमाबुबा स्कुलमा आइपुग्छन्। उल्टै उनीहरूलाई सम्झाउनुपर्ने हुन्छ।’

पढाइमा प्रविधिको वर्चस्व

पछिल्ला छसात वर्षयता विद्यार्थीको मनोविज्ञानमा निकै परिवर्तन भएको वर्षाको अनुभव छ। ‘छसात वर्षदेखि मोबाइल, ल्यापटप, कम्प्युटर, इन्टरनेटजस्ता प्रविधिमा विद्यार्थीको पहुँच बढेको छ,’ उनले भनिन्, ‘उनीहरूको ध्यान पढाइभन्दा तिनमा बढी छ।’

प्रविधिमा पहुँचसँगै अस्तव्यस्त भएको विद्यार्थीको पढाइ कोरानाकालपछि भद्रगोल भएको छ। कोरोना संक्रमण फैलिन नदिन सरकारले २०७७ साल चैतमा लकडाउन घोषणा गरेको थियो।

त्यतिखेर सबै किसिमका सामाजिक, आर्थिक गतिविधि ठप्प भए। त्यस्तो बेला शैक्षिक संस्था पनि बन्द हुने नै भए। सुरुका केही महिना त विद्यार्थीले पढ्दै नपढी बिताए। कोरोनाकाल लम्बिने देखेपछि स्कुलहरूले अनलाइन कक्षा सुरु गरे।

‘विद्यार्थी स्कुल र शिक्षकबाट लगभग दुई वर्षजति टाढा थिए,’ वर्षाले सुनाइन्, ‘जसले गर्दा विद्यार्थी र शिक्षकबीच एक किसिमको दूरी बढेको छ।’ शिक्षक र विद्यार्थीबीच मात्र नभई प्रविधिले आमाबुबा र बच्चाबीच पनि दूरी बनाइदिएको छ।

एउटै घरमा पनि आमाबुबा र छोराछोरी आआफ्नो ‘ग्याजेट’मा व्यस्त हुँदा संवाद हुँदैन। जसले गर्दा बच्चाहरू अभिभावकबाट टाढिँदै गएका छन्। छोराछोरी आमाबुबासँग आफ्ना मनका कुरा भन्न हिचकिचाउन थालेको वर्षा बताउँछिन्।

प्रविधिले सिर्जना गरिदिएको दूरीलाई कोरोनाकालले झन् बढायो। त्यतिखेर विद्यार्थी मोबाइल, ल्यापटपसँग नजिकिए। स्कुल खुलेपछि प्रविधिकै कारण एकदुई विद्यार्थीमा ‘डिप्रेसन’को समस्यासमेत देखिएको वर्षा बताउँछिन्। त्यसै कारण त्यस्ता विद्यार्थी एसईई दिनबाट वञ्चित भए। उनीहरूको पूरै वर्ष खेर गयो।

‘एक जना विद्यार्थीमा हामीले एकोहोरिने, पढ्न मन नगर्ने, भनेको नमान्नेजस्ता लक्षण देख्यौँ,’ उनले भनिन्, ‘किन रहेछ? भनेर पत्ता लगाउँदै जाँदा बच्चामा डिप्रेसनका समस्या देखियो। अभिभावकसँग सल्लाह गरेर विद्यार्थीको काउन्सिलिङ गर्न थाल्यौँ। बच्चाले उपचार पायो।’

शिक्षक र विद्यार्थीबीचको त्यो खाडल पुर्न वर्षा लागिपरेकी छन्। यस्ता समस्या संवादले मात्र भर्न सकिने उनको भनाइ छ। ‘अहिलेका विद्यार्थीमा ‘मोबाइल इज इभ्रिथिङ’ भन्ने छ,’ उनले भनिन्, ‘विद्यार्थीलाई त्यस्ता गेमिङ ग्याजेटबाट टाढा राखेर अभिभावक र शिक्षकसँग संवाद गरेर त्यो दूरी कम गर्न सकिन्छ।’

शिक्षक नै विद्यार्थी

प्रविधिका नकारात्मक पक्षसँगै सकारात्मक पक्ष पनि रहेको वर्षा बताउँछिन्। कोरोनाकालमा सुरु गरिएको अनलाइन कक्षा विद्यार्थीका लागि मात्र नभई शिक्षकका लागि पनि नयाँ अभ्यास थियो। त्यसबाट आफूले धेरै नयाँ कुरा सिक्न पाएको उनी बताउँछिन्।

किताबमा बढी जोड गर्ने, नोट बनाएर पढाउने शिक्षक अनलाइन कक्षामा ‘गुगल फ्रेन्डली’ भए। विद्यार्थीलाई सिकाउन आफू पनि ‘रिसर्च’ गर्न थाले। ‘विद्यार्थीलाई सिकाउनु पहिले पनि रिसर्च त गरिन्थ्यो तर अनलाइन कक्षाका कारण झन् बढी गर्नुपर्ने भयो,’ वर्षाले सुनाइन्, ‘त्यतिखेर शिक्षक पनि विद्यार्थी बने। नयाँनयाँ कुराको खोजी गर्न थाले। विद्यार्थीलाई सिकाउन आफू पनि सिक्न थाले।’

बदलियो सिकाउने तरिका

वर्षा हिजोआज आफ्नो पढाउने तरिका बदलिएको बताउँछिन्। पहिलेजस्तै गाली गरेर, पिटेर होइन माया गरेर, बुझाएर पढाउने, सम्झाउने गरेकी छन्। ‘बच्चालाई बुझाउन उनकै भाषा प्रयोग गर्नु पर्दो रहेछ,’ उनले भनिन्, ‘बाबुनानी भन्दै सम्झाउनुपर्छ।’

‘बाबुनानी’ उनका लागि ‘म्याजिक वर्ड’ भएको छ। ‘हिजोआज विद्यार्थीलाई वचनपिच्छे बाबु भनेर बोल्छु,’ उनले भनिन्, ‘जस्तोसुकै अटेरी विद्यार्थी भए पनि यसरी बोल्दा मेरा कुरा सुन्छ, मान्छ पनि।’

कहिलेकाहीँ आफ्नो स्वभाव परिवर्तन भएको देख्दा वर्षा छक्क पर्छिन्। ‘म कस्तो स्ट्रिक्ट टिचर थिएँ,’ उनले भनिन्, ‘अहिले नरम भएर बाबुनानी भन्दै विद्यार्थीसँग कुरा गर्छु। आफैँ छक्क पर्छु, म त्यही मान्छे त हो भनेर१’

वर्षाको पढाउने तरिका पनि बदलिएको छ। पहिले परम्परागत तरिका अर्थात् ‘नोट्स’ बाट पढाउने उनी अहिले अडियो, भिडियोमा जोड दिन्छिन्। ‘हिजोआज विद्यार्थीलाई नयाँ शिक्षण विधिले पढाउँछु,’ उनले भनिन्, ‘अहिले किताबमै मात्र सीमित हुन्नँ। अडियो, भिडियोमा बढी जोड दिन्छु। रिसर्च गर्ने बानी बढेको छ।’

आफ्ना विद्यार्थी डाक्टर, इन्जिनियरलगायत ठूलठूला पदमा पुग्दा आफूलाई खुसी लाग्ने उनी बताउँछिन्। ‘हस्पिटलमा चेकअपका लागि जाँदा डाक्टर, नर्स नै आफ्ना विद्यार्थी पाउँछु’, उनले सुनाइन्, ‘आफूले पढाएको विद्यार्थी त्यसरी सफल भएको देख्दा खुसी लाग्छ। गर्व महसुस हुन्छ।’

शिक्षण पेसालाई उनी चुनौतीपूर्ण मान्छिन्। तर उनी यी चुनौतीबीच पनि रमाउँछिन्। शिक्षक भएकोमा गर्व महसुस गर्छिन्। ‘विद्यार्थीलाई एकदमै माया गर्छु। आफ्नै सन्तानजस्तै लाग्छ,’ उनले भनिन्, ‘आफूलाई विद्यालयको कर्मचारी मान्दिनँ। स्कुललाई आफ्नो मानेर काम गर्छु।’

उनी अहिले नाइटिंगेल हाइयर सेकेन्डरी स्कुलकी सिनियर इन्चार्ज पनि हुन्। २७ वर्षको उमेरमा शिक्षकका रूपमा नाइटिंगेल स्कुलबाटै करियर सुरु गरेकी उनी ५२ वर्षकी भइन्। अंग्रेजी भाषामा दक्खल राख्ने वर्षा विद्यार्थीलाई यही विषय पढाउँछिन्। उनीसँग प्राथमिक तहदेखि १० कक्षाका विद्यार्थीसम्मलाई पढाएको अनुभव छ।

२५ बर्से उमेरको ऊर्जा देखिने वर्षाले ‘बेस्ट क्लास टिचर’, ‘बेस्ट टिचर’लगायत थुप्रै अवार्ड जितेकी छन्। आर्काइभबाट

प्रकाशित: ३१ भदौ २०८० १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast