नियात्रा

तीनछाँगे झरनामा इन्द्रेणी सपना

राजाराम बर्तौला ३० भदौ २०८० १०:१३
24
SHARES
तीनछाँगे झरनामा इन्द्रेणी सपना

वर्षा ऋतु माने झरीको ऋतु। पानी पर्नु, मूल फुटनु, खहरे बढ्नु, नदीको सतह बढ्नु यावत् साउन-भदौ महिनाको प्राकृतिक ऋतुधर्म हो। बर्खामा पहरा रसाउँछ; खोला गडगडाउँछन्; रूखका जराजराबाट पानी रसाउँछ, कतै मूल फुट्छ कतै पहिरो लड्छ। यी तमाम दृश्य वर्षामासको प्राकृतिक लीला हुन्।

बर्खामा आकाश कि त बादलले ढाकिएको हुन्छ, कि त नीलो रङमा बेरिएको। खेतखलिहान, बारी, कान्ला, वन-उपवन, पहाडकन्दरा जताततै हरियाली हुन्छ। मौसम कहिले खुल्छ अनि निर्मल आकाश देखिन्छ। कहिले गमक्क गम्किन्छ, कालो बादलको घुम्टो ओढेर।

कतिखेर के हुन्छ भन्ने नसकिने साउन-भदौको मौसम। रमितेका लागि रमाइलो, भिरपाखामा घर हुनेको लागि रोइलो। पदयात्रीका लागि बादलले पहाडलाई छोप्दा घनघटाले वनै कालोनीलो बनाउँदा डर लाग्ने रहेछ।

नौबीसे, खानीखोला पुलैबाट उकालो लाग्दा र धानका हरिया फाँजोले भरिएका खेतका आलीमाथि टेकेर हिँड्दा त्यति भय लागेन जति पहाडको नजिक खोँच कन्दारामा पुग्दा। वर्षाको बादल कहिले छपक्कै छोपेर धुम्मिन्छ त कहिले खुलेर निर्मल आकाश देखिन्छ। आकाश खुल्दा बादलका झुण्डमाथिमाथि पहाडको टुप्पातिर सर्दै जान्छन्। वनपाखाले मन्द मुस्कान छरेजस्तो लाग्ने। पहाडका चेपचेपबाट जलधारा लिएर अटेसमटेस गर्दै ढुंगाको कापकाप छिचोल्दै कतै चेपिएर, कतै फिँजारिएर गर्जिएर बग्ने खहरेको सेता फेटातुल्य खानीखोलाको यौवन चपलता हेर्नलायक थियो।

हामी खानीखोलाको शिरतर्फ जाँदै थियौँ। तीनछाँगे झरना हेर्ने अभिलाषाले। त्यसकै लागि यो पदयात्रामा थियौँ। नौबीसे बजारबाट उकालो लागेपछि हरिया खेतका गह्रा त देखिन्छ नै तरेली परेका पहाडी कान्लामा तरकारी खेती पनि देखिन्छ। पहाडका भित्तामा लामालामा टहरा देखिए। त्यहाँ पोल्ट्री फर्म छ भन्ने बुझियो। नौबीसे काठमाडौँको सेटलाइट सिटी बन्दै गएकोमा त द्विविधा छैन नै सहरवासीको लागि तरकारीको जोहो गर्नेमा पनि यो ठाउँ निकै अगाडि देखियो।यहाँका किसानका मेहनती हातले उब्जाएका हरियो तरकारी राजधानीवासीको भान्सामा पुग्ने गर्छ। खेतका आलीबाट हिँड्दै गर्दा ती दृश्य आँखैअगाडि थिए।

संघीयताको अभ्युदयले दिएको उपहार डाँडाकाँडा जताततै डोजरको प्रहार देखिन्छन्। यहाँ पनि पहाडको माथिमाथिसम्म विकासे बाटो पुगेको छ। हामी पनि विकासले कोरेको यिनै सजिलो बाटो भएर हिँडेको भएनि हुन्थ्यो होला। तर पदयात्राको सुखानुभूति त्यसबाट प्राप्त हुन सक्दैन। हाम्रो रोजाइमा खेतका आली र गोरेटो बाटो परे। गोरेटो बाटो हिँड्नुको आनन्द ढलाने बाटोमा हिँडेर पाउन सकिँदैन।

नौबीसेदेखि कस्सिएर डेढघण्टा उकालो लागेपछि हामी धुनिबेसी-७, दोभान पुग्यौँ। यहाँ एउटा आधारभूत विद्यालय रहेछ। आधारभूत विद्यालय भनेको आठ कक्षासम्म पढाउने विद्यालय। यहाँबाट ठाडो गरी हेर्‍यो भने टोपी नै खस्छ कि भनेजस्तो पहाड देखिन्छ। पहाडको बीचभागमा कतैकतै खोरिया फाँडेर खेती गरेको पनि देखिन्छ। तर निकै माथि शिखरतिर भने बस्ती छ। पहाडको तल बेसीतिर क्षेत्री-बाहुनको बाहुल्य रहेछ। पहाडको लेकमा तामाङ बस्तीमात्र देखिन्छ। माथि लेकको तामाङ बस्तीमा प्राथमिक विद्यालयमात्र छन्। त्यहाँबाट ५ कक्षा उत्तीर्ण गरेपछि एकडेढ घण्टाको उकालोओरालो गरेर तल दोभानस्थित आधारभूत विद्यालयमा पढ्न आउनपर्छ यहाँका विद्यार्थीले। यहाँबाट आठ कक्षा उत्तीर्ण गर्नेहरू भने तल खानीखोलास्थित माध्यमिक विद्यालयमा धाउनुपर्छ पढ्न।

दोभानबाट केही घण्टाको दूरीमा नै  छ तीनछाँगे झरना। रमाइो पदयात्राका लागिहामी लेक चढ्ने भयौँ। दोभानबाट झोलुंगे पुल तरेर उकालो लाग्यौँ। एकनासको उकालो दुईघण्टा चढेपछि धुसिनी गाउँ पुगिन्छ। धुसिनी गाउँबाट विकासे बाटो हुँदै ओरालो झर्दै तीनछाँगे झरना भएको ठाउँमा आयौँ।

देउरालीमा पुग्दैगर्दा पाँचसात घरधुरी भएको तामाङ बस्ती आउँछ। ढुंगाको पर्खालले घेरेर बनाइएका घरको किनारैबाट ढुंगाकै भर्‍याङ बाटो अगाडि बढ्छ। घरको आँगन छेउछाउ सिस्नुघारी र घोडताप्रे देखेर सहयात्री मित्रले भने, ‘यहाँ त औषधि नै औषधि रहेछ।’

सहरमा आजकल सिस्नुको साग र ढिँडोको छाक पाए खुसी हुन्छन् धनाड्यहरू। यहाँ पहाडको अक्करे भिरमा झुन्डिएको जिन्दगी सिस्नुले पोल्छ। छाक त टर्छ तामाङ र चेपाङको तर गरिबी चिहाउँछ पेरुङबाट; चोयाको कापकापबाट।

उकालो उक्लिँदै गर्दा सेतो फुलेको पातमा आँखा पर्‍यो। त्यसको नाम र जात थाहा भएन। एउटै हाँगामा लागेको तीनपातमा एउटा सेतो, अर्को पहेँलो र बाँकी हरियो। एउटै हाँगामा तीन रङ। ‘प्रकृतिले पनि अनौठो सिर्जना गर्छ’ एक जना साथीले भने। रङको समिश्रण एउटै वृक्ष र त्यसमा पनि एउटै डाली, त्यही डालीको कापमा उम्रेको तीनपात तीन थरीका रङ। मानिसको जीवन पनि यस्तै सादृश्य सामीप्य राख्छ सायद। एउटै वंशमा जन्मिए पनि भिन्न चालचलन, बानीबेहोरा लिएर मान्छे जन्मिन्छन्।

तीनछाँगे झरना यहाँको नाम चलेको ठाउँ हो। स्थानीयको लागि पनि यो ठाउँ निकै आकर्षक र पर्यटकीय महत्त्वको छ। हिउँदमा समेत नसुक्ने यो झरना उचाइको हिसाबले त्यति धेरै उचाइमा चाहिँ होइन। तर आकर्षणको हिसाबले तीनवटा छाँगा भएर झर्ने भएको हुँदा दर्शनीय छ। यहाँसम्म पुग्न डोजरले खनेर बाटो पुर्‍याइएको भएतापनि बर्खाको पानीले बाटो हिँड्न सकिने छैन। यद्यपि स्थानीय सरकारले केही निर्माण कार्य गरिरहेको देखिँदा निकट भविष्यमा यहाँसम्म पुग्न स्थानीय संरचना निर्माण हुने देखिन्छ। सडकको पहुँचसम्म जोडिएपछि युवाको रोजाइमा यो झरना पर्ने निश्चित छ।

नेपालको तराई क्षेत्रमा वायुमण्डलीय न्यून चापीय प्रणालीको प्रभावले बिहानैदेखि घरी रोकिने र घरी पर्ने गरिरहेको थियो। दोभानबाट उकालो लागेपछि पानीले चुट्नु चुट्यो। छाताले पनि आधा जीउमात्र छेक्ने रहेछ। छाता ओडेको छु भन्ने आभास दिने तर भर नदिने। रातो माटो, पानी परेपछि बाटो चिप्लो भएर चिप्लने उत्तिकै डर। बर्खाका पानीमा रुज्दै हिँड्नुको पनि बेग्लै अनुभूति हुने रहेछ।

झरनाको चिसो पानीले आत्मीय सुख प्रदान गर्छ। युवायुवतीको चाहना प्रकृतिसँगको निकटता र झरनामा भिजेर तस्बिर लिने, भिडियो बनाउने, टिकटक बनाउने र सामाजिक सञ्जाल रंग्याउने रहन्छ। हरियो पहाडले घेरेको चट्टानको शिर जटाजुटबाट फुत्त निस्केर सेतो चाँदीको टकमारीसँगै आफूलाई एकाकार गरेको रंगिन तस्बिरले सम्झना सजाउँछ इन्द्रेणीको।इन्द्रेणी सपना। झरनामा पानी परेपछिको उघ्रिएको आकाशमा घामको किरणसँगै सप्तरंगी इन्द्रेणीले अर्धवृताकार धनुष बनाउँछ। इन्द्रधनुष दर्शनीय बन्छ। यसले लोभ्याउँछ पर्यटकलाई।

अहो नेपाल! पहाड छन् र त झरना छन्। झरना छन् र त इन्द्रधनुष छन्। इन्द्रधनुष छन् र रंगिन सपना छन्। सपना सजाउन इन्द्रेणी सजाउनुपर्छ भन्ने लाग्यो।

झरनामा नुहाउँदा भने विचार पुर्‍याउनुपर्छ। लेउ लागेका ढुंगामा चिप्लिएर लड्ने र चोटपटक लाग्ने सम्भावना रहन्छ। तीनछाँगेसँगको क्रीडापछि ओरालो लाग्यौँ लिखु गाउँ हुँदै। खानीखोलामा बस कुरेर बसेको थियो। साँझ ६ बजे त्यहाँबाट काठमाडौँ प्रस्थान गर्‍यौँ।

प्रकाशित: ३० भदौ २०८० १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast