सहर भन्नासाथ सबै किसिमका सुविधा हुने, आर्थिक रूपले बढी चलायमान भइराख्ने, बढीभन्दा बढी अवसर पाइने भन्ने बुझिन्छ। त्यसैले अन्य ठाउँभन्दा मानिस सहरमा बसोबास गर्न रुचाउँछ। जति ठूलो सहर बन्दै जान्छ, त्यति नै धेरै आकर्षण बढ्दै जान्छ।
राम्रा र सफा चिल्लो सडक, सजिलैसँग बिनाअवरोध पैदल हिँड्ने फुटपाथहरू, फूलबिरुवासहितको हरियाली पार्कहरू, राम्रा आकर्षक ठूला चिटिक्क परेका पसलहरू, थरीथरीका स्वादसहित आरामले कुराकानी र भेटघाट गर्न सकिने रेस्टुराँ र कफी हाउस, धुवाँ र धुलो ध्वनिविहीन सवारीसाधन, एक कुनाबाट अर्को कुनासम्म पुग्न व्यवस्थित सार्वजनिक यातायात प्रणाली सहरका पहिचान हुन्।
साथै संगीतका कार्यक्रम सुन्न, नाट्यशालामा नाटक र साहित्यिक कार्यक्रम हेर्न, बौद्धिक बहस र ठूला सभासम्मेलन आयोजना हुने सभागृह र सांस्कृतिक केन्द्र, खेलकुदका कार्यक्रम र सिक्लाइस (प्रशिक्षण) गर्न कभर्ड हल, रंगशाला, विज्ञानका चमत्कार र भविष्यमा हुने गतिविधि बुझ्न विज्ञान केन्द्रसहित ऐतिहासिक दस्तावेज, तस्बिर आदि थाहा पाउन संग्रहालयले सुसज्जित हुन्छ सहर।
त्यसैले त सहर आकर्षणको केन्द्र हुन्छ, बन्छ र बनिरहन्छ किनभने मानिसको जीवनयापन सहज बनाउन आवश्यक स्वास्थ्य र शिक्षा, बिजुली र पानी, फोहोर र खेर जाने वस्तुहरूको उचित व्यवस्थापन आदि सबै प्राप्त हुने ठाउँको रूपमा लिइन्छ, सहरलाई। सहर अन्य ठाउँहरूभन्दा महँगो हुन्छ। अन्य ठाउँभन्दा सुविधा बढी हुन्छ। मानिस बढी व्यस्त हुन्छन्, आर्थिक रूपमा आफूलाई सक्रिय बनाइराख्छन्।
नेपालका ठूला ६ सहरहरूमध्ये पोखरा एक हो।
सबैभन्दा ठूलो क्षेत्रफल (४६४ वर्ग किमि) भएको महानगर पोखरा हो। कुल ३३ वडा भए पनि ११ वडा सहरी क्षेत्र, १४ वटा अर्धसहरी क्षेत्र र ८ ग्रामीण क्षेत्रका रूपमा तोकिएको छ। २०७८ को जनगणना तथ्यांकअनुसार पोखरामा बसोबास गरिरहेका ५ लाख १३ हजार ५ सय मानिस छन्। जनसंख्या हिसाबले काठमाडौँपछि दोस्रो भए तापनि क्षेत्रफल हिसाबले काठमाडौँभन्दा ९ गुना, विराटनगरभन्दा ६ गुना, ललितपुरभन्दा १८ गुना, वीरगन्जभन्दा २१ गुना र भरतपुरभन्दा साढे २ गुना ठूलो सहर छ पोखरा।
तर महानगरमा हुनुपर्ने न्यूनतम आवश्यकता पोखरा सहरमा पूरा हुन सकेको छैन। व्यवस्थित सहर बनाउन निकै धेरै प्रयासको खाँचो छ। धेरै ठूलो लगानीको जरुरत छ। ठूलो महानगर जस्तै सबैखाले सुविधासहित उन्नत सहरको रूपमा व्यवस्थित गर्न पोखरालाई कर्मस्थल बनाउने, पोखरा जन्मस्थल हुने, पोखरालाई माया गर्ने, पोखरालाई आफ्नै ठान्ने सबै नागरिकको सामूहिक प्रयासको खाँचो छ।
आजको पोखरा स्वरूप बन्न २७० वर्ष लागेको छ। कास्कीकोटबाट देखिँदाको उपत्यका जहाँ खरबारीले भरिएको थियो। फेवाताल र बीचमा थुम्का नै थियो। सेती नदी अविरल बगेकै थियो। वरिपरि अहिले कहलिएको अर्मला, काहुँडाँडा, पुम्दीभुम्दी, निर्मलपोखरी, भरतपोखरी डाँडाहरू, आर्वा र कालिका डाँडा उभिएकै थिए। य
हीबीचको समथर फाँटलाई बजार बनाउने उद्देश्यले १८०९ मा कस्केली राजा सिद्धिनारायण शाहले आफ्नो राम्रो सम्बन्ध रहेको भक्तपुरका राजा रणजित मल्ल, ललितपुरका राजा तेजप्रकाश मल्ल र काठमाडौँका राजा जयप्रकाश मल्ललाई अनुरोध गरेर केही व्यापारीहरू, केही शिल्पीहरू, केही कालीगढहरू, घर बनाउन माहिर केही प्राविधिकहरू गरी १ सय ५० जनालाई २६ कुरिया जग्गा निःशुल्क उपलब्ध गराएर सुरु भएको पोखरा बजार गौंडा, व्यापारिक केन्द्र हुँदै आजको महानगर बन्न पुगेको हो।
आज पोखरा सहरको रूपमा आफ्नै विशेषताहरू छन्। तालहरूको सहर भनेर चिनिएको छ। माछापुच्छे« र अन्नपूर्ण हिमशृङ्खलाको काखमै बसेको भनेर चिनिएको छ। वरिपरि हरियाली थुम्काहरू र डाँडाले रमाइलो बनाएकै छ। उत्तर चीन र दक्षिण भारत सिमानाको समदुरी बीच भागमा बसेकै छ। सिद्धार्थ, पृथ्वी, भूपी राजमार्गले सडक सञ्जाललाई बिस्तार गरेको छ।
झन् मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अनि पूर्व-पश्चिम राजमार्ग जोड्ने गरी थालिएको काम सम्पन्न भएपछि त पोखरा सबैको लागि सहज हुने, सजिलै पुगिने सहर हुने नै छ। त्यसैले पनि लामेआहाल, पृथ्वीचोक र पोखरा बेंसीमा बन्ने ठूला बस टर्मिनलले रौनकता थपिने छ। त्यसो त छिनेडाँडामा बनेको अन्तर्राष्ट्रिय हवाई अड्डाले छिट्टै अन्य मुलुकका सहरहरूमा प्रत्यक्ष उडान गर्न पाइने अवसर सिर्जना भएको छ। अहिलेसम्म डुंगाहरू मात्र सञ्चालन भइरहेका तालहरूमा वातावरणीय सन्तुलनका साथ प्रदूषित नहुने गरी सौर्य मोटरबोटलगायत पानीमा खेल्न सकिने, गर्न सकिने क्रियाकलाप सञ्चालन गरिनेछ। उसो त निजी क्षेत्रबाट सञ्चालित वाटरपार्कहरूले पोखराको आकर्षण बढाएकै छ।
यी हरफ लेख्दै गर्दा आजभन्दा २५ वर्षअगाडि पोखरा बसपार्क वरिपरिका उत्साही, जाँगरिला युवाले स्थापना गरेको सहारा क्लब पोखराले यहाँको खेलुकद गतिविधि खासगरि फुटबलमा यथेष्ट योगदान पुर्याइरहेको छ। उसो त पोखरामा थुप्रै खेलकुद संस्थाहरू, क्लबहरू सक्रिय थिए। अहिले पनि छ नै। खेलकुदका थुप्रै विधा अहिले खेलिन्छन्। नयाँ विधा थपिएका छन् र थपिँदै जाने छन्। तर सहारा क्लबले सुरुदेखि नै आफूलाई फुटबलमा केन्द्रित गर्यो। फुटबल खेलाडी उत्पादन गर्न, फुटबल प्रतियोगिता सञ्चालन गर्न र फुटबलप्रति सानै उमेरदेखि आकर्षण र अवसर प्रदानमा फुटबल एकेडेमी सञ्चालन गरेर एउटा विशिष्ट भूमिका खेलेको छ।
उसो त पोखरामा फुटबल खेल्ने जमात् २०१४/०१५ सालदेखि नै सुरु भएको पाउँछौँ। एउटा समय थियो, पोखरा फुटबल खेलमा निकै नाम चलेको, धेरै पटक नेपाल च्याम्पियन बनेको इतिहास पनि छ। राष्ट्रियरूपमा खेलाडीहरू, प्रशिक्षकहरू, रेफ्रीहरू पनि पोखराले दिएको छ। विश्वमा सबैभन्दा बढी हेरिने खेल, धेरै दर्शक रंगशालामा मात्र हैन, टेलिभिजनमा समेत हेर्ने ठूलो संख्या र धेरै मुलुकमा व्यावसायिक फुटबल प्रतियोगिता हुने खेलका कारणले लोकप्रिय बन्न पुगेको छ।
पोखरा रंगशालामा सबैभन्दा ठूलो फुटबल प्रतियोगिता गरेर सहारा क्लबले यहाँको गरिमा र इज्जत कायम राख्न ठूलो योगदान पुर्याएकोले नेपालको फुटबल खेललाई एउटा स्थानमा पुर्याएको सबैले महसुस गरिआएका छौँ। यसलाई आउँदा दिनमा निरन्तरता प्रदान गर्नु चुनौतीपूर्ण त छँदैछ तर अब पोखरामा फुटबल खेलसँगै अन्य खेलको अन्तर्राष्ट्रिय प्रतियोगिताहरू, मैत्रीपूर्ण खेलहरू बढीभन्दा बढी कसरी आयोजना गर्न सकिन्छ भनी ध्यान दिनु जरुरी छ। उसो त खेलका लागि पूर्वाधारको कमी छ।
पोखरा रंगशालामा १६ हजार दर्शकको लागि बनाइएको व्यवस्थित रंगशाला बाहेक अरु खेल्नका लागि छन् भन्नेमात्र हो। सहारा क्लबको आफ्नै खेल मैदान दोबिल्लामा छ। यस्तै, लेखनाथ क्षेत्रमा एक, अमरसिंहमा एक, मालेपाटनमा एक, पुरानो टुँडिखेलमा एक, पृथ्वीनारायण क्याम्पस, लामाचौर गोस्ते, गण्डकी बोर्डिङ, हेमजाको गौरीशंकर, फूलबारी सैनिक ब्यारेक, सशस्त्र प्रहरी कार्यालयमा एक-एक गरी एक दर्जन जति फुटबल मैदान छन्। भेडाबारीमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्माण गर्ने भनिएको एकेडेमीसहितको रंगशालाको खासै प्रगति भएको देखिँदैन। त्यसैले फुटबल खेलको स्तर बढाउन खेल मैदान र प्रशिक्षण अनि व्यावसायिक रूपमा खेलाडीलाई प्रेरित गर्न लिग प्रतियोगिता अवधारणा अब गण्डकी प्रदेशको राजधानीबाट सुरु गर्न सकियो भने एउटा उपलब्धि हासिल गर्न सक्ने छौं। तर, बाटो लामो छ।
युरोपमा हुने प्रतियोगिता विश्वचर्चित छ। यो स्थितिमा पुग्न युरोपेली मुलुकहरूको लागि झण्डै १५० वर्ष लागेको इतिहास छ। अमेरिका, अफ्रिका, एसियाका मुलुकहरू प्रयत्न र अभ्यास गरिराखेका छन् तर अपेक्षित चर्चित हुन सकेको छैन। विश्व फुटबल महासंघले निकै ठूलो योगदान पुर्याउँदै आएको छ। स्रोतसाधन प्रविधि उपलब्ध गराउँदै आएको छ तर सोअनुसार नतिजा ल्याउन सकिएको छैन। नेपालको फुटबल संघ सधैँ विवादको घेरामा पाइन्छ। फुटबल खेलप्रति न्याय नै दिन सकेको छैन। तसर्थ सुधार जरुरी छ।
रमणीय पोखरालाई अन्य मुलुकबीच मैत्रीपूर्ण खेल गर्न सकिने ठाउँका रूपमा विकसित गर्ने अवसर सिर्जना गर्न सक्छौँ। त्यो फुटबल हुन सक्छ। क्रिकेट, भलिबल, गल्फ, टेनिस हुन सक्छ। यस्तो प्रतियोगिताले विश्वभर पोखरा चिनाउन सकिन्छ। पोखरा प्रवर्धन गर्न सक्छौँ। ख्याति कमाएका खेलाडीहरूलाई ल्याउन सक्छौँ। पोखराको प्रवर्धन गर्न उनीहरूको सहयोग लिन सक्छौँ। नेपालका उदीयमान खेलाडीहरू, खेल व्यवस्थापक, खेलाडी बन्न चाहने युवालाई प्रोत्साहित गर्न सक्छौँ। व्यावसायिक रूपमा खेल अगाडि बढाएर टेवा पुर्याउन सक्छौँ।
तर हाम्रा पनि केही जिम्मेवारी छन्। खेलका लागि वातावरण, दर्शकको अनुशासन र सकारात्मक व्यवहार, खेलको लागि स्तरीय पूर्वाधार, खेल संस्था र व्यवस्थापकहरूको कार्यकुशलता र कार्यदक्षता, समन्वय र सम्बन्ध बिस्तारमा प्रभावकारिता अनि आमपोखरेलीमा चासो र रुची यी सबै विषयमा ध्यान पुर्याउनुपर्छ। सहारा क्लब पोखराको २५ वर्षे अनुभव प्रतियोगिता सञ्चालनको अनुभव, खेलाडीको उत्पादनमा देखाएको सक्रियता, सदस्यबीच समझदारीले आउँदा दिनमा उच्चस्तरीय फुटबल खेल सञ्चालन गर्न आफूलाई केन्द्रित गर्नेछ र पोखराको गरिमा बढाउन सक्रियता देखाउने नै छ।
पोखरालाई उत्कृष्ट सहर बनाउन सबै पोखरेलीहरू लागिपर्ने नै छन्। त्यसमाथि सहारा क्लब पोखराले आफ्नो रजत वर्ष मनाउँदै गर्दा खेल र सहरप्रति आफ्नो प्रतिबद्धता पूरा गर्न सफलता मिलोस् भन्दै उज्ज्वल भविष्यका लागि सफलताको कामना गर्दछु।
(नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुल्मीको यो आलेख ‘सहारा क्लब स्मारिका’ बाट साभार गरिएको हो।)