पउल पोग्बा टुरिन फर्किएपछि अपेक्षा यही थियो, अब यी मिडफिल्डरको करियर स्थिर हुनेछ। तर उनी एकपछि अर्को समस्यामा फस्दै गएका छन्।
पोग्बा जुन २०२२ मा म्यानचेस्टर युनाइटेडबाट युभेन्टस फर्किएका हुन्। त्यसयता उनी एकपल्ट मात्र युभेन्टसको पहिलो एघारमा परेका छन्। अब त बेन्चमै रहने सम्भावना पनि पातलो छ। यसको कारण हो, ‘डोपिङ टेस्ट’ मा असफलता।
गत अगस्ट २० मा युभेन्टसले सिरी ‘ए’ मा उडिनेसेको सामना गरेको थियो। युभेन्टसले सजिलै जितेको त्यो खेलमा पोग्बा मैदान उत्रिएनन्। बेन्चमै बसे पनि उनको डोपिङ टेस्ट भयो। जसले उनको शरीरमा टेस्टोसटेरोन नाम गरेको हार्मोन बढी भएको देखायो।
त्यसपछि पोग्बा तत्कालै सम्भावित प्रतिबन्धको घेरामा परे। ‘पोग्बाबाट लिइएको अर्को नमुना पनि परीक्षण भइरहेको छ। त्यसको नतिजा नआउन्जेल केही भन्न सकिँदैन। यतिचाहिँ भन्न सकिन्छ, पोग्बा नियम तोड्नुपर्छ भन्ने मानसिकता भएका खेलाडी होइनन्,’ पोग्बाका एजेन्ट राफाएल पिमेन्टाले भनेका छन्।
आखिरमा पोग्बा साँच्चै गलत ठहरिए फुटबलबाट प्रतिबन्धित हुनेछन्। त्यो पनि दुईदेखि चार वर्षका लागि। यसको मतलब हो, डोपिङको नतिजाले पोग्बाको करियर तत्कालै अन्त्य गर्नसक्छ। टुरिन फर्किएपछि फरकफरक अप्ठ्याराको सामना गरेका पोग्बाका लागि यो सर्वाधिक ठूलो झट्का हुनेछ।
लगातारको चोट
‘टुरिनमा पउलको पुनरागमन भएको छ। उनले यो क्लब किशोर हुँदा छाडेका थिए, वयस्क र च्याम्पियन भएर फर्किएका छन्। वर्षौँ बित्दा पनि उनमा एउटा कुराचाहिँ परिवर्तन भएको छैन। त्यो हो, युभेन्टसमा फेरि एकपटक इतिहास कोर्ने जोस,’ इंग्ल्यान्डबाट फ्री एजेन्टका रूपमा इटाली ओर्लिएपछि युभेन्टसले भनेको थियो।
कुनै समय आफूले कीर्तिमानी मूल्यमा बिक्री गरेका खेलाडी ‘फ्रि-ट्रान्सफर’मा फर्किएपछि युभेन्टस उत्साहित थियो। उसका समर्थकले पनि सोचेका थिए, पोग्बा पहिले जस्तै महत्त्वपूर्ण साबित हुनेछन्।
पोग्बाको प्रतिभा देखेको युभेन्टस उत्साहित हुनु स्वाभाविक थियो। उनी २९ नकटिसकेकाले युभेन्टसलाई लागेको थियो, अबका केही सिजन मात्र भए पनि पोग्बाले टिममा आफ्नो छाप छाड्नेछन्।
यहाँ स्मरण गर्नुपर्ने तथ्य के छ भने विश्व फुटबलले पोग्बालाई विश्वस्तरीय खेलाडीका रूपमा चिनेकै युभेन्टसको जर्सीमा छँदा हो। त्यसैले त हो, युनाइटेडले उनलाई १० करोड अमेरिकी डलर तिरेर फिर्ता लगेको। त्यसअघि सिरी ‘ए’बाट कोही खेलाडी त्यत्तिको महँगो मूल्यमा बिक्री भएका थिएनन्।
यी त भए विगतका कुरा। वर्तमानमा भने पोग्बामाथि कैयौँ प्रश्न उठेकै हुन्। के उनी अहिले पनि विश्वस्तरीय खेलाडी हुन् त? युनाइटेडमा अपेक्षाकृत् प्रदर्शन गर्न नसकेका उनले युभेन्टसको मिडफिल्ड हाँक्न सक्लान्? युनाइटेडमा उनको प्रदर्शन औसत त छँदै थियो, त्यसमाथि उनी पटकपटक घाइते भइरहे। यसकारण उठेको अर्को प्रश्न थियो, के उनी शारीरिक रूपमा बलिया छन्?
युनाइटेडमा अन्तिमका तीन सिजनमा पोग्बा आठ पटक घाइते भएका थिए। गत अप्रिलमा लिभर पुलसँगको खेलमा उनी १० मिनेट मात्र मैदानमा रहे। उनले युनाइटेडको जर्सीमा खेलेको अन्तिम खेल बन्यो। इंग्लिस प्रिमियर लिगमा उनले त्यसपछिका पाँच खेल गुमाए। त्यही सिजनको बीचमा उनले ११ खेल चोटका कारण गुमाइसकेका थिए।
युभेन्टसमा पुनरागमन
पोग्बा जुलाई ११ बाट युभेन्टसको खेलाडी बनेका थिए। नयाँ टिममा अभ्यस्त हुने प्रयासमा थिए, फेरि एकपल्ट घाइते भइहाले। अमेरिकी सहर डालासमा बार्सिलोनासँगको खेलका लागि अभ्यास गर्दागर्दै पोग्बा घाइते बन्न पुगेका थिए।
युभेन्टससँग आबद्ध भएको दुई सातामै घाइते भएका पोग्बाले प्रि-सिजनको एकखेल मात्र खेल्न पाए। त्यो पनि ४५ मिनेट मात्र। दाहिने घुँडामा लागेको चोटको उपचारका लागि फ्रान्स गए। त्यसको भोलिपल्ट उनले घोषणा गरे, ‘घुँडाको शल्यक्रिया गर्दिनँ।’ पोग्बाको यो घोषणाले सबैलाई अचम्मित तुल्यायो। किनभने प्रारम्भिक जाँचबाटै प्रस्ट भइसकेको थियो, शल्यक्रिया आवश्यक छ भनेर।
थेरापी गरेर चोट निको पार्ने पोग्बाको निर्णयलाई युभेन्टसमा मन पराइएन। यद्यपि सार्वजनिक रूपमा युभेन्टसका कसैले पनि नकारात्मक टिप्पणी गरेनन्।
‘यसबारे मेरो केही टिप्पणी छैन। किनभने म डाक्टर होइन। फेरि पोग्बा आफैँले निर्णय गरिसकेका छन्। थेरापीबाट निको भए उनी पाँच-छ-सातमा मैदान फर्कन सक्छन्। तर यो निर्णय सही हो वा होइन, मलाई थाहा छैन। भविष्यमा यसको पुष्टि हुनेछ,’ त्यसबेला युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भनेका थिए।
पोग्बाले किन शल्यक्रिया नगर्ने निर्णय किन गरे? कारण प्रस्ट थियो, आउँदै गरेको कतार विश्वकप। शल्यक्रिया गरे, लामो समय मैदानबाहिर रहनुपर्ने, जसले गर्दा विश्वकप खेल्न नपाइने डर पोग्बामा थियो। अन्ततः पोग्बाको यो निर्णय खराब साबित भयो।
दाजुको ब्लाकमेल
थेरापीले काम नगरेपछि निराश बनेका पोग्बाले सेप्टेम्बर ३ मा शल्यक्रिया गराए। ‘लगातार समस्याको सामना गर्नुपरिरहे पनि म मानसिक रूपमा बलियो छु,’ शल्यक्रियापछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै पोग्बाले सामाजिक सञ्जालमा लेखेका थिए।
पोग्बाले इंगित गरेको समस्या चोटमात्र थिएन। बरु उनी पारिवारभित्रै आइपरेको समस्याका कारण बढी चिन्तित थिए। समस्या उनका दाजु माथ्थिएसले सामाजिक सञ्जालमा हालेको एक भिडियोका कारण उत्पन्न भएको थियो। अगस्ट २८ मा हालिएको त्यस भिडियोमा माथ्थिएसले चाँडै आफ्ना भाइ र उनका एजेन्टबारे नयाँ तथ्य सार्वजनिक गर्ने बताएका थिए।
‘फ्रान्स, इटाली, इंग्ल्यान्ड र स्पेनका फुटबल समर्थकले केही तथ्य थाहा पाउन जरुरी छ। खासमा पूरा विश्वले थाहा पाउन आवश्यक छ। जसमा मेरा भाइका समर्थक, युभेन्टस, प्रायोजक पनि पर्छन्। उनीहरूले थाहा पाउनुपर्छ, मेरो भाइ स्नेह र सम्मानको हकदार हो कि होइन। उसलाई फ्रान्सको टिममा स्थान दिनु ठिक हो कि होइन भन्ने कुरा पनि थाहा हुनुपर्छ। उसले दोस्रो आमा मान्ने पिमेन्टा (एजेन्ट) बारे पनि म विश्वलाई बुझाउन चाहन्छु। त्यति मात्र होइन, म किलियान एम्बाप्पेबारे पनि मुख खोल्नेछु। मैले सुनाउने तथ्यहरूले सबैलाई झसंग बनाउनेछ,’ पोग्बाका दाईले सामाजिक सञ्जालमा लेखेका थिए।
एम्बाप्पेको प्रदर्शन खस्काउन पोग्बाले तान्त्रिक लगाएको आरोप माथ्थिएसको थियो। माथ्थिएसको यस्तो आरोपसँग लड्न पोग्बाका वकिलहरु तत्कालै सक्रिय भएका थिए।
उसो त त्यही बीचमा पोग्बालाई पेरिसमा दुई अपरिचित हतियारधारीले धम्काएको खबर पनि बाहिर आयो। पोग्बाले प्रहरीलाई गराएको जानकारीअनुसार ती दुईले उनको मोबाइल खोसेका थिए। त्यसपछि पोग्बालाई ‘प्रोटेक्स फी’ स्वरूप ११ लाख पाउन्ड तिर्न धम्की पनि दिएका थिए। पेरिसमा मात्र होइन टुरिनमा पनि आफूलाई पटकपटक धम्की आएको भन्दै पोग्बा इटालेली प्रहरीकहाँ पुगेका थिए।
आखिरमा माथ्थिएस र उनका तीन साथी पक्राउ परे। केही समय जेलमा बिताएपछि उनीहरू सेप्टेम्बर, २०२२ मा रिहा भएका थिए।
विश्वकप
शल्यक्रियापछि पोग्बा करिब आठ साताका लागि मैदानबाहिर रहने अनुमान थियो। जब उनी मैदान फर्कने तयारीमा थिए, तब उनले नयाँ चोटको सामना गर्नुप¥यो। शल्यक्रिया गरेकै घुँडामाथि चोट लाग्यो। अक्टोबर १९ को त्यो चोटले उनको विश्वकप खेल्ने सम्भावनामाथि शंका उत्पन्न गरायो।
आखिरमा जे हुने डर थियो, त्यही भयो। अक्टोबर ३१ मा पिमेन्टाले पोग्बा विश्वकप खेल्न नसक्ने र विश्वकपपछि मात्र युभेन्टस फर्कन सक्ने पुष्टि गरिन्।
कतारमा विश्वकप भइरहँदा पोग्बा मिलानमा थिए। जहाँ उनी युभेन्टसका फिजियोहरूको निगरानीमा रिह्याब गर्दै थिए। रिह्याब चलिरहँदा सबैतिरबाट उठेको प्रश्न एउठटै थियो, पोग्बा कहिले मैदान फर्कन्छन्? यसको जवाफ कोहीसँग थिएन। न त फिजियोहरूले नै मिति तोक्न सकेका थिए।
पोग्बा जनवरी १० बाट मात्र युभेन्टस फर्कन सके। विश्वकप विश्राम रहेको त्यसबेला युभेन्टसको पहिलो र दोस्रो रोजाइका टिमबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो। त्यही खेलमा दुई गोल गर्दै पोग्बाले आफू फर्किएको जनाउ दिएका थिए।
जनवरी सकिनै लागेको थियो, एलेग्रीले पोग्बा अब मैदान फर्कन तयार रहेको बताए। उनले यसो भनेको भोलिपल्ट युभेन्टसले मोन्जाको सामना गर्ने तालिका थियो। खेल युभेन्टसको घरेलु मैदानमा थियो। एलेग्रीले पोग्बालाई टिममा राख्न त राखे, मैदानमा भने उतारेनन्। पछि इटालेली अखबारहरूले लेखे, पोग्बा वार्मअपमै घाइते भइसकेका थिए।
दिक्क युभेन्टस
सार्वजनिक रूपमा एलेग्रीले कहिले पनि पोग्बाको आलोचना गरेनन्। बरु ढाडस दिइरहे। ‘लय समात्न केही समय त लाग्छ नि। हामीले उनलाई खेलाउन हतार गर्नु हुँदैन। पूर्ण रूपमा फिट भएपछि मात्र उनको उपयोग गर्ने हो,’ गत फेब्रुअरीमा एलेग्रीले पोग्बाबारे सोधिएको प्रश्न यसरी सामना गरेका थिए।
पत्रकारहरूलाई जवाफ दिँदा संयमित देखिए पनि एलेग्री पोग्बादेखि दिक्क मान्न थालिसकेका थिए। पोग्बाको फिटनेसलाई लिएर एलेग्री मात्र होइन युभेन्टस प्रशासन पनि आजित भएको खबर पनि आइरहन्थे। खबर त के पनि आयो भने युभेन्टस खराब फिटनेसकै कारण पोग्बालाई बोनस दिन चाहँदैन।
रिह्याब गरिरहेका पोग्बाको मैदानबाहिरको गतिविधिका कारण युभेन्टस समर्थक पनि निराश हुन थालिसकेका थिए। पोग्बाले आफ्नो फिटनेसमा ध्यान नदिइरहेको उनीहरूको गुनासो थियो। पोग्बाले डिसेम्बर २७ मा स्कि खेल्दै गरेको फोटो सामाजिक सञ्जालमा हालेपछि त निराशा झन् चुलियो।
क्लब र समर्थकको निराशा कम गर्ने प्रयास पोग्बाले नगरेका होइनन्। प्रयासस्वरूप उनले युभेन्टससँग वाचा गरेको बताइन्छ। वाचा थियो, च्याम्पियन्स लिगमा छनोट नभए पनि युभेन्टस नछाड्ने।
उसो त पोग्बाको मनमा डर थियो, कतै युभेन्टसले अर्को मिडफिल्डर अनुबन्ध त गर्दैन? पोग्बाको मनमा किन पनि यस्तो डर पस्यो भने युभेन्टस लगातार सर्जेग मिलिन्कोभिच साभिचसँग जोडिँदै थियो।
पोग्बाले फेब्रुअरीको अन्तिम खेलबाट पुनरागमन गरे। टोरिनोसँगको खेलबाट मैदान फर्किएका पोग्बाले त्यसपछि पाँच खेल खेल्न पाए। तर उनले ती सबै खेलको दोस्रो हाफ मात्र खेले।
अब के?
युभेन्टस र उडिनेसेबीचको खेलपछि पोग्बाले एन्टी डोपिङ टेस्ट दिएका थिए। जबकि उनले त्यो खेल खेलेकै थिएनन्। त्यसपछिका दुई खेलमा पोग्बा मैदान उत्रिएनन्, बेन्चमै रहे। ती दुई खेल खेल्न नपाए पनि बेच्नमा रहनुले गरेको संकेत हो, आउँदा खेलमा पोग्बाले मौका पाउने सम्भावना पूरै समाप्त भइसकेको छैन।
यो सम्भावना पोग्बाको अर्को परीक्षणमा अड्किएको छ। किनभने दोस्रो परीक्षणको नतिजा आइसकेको छैन।
यहीबीच इटालीको अखबार गाजेटा डेलोले युभेन्टससँग पोग्बाको तलब रोक्ने विकल्प रहेको लेखेको छ। एन्टी डोपिङ टेस्टमा फेल हुने खेलाडीको तलब रोक्न मात्र होइन सम्झौता रद्द गर्ने अधिकार क्लबसँग हुने गाजेटो डेलोको दाबी छ। यद्यपि तत्कालै युभेन्टस कुनै निर्णयमा नपुग्ने सोही अखबारमा उल्लेख छ।
दोस्रो परीक्षणमा पनि असफल भए प्रश्न पोग्बातिर तेर्सिनेछ। पोग्बाको शरीरमा टेस्टोसटेरोनको मात्रा किन धेरै भयो भन्ने प्रश्न उठ्नेछ? पोग्बाको शरीरमा रहेको टेस्टोसटेरोनको मात्राले उनको प्रतिबन्ध कति लामो हुने भन्ने निक्र्योल गर्नेछ। अनि पोग्बाको युभेन्टसमा दोस्रो पटक नायक बन्ने प्रयास पनि रोकिनेछ।