मुगु, डोल्पा, हुम्ला र बाजुरामा एनसेलको फोरजी सेवा सुरू

हिमाल प्रेस २७ भदौ २०८० १३:२४
मुगु, डोल्पा, हुम्ला र बाजुरामा एनसेलको फोरजी सेवा सुरू

काठमाडौँ- मुगु, डोल्पा, हुम्ला र बाजुरा सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ। एनसेल आजियाटा लिमिटेडले चार जिल्लामा फोरजी सेवा सुरु गरेको हो। यसका लागि एनसेलले डोल्पाको ठूलीभेरी नगरपालिका, मुगुको छायानाथ रारा नगरपालिका, बाजुराको बडिमालिका नगरपालिका र हुम्लाको सिमकोट गाउँपालिकामा चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) स्थापना गरेको छ। कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले चार जिल्लामा थप भएसँगै कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला फोरजीमा जोडिएको बताए। उनका अनुसार एनसेलले मनाङलाई पनि छिट्टै फोरजीले जोड्ने योजनासहित काम गरिरहेको छ।

फोरजीले प्रयोगकर्ताहरूलाई हाई-डेफिनिसन भिडियो सामग्रीको स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोड, ठूला फाइल तत्काल आदानप्रदानलगायत विभिन्न डिजिटल सेवाहरू लिन सक्षम बनाउँछ।
देशभर एनसेलको ४ हजार १०० भन्दा बढि फोरजी बीटीएस सञ्चालनमा छन्।

गत आर्थिक वर्ष २०७९/८० मामात्रै एनसेलले देशका विभिन्न भागमा ३३८ नयाँ साइट स्थापना गरेको थियो। त्यसैगरी ६० भन्दा बढी जिल्लाका झण्डै १ हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको थियो।

प्रकाशित: २७ भदौ २०८० १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 5 =