काठमाडौँ– सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ। गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको थियो।
कार्यदलले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मंगलबार सरकारलाई बुझाएको हो। सहकारीका बचतकर्ता पीडितलाई तत्काल राहत दिने गरी सरकारले योजना ल्याउन अध्ययन कार्यदलले सुझाव दिएको छ। कानुनी सुधार गरेर यो क्षेत्रका समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव पनि दिएको छ।
प्रतिवेदनमा तत्कालीन, मध्यमकालीन र दीर्घकालीन सुझाव समेटिएको छ। सहकारी क्षेत्रमा देखिएको तरलता अभाव समस्यालाई सम्बोधन गर्न, पीडित बचतकर्ताको बचत फिर्ताका लागि सहजीकरण गर्न, सहकारीको वित्तीय स्वास्थ्य राम्रो बनाउनका लागि विज्ञ टोली परिचालन गर्न र नियमन बलियो बनाउनुपर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ।