लामो समयसम्म नेपालमा गुरुकुलीय शिक्षा र आयुर्वेदिक औषधोपचार पद्धतिको अभ्यास कायम थियो। वैदिक परम्परामा आधारित शिक्षा र स्वास्थ्यका यी विधा नेपालमा धेरै शताब्दीसम्म कायम रह्यो। नेपाल लामो समयसम्म बाहिरी संसारका लागि बन्द थियो। आफ्नै अभ्यास र परम्परामा चलिरहेको नेपालमा राणाकालमा आएर मात्र आधुनिक शिक्षा र चिकित्सा पद्धतिको प्रारम्भ भएको हो। त्यसपछि मात्र नेपालमा पाश्चात्य शिक्षा र स्वास्थ्यको विकास भएको हो। प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणपछि नेपालमा आधुनिक शिक्षा पढाउन रूपमा दरबार स्कुल खुल्यो।
सन् १८१४-१६ सम्म चलेको नेपाल-अंग्रेज युद्धपछिको सुगौली सन्धिसँगै नेपालमा ब्रिटिस आवासीय प्रतिनिधि रहन थाले। नेपालमा ब्रिटिस रेजिडेन्सीमा एकजना चिकित्सक पनि हुन्थे। उनले बेलाबेलामा नेपालीको पनि उपचार गर्दथे। सन् १८१६ मा ब्रिटिस रेजिडेन्सी स्थापना भएसँगैसँगै नेपालमा खोपसमेत सुरु गरिएको थियो। नेपालमा पहिलोपटक बिफरविरुद्धको खोप दिइएको थियो। पहिलो आधुनिक अस्पतालका रूपमा सन् १८९० मा वीर अस्पतालको स्थापना भएको हो। वीर अस्पताल स्थापना हुँदासम्म कुनै पनि नेपालीले चिकित्साशिक्षा हासिल गरेका थिएनन्। त्यसैले उक्त अस्पतालका लागि बंगाली डाक्टर भित्र्याइएको थियो।
नेपालले पहिलोपटक डाक्टरी पढ्न आफ्ना विद्यार्थीलाई कहिले र कसलाई कहाँ पठायो भनी यकिन गर्न गाह्रो छ। त्यस्तै नेपालमा पहिलो डाक्टरी पढ्ने को भन्ने पनि खोजीकै विषय छ। अहिलेसम्म प्राप्त जानकारीअनुसार चन्द्रशमशेरको समयमा नेपाली विद्यार्थीलाई डाक्टरी पढ्न कलकत्ता पठाइएको थियो। तिनमा गणेशलाल मास्के र यज्ञमान वैद्य थिए। उनीहरूले सन् १९१७-२० को बीचमा कलकत्तामा अध्ययन गरेको देखिन्छ।
सन् १९२० पछि नेपालले प्रत्येक वर्ष कलकत्तामा डाक्टरी पढाउन एउटा विद्यार्थी कोटा पाएको थियो। तर त्यसमा प्रत्येक वर्ष नियमित रूपमा नेपाली विद्यार्थी गएको देखिँदैन। नियमित नहुनुमा विद्यार्थी अभाव, विद्यार्थीले योग्यता पूरा गर्न नसक्ने समस्या, कहिले कलकत्ता पुग्दापुग्दै भर्नाको समय सकिने, कलकत्ताको गर्मी हावापानी खप्न नसकी विद्यार्थी बिरामी भएर फर्कने लगायतका कारण थिए। सन् १९२०/३० को दशकमा नेपालले पनि काठमाडौँ र काठमाडौँबाहिरका सीमित ठाउँमा रहेका असाध्यै न्यून अस्पतालका लागि आवश्यक डाक्टरी पढाएको थियो। यसरी थप दुईजना हिक्मतबहादुर माझी (रायमाझी) र भैरवप्रसाद उपाध्यायले सन् १९२० को दशकमा कलकत्ताबाट डाक्टरी अध्ययन गरी नेपाल फर्किएका थिए। उनीहरू नेपालमा विभिन्न अस्पतालमा कार्यरत थिए।
नेपालमा अस्पताल र डाक्टरको तालुकवाला निकायका रूपमा मेडिकल बोर्ड थियो। सन् १९२० देखि त्यसको नेतृत्व क्याप्टेन केशरजंग थापाले गरेका थिए। कलकत्तामा डाक्टरी पढ्न पठाउन त्यही मेडिकल बोर्डले नेपाली विद्यार्थी छनोट गरी प्रधानमन्त्रीलाई सिफारिस गर्दथ्यो। अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको समयमा त्यसको नेतृत्व सुरशमशेरले गरेका थिए।
सन् १९३३ सम्ममा नेपालमा मानसिक रोगीको उपचार गर्ने विशेषज्ञ डाक्टर कोही पनि थिएनन्। सम्भवतः मानसिक रोगीको उपचार गर्नुपर्छ भन्ने चेतना नभएर पो हो कि! मानसिक रोगीलाई अहिले त हेयको दृष्टिले हेरिन्छ भने ९० वर्षअगाडि झन् कस्तो हुँदो हो?
त्यसो त त्यतिबेलासम्म नेपालमा रेबिज उपचार गर्ने तालिम प्राप्त डाक्टर पनि रहेनछन्। सन् १९३२ को सेप्टेम्बर १ मा भीमशमशेरको निधन भयो। जुद्धशमशेर सत्तामा आए। सन् १९३३ मा आएर मानसिक रोगी उपचार र रेबिजका रोगीको नेपालमा उपचार गर्नुपर्ने महसुस भयो। त्यस्ता रोगीको उपचारका लागि नेपाली डाक्टरलाई भारतमा तालिम दिलाउने व्यवस्था गरियो।
नेपालले मानसिक रोगी र रेबिज रोगीको उपचारमा विशेषज्ञता हासिल गर्न नेपाली डाक्टर पठाउने निश्चय गरेर पत्राचार सुरु गर्यो। सन् १९३३ मा नेपालका तर्फबाट प्रधानमन्त्री जुद्धशमशेरले नेपालस्थित ब्रिटिस एन्भ्वाय सीटी डाक्सलाई पत्र पठाए। पत्रमा उनले नेपालमा मानसिक रोगीको उपचार गर्न सक्ने कोही चिकित्सक नभएको उल्लेख गरेका थिए। भारतमा त्यस्ता रोगीको विशेषज्ञ उपचार तालिम दिने कुनै निकाय भएमा नेपालबाट एकदुईजना मानिसलाई तालिमका लागि पठाउन चाहेको पत्रमा लेखिएको थियो। उक्त पत्रमा उनले त्यस्तो निकाय भए ब्रिटिस भारत सरकारमार्फत नेपाललाई तालिम लिने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए।
एन्भ्वाय डाक्सले प्रधानमन्त्री जुद्धशमशेरको उक्त पत्र दिल्लीस्थित आफ्नो सरकारमा पठाएर प्रधानमन्त्रीको अनुरोधबमोजिमको व्यवस्था गरिदिन अनुरोध गरेका थिए।
त्यसपछि पनि प्रधानमन्त्री जुद्धशमशेर र एन्भ्वाय डाक्सका बीचमा कैयौँ पत्राचार भएका थिए। जसमा तालिम कहाँ कसको मातहत हुने, कतिजना पठाउने, पठाउँदा डाक्टर नै पठाउने, तालिम अवधि, त्यसका लागि केके आवश्यक पर्ने, नेपालीले तालिम गरेबापत कति रुपैयाँ लिने भन्ने जस्ता विषय थिए।
जुद्धशमशेरले पहिलो पत्र पठाएको झन्डै ११ महिनापछि सन् १९३४ को मार्चमा एन्भ्वाय डाक्सले तालिम लिने स्थान टुंगा लागेको जबाफ दिएका थिए। जसमा राँचीस्थित युरोपियन मेन्टल हस्पिटलमा दुईजना नेपाली डाक्टर ६ महिनाका लागि तालिम लिन जाने निश्चित भएको थियो। उक्त हस्पिटलका सुपरिटेन्डेन्ट कर्नेल डाक्टर ओवेन बर्कले हिलसँग तालिम लिने र त्यसका लागि प्रतिव्यक्ति दुई सय भारतीय रुपैयाँ बुझाउने पनि तय भएको थियो। अहिले झारखण्ड प्रदेशको राजधानी राँची त्यतिबेला विहार र उडिसा राज्य प्रशासन मातहत थियो।
ब्रिटिस भारतमा मानसिक रोगको उपचारका क्षेत्रमा डा. हिलको नाम शीर्षस्थानमा छ। भारतमा मानसिक रोगको उपचारमा आधुनिकता भित्र्याउने श्रेय उनलाई नै जान्छ। उनी २२ डिसेम्बर १८७९ मा लन्डनमा जन्मिएका थिए। लन्डनमा चिकित्साशिक्षा हासिल गरेपछि सन् १९०७ मा उनी इन्डियन मेडिकल सर्भिसमा उत्तीर्ण भए।
ब्रिटिस भारतमा पनि मानसिक रोगीलाई कैदीजसरी जेलमा राखिन्थ्यो र त्यसलाई ‘पागलखाना’ भनिन्थ्यो। सन् १९१८ मा राँचीमा युरोपियन पागलखाना स्थापित भयो। सन् १९१९ मा त्यसको सुपरिटेन्डेन्टका रूपमा हिलले जिम्मेवारी सम्हालेका थिए। उनले त्यही पागलखानालाई ‘मानसिक अस्पताल’ का रूपमा बदलेका थिए।
राँची मानसिक अस्पताललाई उनले सिंगो भारतमा एक उत्कृष्ट युरोपियन मानसिक अस्पतालका रूपमा विकास गरेका थिए। अस्पतालले भारतभरका मानसिक रोगीको उपचार गर्दथ्यो। यो हिलको नेतृत्वमा विकास भएको भारतको पहिलो विशिष्ट मानसिक अस्पताल हो।
सन् १९३५ मा सेवानिवृत्त भएर लन्डन फर्किएका डाक्टर हिल केही समयपछि पुनः राँची फर्किए। सन् १९४४ मा राँचीमै उनको निधन भएको थियो।
नेपालका तर्फबाट राँचीस्थित युरोपियन मेन्टल हस्पिटलमा मानसिक रोगको उपचारसम्बन्धी तालिम लिन जानेको छनोट नेपाल मेडिकल बोर्डले गरेको थियो। त्यसमा हिक्मतबहादुर माझी (रायमाझी) र भैरवप्रसाद उपाध्याय छनोट भएका थिए।
सन् १९३४ को अगस्टमा छनोट भएका उनीहरू सन् १९३४ को १० सेप्टेम्बरमा राँचीस्थित उक्त हस्पिटल पुगिसकेका थिए। उनीहरूले मानसिक रोगको उपचारका अग्रणी मानिने तिनै हिलसँग तालिम लिएका थिए। ६ महिना लामो तालिमपछि १२ फेब्रुअरी १९३५ मा उनीहरूले त्यहाँको एउटा परीक्षा उत्तीर्ण गरेका थिए। यसरी उनीहरू मानसिक रोगको उपचारमा विशेषज्ञता हासिल गरे।
नेपालले रेबिज रोगको उपचारमा पनि तालिम लिन डाक्टर पठाउन चाहेको थियो। यसका लागि नेपालस्थित ब्रिटिस एन्भ्वायसँग पत्राचार भइरहेको थियो। १२ फेब्रुअरीमा राँचीमा अध्ययन सम्पन्न गरेलगत्तै ती दुवै डाक्टरलाई रेबिजसम्बन्धी तालिमका लागि पटना पठाइयो। उनीहरूले पटनास्थित पास्टर इन्स्टिच्युटमा ६ हप्ते तालिम लिएका थिए। राँचीमा मानसिक स्वास्थ्यसम्बन्धी ६ महिना र पटनामा ६ हप्ता तालिम सफलतापूर्वक सम्पन्न गरी सोही अप्रिल अन्त्यतिर ती दुई डाक्टर नेपाल फर्किएका थिए।
यसरी नेपाली डाक्टरले रेबिजविरुद्धको तालिम लिएर नेपाल फर्किए। उनीहरूको सीप प्रयोग गर्नका लागि भन्दै नेपाल आफैँले रेबिजको खोप भित्र्याएर उपचार आरम्भ गर्यो। यसरी नेपालबाट पहिलोपटक हिक्मतबहादुर माझी (रायमाझी) र भैरवप्रसाद उपाध्यायले राँचीबाट मानसिक रोगको उपचारमा विशेषज्ञता हासिल गर्नुका साथै पटनाबाट समेत रेबिजविरुद्ध खोपका बारेमा पनि ज्ञान आर्जन गरेका थिए।
(भारतको राजधानी नयाँदिल्लीस्थित राष्ट्रिय अभिलेखागारमा सुरक्षित रहेका ब्रिटिसकालीन दस्तावेज र कर्नेल डाक्टर ओवेन बर्कले हिलको बारेमा लेखिएका केही सामग्रीको आधारमा यो लेख तयार पारिएको हो।)