महिला टि २० छनोट

ग्लोबल छनोट खेलेर विश्वकप पुग्ने सपना अधुरै

हिमाल प्रेस २२ भदौ २०८० ११:०५
6
SHARES
ग्लोबल छनोट खेलेर विश्वकप पुग्ने सपना अधुरै फाइल तस्बिर

काठमाडौँ- नेपाली महिला क्रिकेट टिमको विश्वकप पुग्ने धोको अधुरै भएको छ। आईसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल थाइल्यान्डसॅंग पराजित भएसँगै नेपालको पहिलो पटक विश्वकप खेल्ने धोको अधुरै भएको हो।

विश्वकप खेल्नु अघि नेपाल ग्लोबल छनोटको खेल खेल्नु पर्थ्यो। तर आजको हारसँगै नेपालको ग्लाेबल छनोट खेल्ने सपना पनि पूरा भएन।

आज बिहान भएको खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको हो। पराजयसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेन।

थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १९.३ ओभरमा ५९ रन बनाउँदै अलआउट भयो। नेपालका लागि कविता कुँवरले सर्वाधिक १७ रन बनाइन्।

त्यस्तै कविता जोशी र अप्सरी बेगमले समान १०-१० रन बनाइन्। यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुआत गरेको थियो।

पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ। यससँगै ग्लोबल टी२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले नेपाललाई १०६ रनको लक्ष्य दिएको थियो। थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १०५ रन जोडेको थियो।

थाइल्यान्डका लागि नानपाट कोन्चारोएनकाइले अविजित ५९ रनको योगदान गरिन्। यसैगरी नथाकन चन्थमले ३१ र चनिँदा सुतिरुआङले ११ रन बनाए।

नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए।

सुखद यात्रामा पूर्णविराम

समूह ‘ए’ मा नेपालले चार खेल जित्दा एक नतिजा विहिन भएको थियो। संयुक्त अरब इमिरेट्स(यूएई) समान ९ अंक भए पनि नेटरनरेटमा पछि पर्दे नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।

थाइल्याण्ड समूह बी मा ३ जित र एक नतिजाविहीन गरी कुल ७ अंक जोडेर समूह विजेता बन्यो। सेमिफाइनलसम्म दुवै टोली अपराजित छन्।

नेपालले समूहको पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराउन संघर्ष गर्नुपरेको थियो। अन्तिममा ५ रनको रोमाञ्चक जित निकाल्यो।

दोस्रो खेलमा बहराइनले दिएको ३३ रनको लक्ष्य १७ बलमै पूरा गर्दै १० विकेटले खेल जितेको नेपालले तेस्रो खेलमा भुटान विरुद्ध ब्याटिङमा फेरि संघर्ष गर्‍यो। भुटानले दिएको ४० रनको लक्ष्य पूरा गर्न नेपालले ७ विकेट खर्चियो।

त्यसपछि कतारविरुद्ध नेपालले सुधारिएको ब्याटिङ गर्दै ९ विकेटले खेल जित्यो।

नेपालको लागि सेमिफाइनल खेल्नुअघि समूह चरणमा असली परीक्षा यूएईसँगको खेलमा हुने थियो । तर वर्षा बाधक बन्दा उक्त खेल हुन सकेन। जसले नेपाललाई घाटा भयो। यूएईसँग नेटरनरेमा पछि पर्दै नेपाल समूह उपविजेता बन्यो।

समूह उपविजेता बन्दा नेपालकले अर्को समूहको विजेता बनेको थाइल्याण्डसँग खेल्नुपर्ने भएको हो। अर्को सेमिफाइनलमा हङकङ र यूएईले खेल्ने छन्।

प्रकाशित: २२ भदौ २०८० ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =