काठमाडौँ- ललितपुरस्थित नापीचन्द्र महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सोमबार संयुक्त रूपमा सो भवनको उद्घाटन गरेका हुन्।
सो भवन भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत करिब साढे तीन करोडको लागतमा बनेको हो। सहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको भारतीय दूतावासले जनाएको छ। उद्घाटन समारोहमा राजदूत श्रीवास्तवले दुई देशबीचको द्विपक्षीय साझेदारी महत्त्वपूर्ण रहेको उल्लेख गरे।
भारत सरकारले नेपालका सात जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ। यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास, आठ जिल्लाका ७१ वटा शैक्षिक संस्था र १० जिल्लाका १३२ वटा स्वास्थ्य सुविधाको पुनर्निर्माणमा लागि सहयोग गरेको दूतावासले विज्ञप्ति जारी गरेको जनाएको छ।