एमाले लुम्बिनी अधिवेशन : राति ८ बजेदेखि मतदान

हिमाल प्रेस १८ भदौ २०८० १९:०१
42
SHARES
एमाले लुम्बिनी अधिवेशन : राति ८ बजेदेखि मतदान

लुम्बिनी- नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि आज (सोमबार) राति ८ बजे मतदान हुने भएको छ। यससँगै अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिएको निर्देशन अलपत्र परेको छ।

दुई समूहमा विभाजित भएर नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। सर्वसम्मत हुन नसकेपछि मतदान हुने भएको हो। यद्यपि निर्वाचन समितिले मतपत्र छपाइको काम सुरु गर्ने तयारी गरिरहेको जनाएको छ।

अहिले साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। अध्यक्ष पदका उम्मेदवार हरि रिजालविरुद्ध परेको उजुरीमाथि छानबिन गरी निर्वाचन समितिले उम्मेदवारी सदर गरेर नामावली प्रकाशन गरेको छ।

निर्वाचन आयोगमा परेको उजुरी अध्ययन गरी पार्टी केन्द्र, संगठन विभाग, पार्टी निर्वाचन आयोग, स्वयं उम्मेदवार र प्युठानको पार्टी कमिटीसँगको छलफलपछि रिजालको उम्मेदवारी सदर गरेको निर्वाचन समितिका प्रमुख हरि भण्डारीले बताए।

पाल्पाका प्रतिनिधि राजु श्रेष्ठले रिजालको पार्टी सदस्यता प्युठानबाट नरहेको भनी दिएको उजुरीमा छानबिन गरी निर्वाचन आयोगले पार्टी केन्द्रको समन्वयमा अहिले उम्मेदवारी कायम राख्ने गरी अगाडि बढाउने निर्णय गरेको हो। प्रदेश अध्यक्षमा रिजाल र पाल्पाका राधाकृष्ण कँडेल चुनावी मैदानमा छन्।

पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको र प्युठानका रिजाललाई महासचिव शंकर पोखरेलको समर्थन छ। त्यसै गरी उपाध्यक्ष पुजन बिक (बाँके), भोजप्रसाद श्रेष्ठ (रुपन्देही), विश्वराज बराल (रुपन्देही), शान्ताकुमारी वली (रोल्पा)ले उम्मेदवारी दिएका छन्। यस्तै सचिवमा लक्ष्मण आचार्य (दाङ) सर्वसम्मत भएका छन्।

उपसचिव पुरुषतर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु, हीरा एसी र पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन्। महिला उपसचिवमा आरती पौडेल, लीला राना मगर र बसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ। नेताहरू अहिले दुई समूहमा विभाजित भएका छन्।

प्रकाशित: १८ भदौ २०८० १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =