काठमाडौँ– देशका विभिन्न स्थानीय तहले नेपाल-भारतबीचको क्रिकेट प्रतियोगिता हेर्नका लागि विद्यालयमा छुट्टी दिएका छन्। एसिया कपअन्तर्गत नेपाल र भारतबीच श्रीलंकाको क्यान्डीमा आइतबार प्रतिस्पर्धा भएको छ।
सोही प्रतिस्पर्धा हेर्नका लागि कपिलवस्तुको कपिलवस्तु नगरपालिका र शिवराज नगरपालिका, पर्साको वीरगन्ज महानगरपालिका र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो पालिकामा भएका सबै विद्यालयमा छुट्टी दिएका हुन्। यी पालिकाले क्रिकेट हुने समय दिउँसो २ बजेपछि बिदा दिएका छन्।
यस्तै नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा नमुना माविले पनि बिदा दिएको छ। विद्यालयले जारी गरेको सूचनामा उल्लेख छ, ‘विद्यार्थी, विद्यालयका स्टाफलगायतले समेतले हेर्ने वातावरण बनाउनका निम्ति साथै नेपाली क्रिकेट टिम र नेपालको खेलप्रतिको सम्मानका लागि आइतबार २ बजेपछि पठनपाठन नहुने व्यवहोर जानकारी गराउँदछौँ।’