फालेलुङमा प्रहरी चौकी स्थापना

हिमाल प्रेस १५ भदौ २०८० ९:११
208
SHARES
फालेलुङमा प्रहरी चौकी स्थापना

पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो। हाल छ प्रहरी मात्र कार्यरत छन्।

मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो। सोही निर्णयबमोजिम बुधबार प्रहरी चौकी उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

फालेलुङ गाउँपालिकाको केन्द्र रहेको सो स्थानमा यसअघि प्रहरी चौकी थिएन। गाउँपालिकाको सेवा केन्द्रमा सुरक्षाको प्रबन्ध नहुँदा नजिकै रहेको इलाका प्रहरी कार्यालय मेमेङले यहाँ सुरक्षा प्रदान गर्दैआएको थियो । यहाँ घरभाडामा लिई प्रहरी चौकी स्थापना गरिएको हो।

फालेलुङ गाउँपालिका स्थापना हुँदा यसको केन्द्र गाउँपालिकाको वडा नं ३ मच्छेबुङ तोकिएको थियो।

यहाँ जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाको केन्द्र सोही वडाको थोक्लिम्बामा सारिएको थियो। पछि गाउँपालिकाले गाउँपालिकाको केन्द्र रहेको स्थानको नाम थोक्लिम्बालाई थकेपुङ कायम गरेको छ।

जिल्लाका आठ स्थानीय तहमध्ये फालेलुङ र हिलिहाङ गाउँपालिकाको सेवा केन्द्रमा प्रहरी चौकी थिएन। हिलिहाङको सेवा केन्द्र पञ्चमीमा इलाका प्रहरी कार्यालय अमरपुरले सुरक्षा प्रदान गर्दै आएको छ।

प्रकाशित: १५ भदौ २०८० ९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast