१५ लाख ८७ हजार नक्कली नोटसहित दुई पक्राउ

हिमाल प्रेस ५ असोज २०८० १६:४९ | Friday, September 22, 2023
१५ लाख ८७ हजार नक्कली नोटसहित दुई पक्राउ

इटहरी– इटहरीमा नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका दुवैजनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा संखुवासभाको पाँचपखन नगरपालिका-५ घर भएका विवेक राई र संखुवासभाको मकालु नगरपालिका-६ का अजय राई छन्।

उनीहरूको साथबाट प्रहरीले १५ लाख ८७ हजार नक्कली नोट बरामद गरेको इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए। ‘नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा हामीले बिहीबार साँझ इटहरीको मुख्य बजार क्षेत्रबाटै पक्राउ गरेका हौँ,’ कार्कीले भने, ‘पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान सुरु गरेका छौँ।’

उनले दुवैजनालाई जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए।

घटनामा गिरोहकै संलग्नता रहेका कारण तिनीहरूको पनि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख (एसपी) विपिन रेग्मीले जानकारी दिए।

‘उनीहरूले नक्कली नोट काठमाडौँमा छापेर पूर्वका विभिन्न सहरमा कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘नक्कली नोटमा संलग्न मुख्य व्यक्तिलाई पक्राउ गर्न काठमाडौँ प्रहरीसँग पनि समन्वय भइरहेको छ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नक्कली नोटको कारोबार गर्नेहरूले काठमाडौँमै छाप्ने गरेको खुलेको छ। पछिल्लो समय सुनसरीसहित कोशीका विभिन्न सहरमा नक्कली नोटको कारोबार गर्नेहरूको संख्या बढ्दो रहेकाले प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ५ असोज २०८० १६:४९ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast