शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने

हिमाल प्रेस ४ असोज २०८० १२:३६ | Thursday, September 21, 2023
शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने

बुटवल- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ‘शाइन घडेरी कर्जा’ योजना ल्याएको छ। यो कर्जा योजनामा बैंकले एकजनालाई अधिकतम एक करोडसम्म कर्जा दिने भएको छ। कर्जाको अवधि २० वर्ष रहेको बैंकले जनाएको छ।

यो कर्जाको ब्याजदर बेस रेटमा २ प्रतिशत ‘रिस्क प्रिमियम’ जोडेर लिइने बैंकले जनाएको छ। बैंकका अनुसार कर्जा चुक्ता नहुन्जेलसम्म रिस्क प्रिमियममा कुनै परिवर्तन हुने छैन। खरिद गरेको घडेरीमा घर निर्माण गर्दा बैंकले थप कर्जा उपलब्ध गराउने छ र उक्त थप कर्जाकोसमेत ‘रिस्क प्रिमियम’ २ प्रतिशतमात्र हुनेछ।

सरकारी र गैरसरकारी कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योगी, व्यवसायी र नियमित आम्दानी भएका कुनै पनि पेशासँग सम्बन्धित व्यक्तिले यो कर्जाको उपयोग गर्न सकिने बैंकका कर्जा प्रमुख किरण नेपालले जानकारी गराए। यो कर्जा प्राप्त गर्न थप अचल सम्पति धितो नचाहिने र कर्जा प्राप्तिपछि किनेको घडेरी नै धितो राख्न मिल्ने उनकाे भनाइ छ। ‘घर बनाउन आफ्नो घडेरी हुनुपर्ने पहिलो सर्तलाई ख्याल गरेर ‘शाइन घडेरी कर्जा’ योजना ल्याएका हौँ,’ कर्जा प्रमुख नेपालले भने- ‘सरकारलेसमेत जग्गाको कित्ताकाट खुला गरेको अवस्थामा यो योजनाले धेरै नेपालीले घडेरी किन्न सक्ने र यसले अर्थतन्त्रलाई थप चलायमान बनाउन कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ।’

२०६५ साल फागुन ११ गते स्थापना भएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको एकमात्रै राष्ट्रियस्तरको विकास बैंक हो। बैंकको २० जिल्लामा ८८ वटा शाखा सञ्चालनमा छन्। यसले गत वर्ष ‘बेस्ट म्यानेज्ड डेभलपमेण्ट बैंक’को उपाधि जितेको थियो भने हालसालै ‘इमर्जिङ एसिया डेभलपमेण्ट बैंक’को उपाधि पाएको छ।

प्रकाशित: ४ असोज २०८० १२:३६ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast