‘विदेशमा रहेका नेपाली फर्किने गरी १६औँ पञ्चवर्षीय योजना बनाउँदैछौँ’

हिमाल प्रेस ३० भदौ २०८० १७:०७ | Saturday, September 16, 2023
‘विदेशमा रहेका नेपाली फर्किने गरी १६औँ पञ्चवर्षीय योजना बनाउँदैछौँ’

काठमाडौँ- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीलाई फर्काउने गरी १६औँ पञ्चवर्षीय योजना बनाइरहेको बताएका छन्।

राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेश इन्स्टिच्युटले शनिबार आयोजना गरिएको तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन, २०८० मा ‘वर्तमान आर्थिक चुनौती र उद्यमशीलताको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले १६औँ पञ्चवर्षीय योजना बनाइरहेको उल्लेख गर्दै योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताएका हुन्।

उपाध्यक्ष श्रेष्ठले युवालाई उपलब्ध गराउँदै आएको सहुलितपूर्ण कर्जा उत्पादन नबढेकाले कर्जा रोक्नुपरेको बताए। ‘सहुलियतपूर्ण कर्जा हामीले बाँड्यौँ। तर उत्पादन र रोजगारी बढेन। त्यसैले हामीले अहिले रोकेका छौँ। पछि कार्यविधिलाई संशोधन गरेपछि नयाँ प्रक्रियामा सहुलियपूर्ण कर्जालाई लैजान्छौँ,’ उनले भने।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नीति ल्याए पनि कार्यान्वयनमा समस्या भएकाले युवाको मुद्दा समाधान गर्न नसकिएको बताए। उनले युवाका समस्या युवासँग बसेर छलफल गर्नसके धेरै अगाडि बढ्न सकिने बताए।

नेपाल बैंकर एसोसिएसनका अध्यक्ष सुनिल केसीले लगानी गरेको ऋण उठ्ने निश्चित हुनुपर्ने बताए। उनले आफूहरू पनि युवाका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उल्लेख गर्दै लगानी उठ्न जोखिम रहेकाले केही बैंक उद्योगमा लगानी गर्न डराएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले युवाको उद्यमशीलताका लागि नयाँ गन्तव्य खोज्नुपर्ने बताइन्। उनले अहिलेका युवा धेरै सक्रिय रहेकाले नीति नियमको परिमार्जन गरेर युवालाई उद्यमशील बनाउन आवश्यक रहेको बताए।

उद्योगी पवन गोल्यानले स्थानीय तहसँग मिलेर युवालाई उद्यमशील बनाउनुपर्ने बताए। ‘किसानले दुःख गरेर उत्पादन गर्दछ तर बेच्न सक्दैन। किसानले उत्पादन गरेको खाद्यवस्तुलाई बेच्ने वातावरण सरकारले बनाइदिनुपर्दछ। स्थानीय सरकारले पनि सहयोग गर्नुपर्दछ,’ गोल्यानले भने।

प्रकाशित: ३० भदौ २०८० १७:०७ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast