मर्कामा किसान : लम्पी स्किनले रोपाइँ ढिला, पसाउन लागेको धानमा रोग संक्रमण

हिमाल प्रेस ३१ भदौ २०८० ९:११ | Sunday, September 17, 2023
मर्कामा किसान : लम्पी स्किनले रोपाइँ ढिला, पसाउन लागेको धानमा रोग संक्रमण फाइल तस्बिर : रासस

खोटाङ- गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको संक्रमण फैलिएपछि किसान चिन्तित बनेका छन्। रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिकासहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा कीरा तथा रोगको संक्रमण फैलिएपछि किसान चिन्तित बनेका हुन्।

धानको बाला लाग्ने ठाउँदेखि तल डाँठको वरिपरि तथा आँख्लामा खैरो रङ भएको दाग तथा गभारो नामको कीराको समस्या देखिएको किसानले बताएका छन्। थोप्ला जोडिँदै जाँदा पूरै पात डढेकोजस्तो देखिने र रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्ला देखिएको किसानहरूले बताएका छन्।

गाभा सरेर पोटाउन लागेको धान बालीमा कीरा तथा राइस ब्लाष्ट–थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको संक्रमण देखापरेको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामानन्द यादवले जानकारी दिए। ‘जिल्लामा धान बालीमा तीन किसिमको रोग र एक प्रकारका कीराको संक्रमण फैलिएको पाइएको छ,’ उनले भने, ‘ कृषि ज्ञान केन्द्रले बजेट अभावका कारण विषादी उपलब्ध गराउन सकेको छैन। रोग पहिचान गरेर नियन्त्रण गर्न सबै स्थानीय तहका प्राविधिकलाई सुझाव दिएका छौँ। स्थानीय तहले चासो दिएमा नियन्त्रण गर्न सकिन्छ।’

धानको कलिलो अवस्थाको बोटमा गभारोको आक्रमण भएमा गावा मृत देखिने तथा फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुसमात्र भएको सेतो बाला देखिने ज्ञान केन्द्रका अधिकारीहरू बताउँछन्।

धान बालीमा रोग तथा कीराको संक्रमण फैलिएपछि यस वर्ष जिल्लामा उत्पादनमा समेत गिरावट आउने सम्भावना बढेको कृषि विज्ञहरूले बताएका छन्। जिल्लाका दश स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिकाका किसानले लगाएको धान बालीमा सबैभन्दा बढी रोग तथा कीराको प्रकोप देखिएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले र नेर्पामा लगाइएको धान बालीमा समेत रोग तथा कीराको संक्रमण देखापरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गभारो कीरा, ब्लाष्ट, खैरो थोप्ले रोग र व्याक्टेरियल लिफ ब्लाइटको संक्रमण देखिएको कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए। ‘नगरपालिकाको सबै वडाका किसानले लगाएका धान बालीमा रोग तथा कीराको प्रकोप देखिएको छ। सबैभन्दा बढी वडा नं ४ खाल्लेमा देखिएको छ,’ उनले भने, ‘धान बालीमा लागेको रोगको प्रकोप तथा कीरा नियन्त्रणका लागि नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानलाई कारटाप हाइड्रोक्लोराइड, कार्बेनडाजिम र एक्जाकोनाजोल नामको विषादी वितरणसमेत वितरण सुरु गरेको छ।’

जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा धान बालीमा फैलिएको रोग नियन्त्रणका लागि पहल थालेका छन्। यद्यपि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहका कृषकले अहिलेसम्म रोग नियन्त्रणका लागि आवश्यक पर्ने विषादी नपाएको गुनासो गरेका छन्।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कुल १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफल खेतमा किसानले धानखेती गर्दै आएका छन्। देशभर गाईगोरुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगसँगै बेलामा वर्षा नहुनु, यान्त्रीकरणमा सबै किसानको पहुँच नपुग्नुलगायत कारण यस वर्ष जिल्लामा धान रोपाइँसमेत ढिला भएको थियो। रासस

प्रकाशित: ३१ भदौ २०८० ९:११ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast