मोरक्को भूकम्पमा मृतकको संख्या २ हजार ८ सय नाघ्यो

हिमाल प्रेस २६ भदौ २०८० १६:४८ | Tuesday, September 12, 2023
मोरक्को भूकम्पमा मृतकको संख्या २ हजार ८ सय नाघ्यो तस्बिर : एफपी

मौले ब्राहिम- मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय नाघेको छ। पछिल्लो विवरणअनुसार ३ हजार जना घाइते भएका छन्। अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन्।

भूकम्पबाट घरबारविहीनहरूले आफ्नो ज्यान जोगिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको बताएका छन्। गत शुक्रबारदेखि नै खाना र आवासका निम्ति भौतारिनुपरेको पीडितले बताएका छन्।

सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन्। भूकम्पबाट अत्यधिक प्रभावित ताफेघते गाउँका एक जना पीडितका अनुसार करिब २ सय जनाको बसोबास रहेको उनको गाउँका ९० जनाको शव फेलापरेको छ।

कतिपय हराइरहेका छन्। ‘यो गाउँका मानिस कि त अस्पतालमा छन् कि जीवित छैनन्,’ ती व्यक्तिले सञ्चारमाध्यमसँग भनेका छन्। भवनका भग्नावशेष सफा गर्ने यान्त्रिक उपकरणको अभावमा उद्धारकार्य जटिल भएको छ।

परम्परागत घरका इँटा र ढुंगा बाटामा असरल्ल छन्। हसन आफ्ना काका अझै पनि भग्नावशेषमुनि दबिएका बताउँछन् तर उनलाई जीवितै बाहिर निकाल्ने कुनै आशा छैन। एक सयभन्दा कमको बसोबास रहेको उनको गाउँपालिकामा १६ जनाको शव फेला परे पनि भग्नावशेषमा पुरिएका पशुचौपाया गन्हाएर स्थानीय वायु नै प्रदूषित भएको छ।

मोरक्कोको पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ।

अल–हौज र ताराउदान्ट प्रान्तका अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफियामा भएको छ। स्पेन, संयुक्त अधिराज्य र कतारले खोज तथा उद्धारमा सघाउन आ–आफ्नो टोली परिचालन गरका छन्। मोरक्कोका उद्धारकर्मीसँगको समन्वयमा उनीहरूले काम गरिरहेका गृह मन्त्रालयले बताएको छ। रासस/एएफपी

प्रकाशित: २६ भदौ २०८० १६:४८ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast