बाँकेमा कारागार जीर्ण

हिमाल प्रेस ४ असोज २०८० ८:५७ | Thursday, September 21, 2023
बाँकेमा कारागार जीर्ण

बाँके- नेपालगञ्जस्थित बाँके जिल्ला कारागारको भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ ।

विसं २०२० मा स्थापना गरिएको कारागारमा कैदीबन्दी बस्ने भौतिक पूर्वाधार जीर्ण बन्दै गएकाले सुरक्षाको जोखिम बढेको कारागारका प्रमुख जेलर अर्जुनजंग शाहले जानकारी दिए।

‘कारागारको संरचना जीर्ण छन्। स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन्’, उनले भने, ‘जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले सुरक्षाको जोखिम बढेको छ।’

नेपालगन्ज उपमहानगरपालिका–१० स्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन्। बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ। ढल निकासको व्यवस्था नभएकोले कारागार वरिपरिको वातावरण दुर्गन्धित छ।

तीन सय ५० जना अट्ने क्षमता भए पनि हाल नौ सय ४६ कैदीबन्दी रहेको जेलर शाहले बताए। संविधान दिवसका अवसरमा बुधबार बाँके कारागारबाट १६ कैदीको बाँकी कैद माफी मिनाहा भएसँगै अब नौ सय ३० कैदीबन्दी कारागारमा छन्।

संविधान दिवसका अवसरमा जिल्ला कारागार बाँकेमा रहेका १६ पुरुष कैदी र जयन्दु बालसुधार गृहमा रहेका सात नाबालकको बाँकी कैद माफी मिनाहा भएको जेलर शाहले जानकारी दिए।

कैद मिनाहा भएका कैदी चोरी, कर्तव्य ज्यान तथा सवारी ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेको उनले बताए। मुद्दा फैसला नभएका, मुद्दा सुनुवाइका लागि अदालत लैजानुपर्ने थुनुवा, उपचार गराउनुपर्ने बिरामी, र ज्येष्ठ नागरिक कैदीबन्दीका कारण नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी संख्यामा राख्नुपर्ने बाध्यता रहेको जेलर शाहको भनाइ छ।

प्रकाशित: ४ असोज २०८० ८:५७ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast