बंगलादेशमा डेंगी संक्रमण उच्च, १ दिनमा ३ हजारभन्दा बढी संक्रमित

हिमाल प्रेस १ असोज २०८० २१:२० | Monday, September 18, 2023
बंगलादेशमा डेंगी संक्रमण उच्च, १ दिनमा ३ हजारभन्दा बढी संक्रमित

ढाका- बंगलादेशमा शनिबारदेखि आइतबार बिहानसम्मको २४ घण्टामा ३ हजार १२२ जनामा डेंगी भेटिएको छ। यस वर्ष एकै दिनमा अस्पताल भर्ना भएका बिरामीको यो संख्या अहिलेसम्मकै उच्च रहेको ढाका ट्रिब्युनले उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार यो अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने रोगका कारण थप १८ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यो वर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या ८२२ पुगेको छ।

ढाका ट्रिब्युनका अनुसार ढाकाका अस्पतालमा ८४९ जना र राजधानी बाहिरका अस्पतालमा डेंगीका बाँकी बिरामी भर्ना भएका छन्। ढाकामा ४ हजार ६६ सहित १० हजार ४३७ डेंगीका बिरामी हाल देशभरका अस्पतालमा उपचाररत छन्।

यस वर्ष अहिलेसम्म १ लाख ६७ हजार ६८४ जनामा डेंगीको संक्रमण देखिएको छ। त्यस्तै निको हुनेको संख्या १ लाख ५६ हजार ४२५ रहेको छ।

बंगलादेशमा सन् २०२२ मा डेंगीका कारण २८१ जनाको मृत्यु भएको थियो। सन् २०१९ मा १७९ जनाको मृत्यु भएको र यो वर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या करिब १ सय जनाले बढेको छ।

सन् २०२२ मा बंगलादेशमा ६२ हजार ४२३ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ६१ हजार ९७१ जना निको भएका थिए। यसैबीच युनिसेफले बंगलादेशलाई डेंगीको प्रकोप नियन्त्रणका लागि २२ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गर्ने बताएको छ।

संयुक्त राष्ट्रसंघीय निकायले छिट्टै स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छताका क्षेत्रमा अन्य महत्त्वपूर्ण आपूर्ति र सेवाहरूका साथै तत्काल आवश्यक परीक्षण किटहरू र पेशेवरहरूको प्रशिक्षण प्रदान गर्नेछ। बंगलादेशको ६४ जिल्लामा अहिले डेंगीको प्रकोप छ। रासस/एएनआई

प्रकाशित: १ असोज २०८० २१:२० | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast