प्रधानमन्त्री प्रचण्डले अवलोकन गरे पोताला दरबार र जोखाङ मन्दिर

हिमाल प्रेस १० असोज २०८० २१:०५ | Wednesday, September 27, 2023
प्रधानमन्त्री प्रचण्डले अवलोकन गरे पोताला दरबार र जोखाङ मन्दिर

ल्हासा (चीन)- चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँस्थित ऐतिहासिक पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन भ्रमण गरेका छन्।

समुद्री सतहबाट करिब ३ हजार ८ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई संयुक्त राष्ट्रसंघीय सैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सन् १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको थियो।

पोताला दरबार ऐतिहासिक एवं तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो। साथै यो दरबार विश्वमै समुद्री सतहबाट सबैभन्दा माथि निर्माण भएको दरबार पनि हो। पोताला दरबारको भ्रमण गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्यहाँका अधिकारीहरूले दरबारका बारेमा जानकारी गराएका थिए।

त्यसै गरी प्रधानमन्त्री प्रचण्डले पोताला दरबारको नजिकै रहेको जोखाङ मन्दिरको पनि अवलोकन भ्रमण गरे। जोखाङ मन्दिरलाई पनि युनेस्कोले सन् १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको छ।

यो मन्दिर सोङचङ गम्पोले राजकुमारी वेनचेङ र नेपाली राजकुमारी भृकुटीका लागि सातौं शताब्दीको मध्य समयतिर बनाएका थिए। यो मन्दिर बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र स्थलका रूपमा रहेको छ।

यस मन्दिरमा राखिएको शाक्यमुनि बुद्धको मूर्तिलाई भक्तजनले विशेष महत्त्वका साथ सम्मान गर्छन्। मन्दिरको भ्रमणका गर्दा प्रधानमन्त्री प्रचण्डलाई त्याहाँका अधिकारीहरूले मन्दिरका बारेमा जानकारी गराएका थिए। प्रधानमन्त्रीले गरेको दुवै ठाउँको भ्रमणका क्रममा चीन भ्रमण दलमा संलग्न भ्रमण दलका सदस्यहरू पनि सहभागी थिए। रासस

प्रकाशित: १० असोज २०८० २१:०५ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast