प्रचण्ड नेतृत्वको सरकार पाँच वर्ष चल्न सक्छ : शशांक कोइराला

हिमाल प्रेस ३१ भदौ २०८० १३:४३ | Sunday, September 17, 2023
प्रचण्ड नेतृत्वको सरकार पाँच वर्ष  चल्न सक्छ : शशांक कोइराला

चितवन– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार ५ वर्षसम्मै चल्ने सम्भावना रहेको बताएका छन्। आइतबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले सत्ता गठबन्धनमा समान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताए।

‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ५ वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ,’ कोइरालाले भने। नेता कोइरालाले सरकारको स्थायित्व आवश्यक रहेको बताए। स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको उनको भनाइ छ। पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने कोइरालाले उल्लेख गरे।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको बताए। नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे।

सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताए। उनले भने, ‘कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो,’ कोइरालाले भने, ‘मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो।’

सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको उनको भनाइ थियो। ‘इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ,’ उनले भने।

पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उनको आरोप छ। अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उनले बताए। विचार राम्रो भए पनि कार्यशैलीमा परिवर्तन भए पार्टी एक्लै अघि बढ्न सक्ने उनको तर्क थियो।

प्रकाशित: ३१ भदौ २०८० १३:४३ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast