पदमा बस्न होइन, काम गर्नको लागि योजनासहित आएको छुः आरके शर्मा

हिमाल प्रेस ११ असोज २०८० ११:४९ | Thursday, September 28, 2023
पदमा बस्न होइन, काम गर्नको लागि योजनासहित आएको छुः आरके शर्मा

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–२५) को लागि कतार निवासी राजेन्द्रकुमार शर्मा (आरके)ले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन्।

कतारको राजधानी दोहास्थित र्‍याडिसन ब्लू होटलमा बुधबार शर्माले उम्मेद्वारी घोषणासहित आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गरेका हुन्। ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ नारा समेटेर शर्माले २ बर्से कार्यकालका २४ कार्ययोजना समेटेर बाचापत्र सार्वजनिक गरेका छन्।

संघका वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले विश्वभर बस्ने गैरआवासीय नेपालीको सल्लाह र सुझावका आधारमा आफ्ना योजना तथा कार्यक्रम ल्याएको बताए। यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएनए’ बन्ने उनले दाबी गरे।

बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, ‘मैले आईसीसीको उपाध्यक्ष भइ काम गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु। त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु। तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ।’

उनले भने, ‘अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन। मैले काम गर्ने उद्देश्यले जिम्मेवारी लिन खोजेको मात्र हुँ। योजनाबद्धरूपमा बनाएका लक्ष्य र कार्ययोजनालाई समेटेर बाचापत्र सार्वजनिक गरेको छु।’ आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिकरूपमा सावजनिक गर्ने उनले बाचासमेत गरे।

शर्माले विदेशमा बस्ने नेपाली श्रमिकलाई सामूहिक लगानी कोषमा आवद्ध गराउने र स्वेदश फर्किने नेपाली श्रमिकको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन्। ‘अब गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भइसकेको छ,’ उनले भने।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन्। उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आईसीसी सदस्य, मध्यपूर्व संयोजक र आईसीसी सचिव भएर काम गरिसकेका छन्। हाल उनी संघको आईसीसी उपाध्यक्ष हुन्।

बागलुङमा २०३८ साल मंसिर १३ गते जन्मिएका शर्मा सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए। कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ नै एउटा निर्माण कम्पनीमा अकान्टेन्टकोरूपमा जागिर सुरु गरेका थिए। हाल उनी कतारमा सफल नेपाली व्यवसायीका रूपमा चिनिन्छन्।

प्रकाशित: ११ असोज २०८० ११:४९ | Thursday, September 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast