तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरिँदै

हिमाल प्रेस ९ असोज २०८० २०:३८ | Tuesday, September 26, 2023
तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरिँदै

लुम्बिनी- प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव गरिने भएको छ। यही सेप्टेम्बर ३० भित्र प्रस्तावित मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेस गरिने भएको हो।

सुचीकृत गर्ने प्रक्रियाका लागि सरकारी तथा सरोकारवाला निकायहरूबाट आवश्यक सहयोग साधन, श्रोतको सुनिश्चितता र मार्गनिर्देशका लागि गठित निर्देशक समितिको मंगलबारको बैठकले  निर्णय गरिसकेको छ।

 लुम्बिनी विकास कोषका उपाध्यक्ष एंव निर्देशक समितिका संयोजक संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे)को अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेजको मस्यौदा पेस गर्ने निर्णय गरिएको हो।

विश्व सम्पदा महासन्धिअनुसार मस्यौदा मनोनयन दस्तावेज पुरातत्त्व विभाग हुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विश्व सम्पदा केन्द्रमा सेप्टेम्बरभित्र पेस गरिने कोषका वरिष्ठ निर्देशक एंव मनोनयन दस्तावेज तयारीका संयोजक ज्ञानिन राईले जानकारी दिए।

अन्तिम मनोनयन दस्तावेज नेपाल सकारले सन् २०२४ फेब्रुअरी १ तारिख अघि नै पेस गर्नुपर्ने यूनेस्को महासन्धिमा उल्लेख छ। यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पर्याप्त आधार र प्रमाण जुटाइएको थियो।

कोषका उपाध्यक्ष एंव निर्देशक समितिका संयोजक डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि आवश्यक प्रक्रियागत काम पूरा गर्न कोषका तर्फबाट पूर्ण सहयोग रहने बताए।

विश्व सम्पदा महासन्धिले तोकेको मापदण्ड र आधार पूरा गरेर शाक्य गणराज्यको राजधानी तिलौराकोट कपिलवस्तुलाई सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रियागत काम गर्न निर्देशक समितिले निर्णय गरेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले जानकारी दिए।

उनले सरकारले २०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखिएको उल्लेख गर्दै अब सुचीकृतका लागि प्रक्रियागत कामहरू मात्रै बाँकी रहेको बताए।

सिद्धार्थ गौतमका रूपमा बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि आवश्यक प्रमण र आधारहरू विज्ञहरूले पुष्टि गरिसकेको उनको भनाइ छ।

विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विश्व सम्पदा केन्द्रको मुख्य कार्यालय फ्रान्ससहित विश्व सम्पदा केन्द्रका सदस्य राष्ट्रहरूमा तिलौराकोट कपिलवस्तु सुचीकरणका लागि प्रचारप्रसार र लबिङका कार्यक्रमहरू गर्नेसमेत बैठकले निर्णय गरेको छ।

प्रकाशित: ९ असोज २०८० २०:३८ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast