चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह

हिमाल प्रेस १३ असोज २०८० ८:५९ | Saturday, September 30, 2023
चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह

चितवन- दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ। जिल्ला दुग्ध उत्पादक सहकारी संघले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो।

संघका अध्यक्ष किशोर वगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणलाई सहयोग गर्न अनुरोध गरे। अहिले दूधको बजारीकरणमा समस्या देखिन थालेको जनाउँदै उनले सबैको भान्छामा नेपाली दुग्धजन्य उत्पादन प्रयोग भएमा अहिलेको समस्या समाधान हुने बताए।

उनले भने, ‘अहिले दूधको बजारीकरणमा समस्या देखिएको छ। यसलाई निराकरण गर्न आम नेपालीको भान्सामा नेपाली दुग्धजन्य उत्पादनको प्रयोग वढाउन जरुरी रहेको छ।’

जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने भए पनि जिल्ला बाहिर एक लाख ३५ हजार लिटर दूध मात्रै जाने गरेको छ। बाहिरी जिल्ला जाने दूधसमेत कम्पनीहरुले उठाउन कठिन मान्दा समस्या बढ्दै जान थालेको उनले जानकारी दिए।

संघका उपाध्यक्ष रामेश्वर गौलीलले जिल्लाबाट बाहिर जाने दूध कम्पनीले उठाउन गाह्रो मान्ने गरेको जनाउँदै विगत तीन किस्तादेखिको दूधको पैसासमेत पाउन नसकेको बताए। उनले भने, ‘डीडीसीले गत साउनयता किसानलाई पैसा दिन सकेको छैन। अधिकांश किसानले कम्तीमा तीन किस्ताको रकम पाउन बाँकी छ।’

यही अवस्था रहेमा किसानले चाडपर्वको मुखमा आन्दोलन गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ। संघमा अहिले एक सय १५ सहकारी आबद्ध रहेको जानकारी दिँदै उनले यी सहकारीबाट कम्पनीले दूध उठाउन नसक्ने जानकारी दिन थालेको उनले बताए।

उनले भने, ‘किसानले दूधको पैसा नपाउने र दूध बजारमा पनि नजाने हो भने यसले ठूलो समस्याको रुप लिन्छ। यसैले सबैले चार्डपवमा घरघरमा दुग्धजन्य उत्पादनको प्रयोग बढाएर सहयोग गर्नुपर्‍यो।’

सचिव कल्याण अधिकारीले सरकारले छिमेकी नाकाबाट आउने दूधको नियन्त्रणमा चासो नदिनुका कारण यहाँको दूधले बजार नपाएको गुनासो गरे।

प्रकाशित: १३ असोज २०८० ८:५९ | Saturday, September 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast