कर्फ्यु हटेपछि सामान्य बन्दै मलंगवा

हिमाल प्रेस २४ भदौ २०८० १२:५४ | Sunday, September 10, 2023
कर्फ्यु हटेपछि सामान्य बन्दै मलंगवा सांकेतिक तस्बिर

सर्लाही- सर्लाही सदरमुकाम मलंगवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा जारी रहने जानकारी दिए।

कर्फ्यु हटाइएपछि मलंगवाको जनजीवन सामान्य बन्दै गएको छ। बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चलन सुरु भएका छन्। सर्वसाधारणहरू आ-आफ्नो दिनचर्यामा व्यस्त हुन थालेका छन्। मलंगवाका विभिन्न स्थानमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

व्यक्तिहरूले हिँड्डुल गर्न पाउने, बजार पसल खोल्न पाउने तर विरोध जुलुस, धर्ना, आमसभालगायत गर्न नपाइने गरी निषेधाज्ञा जारी रहेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

मलंगवामा दुई पक्षबीच ढुंगा हानाहान तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले हिजो शनिबार साँझ ५ बजेदेखि आज आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीका मूर्ति सेलाएर फर्किने क्रममा झडप भएको थियो। त्यसै विषयलाई लिएर शनिबार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो।

प्रकाशित: २४ भदौ २०८० १२:५४ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast