आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह

हिमाल प्रेस १२ असोज २०८० १५:४४ | Friday, September 29, 2023
आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह मोहनबहादुर बस्नेत। फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्। चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटकपटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गरे। पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि मन्त्री बस्नेतले बताए। चिकित्सकहरुलाई सुरक्षाको प्रत्याभूति सरकारले दिने स्वास्थ्यमन्त्रीले प्रतिबद्धतासमेत जनाएका छन्।

‘यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ। पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ। तपाईंहरू आन्दोलन फिर्ता लिएर सेवामा फर्किनुस्,’ उनले भने।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका अधिकांश समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी गराए। ‘अहिले देखिएका अधिकांश समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ,’ उनले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।’

प्रकाशित: १२ असोज २०८० १५:४४ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast