भारतीय पूर्वक्रिकेटर आकाश चोपडाको सन्देश : टिम नेपाल, एसिया कपमा मच्चाउनुस् धमाल

कमेन्ट्रीटर चोपडाको नजरमा नेपाली टिम

हिमाल प्रेस १२ भदौ २०८० १७:३६
98
SHARES
भारतीय पूर्वक्रिकेटर आकाश चोपडाको सन्देश : टिम नेपाल, एसिया कपमा मच्चाउनुस् धमाल

काठमाडौँ- बहुप्रतिक्षित क्रिकेट एसिया कप २०२३ संघारमा आइपुगेको छ। बुधबार दिउँसो सवा ३ बजेदेखि नेपाल र पाकिस्तानबीच प्रतियोगिताको पहिलो खेल हुँदैछ। पहिलोपटक एसिया कप खेल्न लागेको नेपाली क्रिकेट टिमप्रति यतिखेर सबैको चासो छ। एसिया कपमा छनोट हुँदा नेपाली टिमल गरेको प्रदर्शनले क्रिकेट प्रेमी, समर्थक तथा विश्लेषकहरूको ध्यान निकै तानेको छ।

यसैबीच भारतका पूर्वक्रिकेटर एवं हिन्दी कमेन्ट्रीटर आकाश चोपडाले नेपाली क्रिकेट टिमको बलियो पक्ष र कमजोर पक्षबारे टिप्पणी गरेका छन्। एसिया कप सुरु हुनुभन्दा एक दिनअघि मंगलबार ‘क्रिकेट चौपाल’ स्तम्भमार्फत चोपडाले नेपाली क्रिकेट टिमलाई जितको शुभकामना दिँदै बलियो पक्ष र कमजोर पक्षबारे टिप्पणी गरेका छन्।

चोपडाको विश्लेषणको सम्पादित अंशः

सुन्दर देश नेपालमा क्रिकेटप्रति निकै प्रेम देखिन्छ। क्रिकेटप्रति नेपालीहरूको निकै लगाव छ। यहाँसम्म आइपुग्न नेपाली खेलाडीले धेरै लामो समयदेखि प्रयास गरिरहेका थिए। अहिले एसिया कपमा पुगिसकेको छ। यो नेपालका लागि धेरै ठूलो उपलब्धि हो।

पारस खड्काजीको नेतृत्वमा नेपाली टिमले राम्रो खेल्न सुरु गरेको थियो। खेल जित्न सुरु गरेको थियो। अहिले जुन अवस्थामा पुगेको छ, त्यो धेरै राम्रो भएको छ। एसिया कपका लागि छनोट भइसकेको छ र भारत तथा पाकिस्तानको ग्रूपमा परेको छ।

भोली पहिलो खेल पाकिस्तानसँग खेल्न लागेको छ। यो एसिया कपको सुरुवात कस्तो हुनेछ भन्ने सबैको चासोको विषय बनेको छ। नेपालको स्ट्रेन्थ, अवसर र कमजोरीबारे मैले विगतदेखि नै नियाल्दै आएको छु।

यिनीहरूको स्ट्रेन्थ सेटल्ड ब्याटिङ युनिट छ। ब्याटिङ युनिट नियाल्दा धेरै सेट भएको देखिन्छ। पछिल्लो एक वर्षदेखि निरन्तर खेलिरहेको टिममा करिबकरिब उनै खेलाडी छन्। निरन्तर एउटै टिम खेलेकाले पनि नेपालको ब्याटिङ युनिट सेट देखिन्छ।

यसमा रोहित पौडेल राम्रा ब्याटर छन्। उनी नेपाली टिमका कप्तान पनि हुन्। उनको ब्याटिङ एकदमै आकर्षक लाग्छ। रोहितले टी–२० मा धेरै राम्रो रन बनाएका छन्। मैले उनलाई धेरै फ्लो गरिरहेको छु। उनी एकदमै राम्रो छन्। नेपाली टिममा टप अर्डर ब्याटर कुशल भुर्तेल छन्। उनीसँगै आसिफ शेख छन्।

कुशल मल्ल, भीम सार्की, आरिफ शेख नेपाली टिमका टप अर्डर ब्याट्समेन हुन्। उनीहरूले पछिल्लो समय राम्रो अनुभव लिएका छन्। स्पिन बलरमा नेपालसँग सन्दीप लामिछाने छन्। उनी धेरै विकेट लिने बलर हुन्। यो नेपाली टिमको धेरै बलियो पक्ष हो।

बलरकै कुरा गर्दा गुल्शन झा, दीपेन्द्र सिंह ऐरि पनि छन्। ऐरि ब्याटिङ पनि गर्छन्। ललित राजवंशी र लामिछाने दुई स्पिनर नेपाली टिमसँग छन्। सोमपाल कामी विकेट लिने बलरमै गनिन्छन्।

यदि एसोसिएट क्रिकेट पछ्याउने हो भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरि, गुल्शन झा एकदमै प्रभावकारी खेलाडी देखिन्छन्। सन्दीप लामिछाने त कमाल नै गर्छन्। लामिछानेले ४९ अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेका छन्।

त्यसमा १११ विकेट लिएका छन्। ४९ म्याचको अवधिमा ८ पटक त उनले ४ विकेट लिएका छन्। उनको याे प्रदर्शन अविश्वसनीय छ। रोहित पौडेलले ५२ एक दिवसीय खेल खेलेका छन्, १ हजार ४६७ रन बनाएका छन्। त्यसमा ८ अर्धशतक र १ शतक बनाएका छन्। उनको औसत रनरेट ३१.९ को छ।

कुशल भुर्तेलले ४४ म्याच खेलेका छन्। उले ९८६ रन बनाएका छन्। उनको नाममा ६ अर्धशतक र १ शतक छ। उनको औसत २२.९ को छ। यो त्यति राम्रो औसत होइन। तर भुर्तेल नेपाली टिमका ज्यान हुन्।

कमजोरी

लगातार बलिङमा परिवर्तन गरिरहनु नेपालको सबैभन्दा कमजोर पक्ष हो। पछिल्लो १० एकदिवसीय खेलको बलिङ हेर्ने हो भने उही बलिङ युनिट खेलिरहेको छैन। उही पाँच बलर लगातार खेलिरहेका छैनन्। अधिकतम परिवर्तन गरिएको छ। ब्याटिङ स्टेबल छ। बलिङमा धेरै बदलाव छ। पेस बलिङ युनिटमा कहिले कोही कहिले कोही लगातार परिवर्तन गरिएको हुन्छ। स्पिनमा सन्दीप लामिछाने उत्कृष्ट छन्।

धेरै टिमहरूसँग खेलेको अनुभव नेपालसँग छैन। यो नेपाली टिमको अर्को कमजोर पक्ष हो। मैले पारस खड्काजीसँग कुरा गरिरहेको थिएँ, उनले हामीले धेरै नखेलेको भनिरहेका थिए। तर सामना गरिरहेको टिमसँग फाइट चाँही नेपाली टिमले अवश्य गर्नुपर्नेछ।

नेपालले पाकिस्तान र भारतलाई हराउनसक्छ भन्ने हामीले अनुमान गर्न सक्दैनौँ, करिबकरिब ९९ प्रतिशत हराउन सक्ने छैन। पाकिस्तान र भारतलाई हराउन नसके पनि उनीहरूसँग कडा टक्कर गर्न सकेमा धेरै राम्रो हुनेछ।

कडा टक्कर गर्न सके गर्व हुनेछ। उही आत्मविश्वासका साथ नेपाली टिमले खेल्न सक्नुपर्छ। नेपाली टिम तयार हुनुस्, भारत र पाकिस्तान दुइटैलाई पुस गर्नुस्। अब ‘टिम नेपाल, हुनुस् तयार, यसपाली एसिया कपमा मच्चाउनुस् धमाल’ भारत र पाकिस्तान दुवैलाई पुस गर्नुस्, कम्तीमा एउटालाई हराउनुस् पनि। जे पनि हुन सक्छ, नेपाल विस यु अल द बेस्ट।

प्रकाशित: १२ भदौ २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =