‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार…’ उहिले रेडियो नेपालमा बराबर सुनिने कृष्णविक्रम थापाले गाएको यो सुमधुर गीत अचेल त्यति बाक्लो सुनिँदैन। तर यसको शब्दले एकचोटि सिन्धुलीगढी हेर्न जाऊँ जाऊँ बनाउँछ। के तपाईं साँच्चिकै सिन्धुलीगढी घुम्न जानुभएको छ? नेपाल एकीकरणकालीन इतिहास पढ्नुभयो भने यी ऐतिहासिक गढीमा तत्काल पुगौँ पुगौँ लाग्छ। साँच्चिकै सिन्धुलीगढी पुग्नुभयो भने गौरवले आफ्नो छाती फुलेको महसुस गर्नुहुनेछ। यही गौरवमय इतिहास बोकेको गढीले नेपाली पर्यटकलाई आफूतिर तानिरहन्छ।
बीपी राजमार्ग भएर यात्रा गर्दा सिन्धुलीको मनोरम दृश्यको रसपान गर्ने प्यास नमेटिँदै सिन्धुलीगढीको द्वारले स्वागत गरिदिन्छ। राजमार्ग छोडेर डेढ किमि जति हिँडेपछि गढीको गेटमा पुगिहालिन्छ। अलि वरतिर पचाससाठी खुट्किला चढेर सानो गढी पुगिन्छ। त्यहाँबाट डेढ-दुई सय पाइला अगाडि बढेपछि पुरानो मन्दिर, अदालत र जेलघरका अवशेष हेर्न पाइन्छ। अनि पुगिन्छ नेपालको एकमात्र युद्ध संग्रहालय- सिन्धुलीगढी संग्रहालय।
संग्रहालयको बाहिरपट्टि विभिन्न युद्ध स्मारक बनाइएका छन्। अनि माथितिर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको औँला उठाएको शालिक गौरवमय इतिहास सम्झाउँदै उभिएको छ। पछिल्तिर ठूला अक्षरमा लेखिएको छ, ‘मेरा साना दुखले आर्ज्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया।’ त्यहाँबाट माथितिर बाटो उकालिन्छ जहाँ २ सय जति खुट्किला चढेपछि पुगिन्छ ठूलो गढी। खुट्किला उक्लिन्जेल लागेको थकान गढीमा पुगेपछि छुमन्तर भएर बिलाउँछ। पुर्खाको वीरतापूर्ण गाथाले छाती फुल्छ अनि राष्ट्रियताको भावना उर्लेर आउँछ।
चारैतिर तोपगोलाले पनि छिचोल्न नसक्ने ढुंगाका बाक्लो पर्खालले पहाडको चुचुरोमा बनेको सिन्धुलीगढी चढिसकेपछि सिन्धुलीदेखि मधेशसम्मको दृश्य देख्न सकिन्छ। शिलालेख, नेपाली वीरहरूले लडाइँको बेला पानी पिउने प्रयोजनका लागि ढुंगा खोपेर बनाएको कुवा, दुस्मनलाई ताक्न बन्दुकको नाल अड्याउने प्वाल, गोर्खाली फौजले परेड गरेको ठाऊँ एकैचोटि देखिन्छ। बीचमा चन्द्रसूर्य झण्डा फरफर गरेर फहराइरहेको छ। यस्तो लाग्छ यसले कसैसँग झुक्न जानेको छैन।
किल्ला र जंगलसँग कुहिरोको नोकझोकलगायतका मोहक दृश्य नै त्यहाँको प्रमुख आकर्षणका दृश्य रहेका छन्। परबाट हेर्दा घरी लाग्छ कुहिरोले किल्लालाई छोपिदियो घरी लाग्छ किल्लाले कुहिरोलाई छेडिदियो। सिन्धुलीगढीको निर्माण वि.सं. १७६२ मा मकवानपुरका राजकुमार माणिक्य सेनले गरेका थिए। पृथ्वीनारायणको एकीकरण रणनीतिअन्तर्गत १८१९ मा गोर्खाली सेनाले यो गढीमाथि कब्जा गरेको इतिहास छ। यो किल्ला कब्जामा नलिई काठमाडौँ उपत्यका जित्न गर्न कठिन पनि थियो।
सिन्धुलीगढी घुमेर त्यस क्षेत्रको अवलोकन गर्दै गर्दा प्राकृतिक सौन्दर्यमा मनोरञ्जन, युद्ध जितेकोमा प्रफुल्लित मात्रै भइन्न कि आफ्ना अगाडि आएका अप्ठ्यारालाई कसरी समाधान गर्न सकिन्छ भनेर रणनीति योजना पनि तय गर्न सिकिन्छ।
इटहरी जनता बहुमुखी क्याम्पस आमसञ्चार तथा पत्रकारिताका विषयका विद्यार्थीको स्थलगत कार्य र शैक्षिक भ्रमणका क्रममा यसपटक सिन्धुलीगढी क्षेत्र घुम्ने अवसर प्राप्त भयो।त्यस ठाउँको ऐतिहासिकता र मनमोहक प्राकृतिक सौन्दर्यले उसैगरी मन लोभ्यायो। यात्राका क्रममा क्याम्पसका प्राध्यापकद्वय गणेश पौडेल र विमल नेपालले सिन्धुलीगढी युद्धका बारेमा व्याख्या गर्दै गर्दा हामी सबैको गोरखाली रगत यसरी उम्लिरहेको थियो कि स्वाभिमानको रक्षाका लागि आफैँ मैदानमा भइरहेको भान हुन्थ्यो।
सिन्धुलीगढी घुमेर त्यस क्षेत्रको अवलोकन गर्दै गर्दा प्राकृतिक सौन्दर्यमा मनोरञ्जन, युद्ध जितेकोमा प्रफुल्लित मात्रै भइन्न कि आफ्ना अगाडि आएका अप्ठ्यारा समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर रणनीति योजना पनि तय गर्न सिकिन्छ। कुनै पनि काम गर्दै गर्दा योजनाबद्ध ढंगले गरेमा सहजै सफलता मिल्न सक्दछ भन्ने उदाहरण सो युद्धमा गोरखालीको प्रदर्शनले पुष्टि गर्दछ।
नेपाल एकीकरणका क्रममा सिन्धुलीगढीको लडाइँको ठूलो महत्त्व छ। गोरखाका राजा पृथ्वीनारायण शाह काठमाडौँ उपत्यका जित्ने उपयुक्त समयको पर्खाइमा थिए। उनले जयप्रकाश मल्लको सहयोगका लागि इस्ट इन्डिया कम्पनीको फौज काठमाडौँ आउँदै गरेको थाहा पाए। अनि बनाए युद्ध रणनीति।
काजी श्रीहर्ष पन्त, काजी वंशराज पाँडे, सिकारी सरदार वंश गुरुङ, खजान्ची वीरभद्र उपाध्यायको नेतृत्वमा गोरखाली सेनाले किनलकको नेतृत्वमा आएका अंग्रेज फौजलाई खुकुरी, तरबार, भाला, घुयेँत्रो, गेट्टिसलगायतका साधनको प्रयोगले युद्ध मात्र जितेनन् कुनै पनि कार्य योजनाबद्ध र रणनीतिका साथ गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण देखाइदिए। त्यही रणनीतिक चलाखीपूर्ण युद्धमा गोरखाली सेनाले नेपालको सार्वभौमसत्ता र स्वाभिमान पनि उत्तिकै महत्त्वपूर्ण ढंगले जोगाएका छन्।
सहायक प्राध्यापक गणेश पौडेल भन्छन्, ‘यो युद्धमा गोर्खाली सेनाले अंग्रेज सेनालाई परास्त नगरेको भए अहिले नेपालको अस्तित्त्व नै रहने थिएन। पृथ्वीनारायण शाहको रणनीतिक योजनाअनुसार अंग्रेजलाई सुरुमा त अन्नको ‘सर्टेज’ गराइयो। जनकपुरको बजारमा अन्न किन्न खोज्दा कतै पनि अन्नपात नपाएपछि उनीहरूको पहिलो योजना असफल भयो।’ जनकपुरबाट जितपुर हुँदै उक्लिएको अंग्रेज फौजसँग लड्न दुवै किल्ला तयारी अवस्थामा राखिएको थियो।तर ब्रिटिस किल्लासम्म आइपुग्नुअगावै गोर्खा सेनाले नक्कली भिडन्त गरिदियो।
संसारमा कुनै सेनासँग पराजय नभोगेको ब्रिटिस सेना युद्धकौशल नेपाली सेनाबाट नराम्रोसित पराजित भयो।
पौडेल भन्छन्, ‘रणनीतिअनुसार गोर्खा सेना डराएर पछि हटेको नाटक गर्यो। पहाडको विकट बाटो हिँडेर आउँदै गरेको बृटिस फौजले यो रणनीति बुझ्न सकेन र लगातार गोर्खा फौजलाई लखेट्दै अगाडी बढ्यो। गोरखाली फौजले गढीको सामुन्ने आइपुग्न नपाउँदै ढुंग्रेवास गाउँबाटै अंग्रेज सेनामाथि आक्रमण गरे। सिस्नो तथा काँडा घारी जंगलभित्र अल्झिरहेका बृटिस सेनालाई अरिंगालको गोलामा ढुंगा हानेर सातो लिइएको थियो। विकट भूबनोट, जंगलमा बाटो नपाउनु, सिस्नो, अरिंगालजस्ता कुरासँग बृटिस सेना परिचित नहुनुलगायतका विषयको गोर्खा सेनाले भरपूर उपयोग गरेको थियो। जुन बृटिसको पराजयको मुख्य कारण बन्यो।’
काठमाडौँका अदूरदर्शी राजाले पृथ्वीनारायण शाहको मेख मार्न ब्रिटिस कम्पनी समक्ष सहयोग मागी पठाएका थिए। ‘सियो बनेर नेपाल पस्न’ अनेक मौका खोजिरहेको ब्रिटिसलाई यो सुनौलो अवसर थियो। ब्रिटिस ‘सियो बनी पस्यो भने मुसल बनेर निस्कन्छ’ भन्ने पृथ्वीनारायणले राम्रोसँग बुझेका थिए। अंग्रेजलाई नेपाल पस्नबाट रोक्नैपर्ने बुझेका यिनले आफ्नो सेनाको क्षमता, त्यस ठाउँको भूबनोटलगायतका अनेक रणनीति र युद्धनीतिको परिचालन गरे। परिणामस्वरूप तोप/बन्दुकलगायतका हतियारले सज्जित तालिम प्राप्त २५ सयको संख्यामा आएको ब्रिटिस सेनालाई आठ सय संख्याका नेपाली सेनाले तहसनहस बनाइदिए।
सन् १७६७ मा भएको यो युद्धमा गोरखाली सेनाबाट ब्रिटिस सेनाका कमान्डर कप्तान किनलोकसमेत १६ सय जवान मारिए, ८ सय घाइते भए। नेपाली सेनातर्फ ६ सय मारिए केही घाइते भए। त्यसबेला ब्रिटिसले ल्याएका तोप, बन्दुकलगायत सबैजसो हातहतियार नेपाली सेनाले खोसेर राखे। यसरी संसारमा कुनै सेनासँग पराजय नभोगेको ब्रिटिस सेना युद्धकौशल नेपाली सेनाबाट नराम्रोसित पराजित भयो।
एकातर्फ जनकपुरबाटै अन्नमा ‘सर्टेज’ गराएर भोकाएका विपक्षीलाई सहजै जित्नेमा विश्वस्त रहेको गोरखाली सेनाले अंरिङगाल र सिस्नोको स्वाद चखाएर आत्मविश्वासलाई थप बलियो पारेको पाइन्छ। अन्ततः विक्षिप्त रूपमा रहेका किनलक नेतृत्वको फौज गोरखाली हतियारको समेत सामना गर्न नसकेर १५ असोज १८२४ मा पराजित भएको हो।
सिन्धुलीगढी युद्धमा अंग्रेज सेनालाई पराजित गरेपछि नै काठमाडौँ उपत्यकामाथि जित हासिल गर्न पृथ्वीनारायण शाहलाई निकै सजिलो भएको थियो।
उपप्राध्यापक विमल नेपाल भन्छन्, ‘त्यहाँ यस प्रकारको रणनीतिक योजनाका साथ जित हासिल नभएको भए अंग्रेजले काठमाडौँ कब्जा गर्ने थिए। त्यस कारण सिन्धुलीगढी युद्ध जित नै नेपालको एकीकरणको महत्त्वपूर्ण जित हो।’
संग्रहालयमा रहेका सामग्रीले र त्यसको वर्णनले रगत मात्रै उम्लिँदैन साँच्चिकै युद्धमा होमिएको भान पैदा हुन्छ।
त्यसैले त भन्ने गरिन्छ, ‘गोरखालीको बहादुरीसँग मृत्यु पनि डराउँदछ।’ हिटलरले समेत भनेका थिए “यदि मसँग गोरखाली भएको भए कुनै पनि देशका सेनासँग मलाई हराउन सक्ने तागत हुँदैनथ्यो।’ गोरखालीको वीरता देखेपछि जर्मन सम्राट् कैजर विलियम द्वितीयले ‘गोरखालीको नाम सुन्नसाथ मेरो मुटु नै थर्किन्छ’ भनेर गोरखाली लाई चित्रित गरेका थिए। बेलायती राजा चार्ल्स द्वितीयले आफू राजकुमार छँदा कुनै समय ‘गोरखाली सेना जहाँ छन् त्यहाँ मात्र सुरक्षित हुन्छ’ भनेर उद्घोष नै गरेका थिए।
त्यहाँको स्थलगत अवलोकन गर्दा घरेलु हतियार लिएर प्रतिकारमा उत्रिएका गोरखाली सैनिकको वीरता प्रशंसनीय देखिन्छ। भग्नावशेषलाई अवलोकन गर्दा पनि विनारणनीति र योजना युद्ध जित्न सफल छैन। गोरखाली फौजले खोलाबाट आएको पानीमा दुस्मनले विष लगाइदिएको हुन्छ भनेर आफैले तयार गरेको इनार, विपक्षीलाई निसाना लगाउन लुकी लुकी हेर्ने द्वार पनि गोरखालीको रणनीतिक योजनाअन्तर्गतका अर्का पक्ष हुन्।
प्रकृतिलाई नै प्रयोग गरेर गोरखालीले यो युद्ध जितेका हुन्। त्यस युद्धमा प्रयोग भएका सामग्री दरबार संग्रहालयमा संग्रहित गरिएको छ। संग्रहालयमा रहेका सामग्रीले र त्यसको वर्णनले रगत मात्रै उम्लिँदैन साँच्चिकै युद्धमा होमिएको भान पैदा हुन्छ। संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हतियारलगायत राखिएका छन्। अंग्रेजको प्रवेशदेखि गोरखालीले युद्ध जितेर ओढाइएको दोसल्लासम्म संग्रहित गरिएको छ।
गढीको ऐतिहासिक पक्षसँगै कलात्मकता तथा प्राकृतिक सौन्दर्यको पक्ष पनि महत्त्वपूर्ण रहेको छ। सुन्दर, सफा, हरियाली सो ठाउँले कृष्णविक्रम थापाको ’सिन्धुलीगढी घुमेर हेर्दा’को याद नै दिलाउँछ। वरपरको मनोरम दृश्यले उकालो चढेको अनुभूति बिसाइदिन्छ। संग्रहालयभित्रका कलात्मक आकृतिले आफैँ युद्ध मैदानमा गएर भरखरै युद्ध जितेर बाहिर निस्किएको अनुभूति दिलाउँदछ। यिनै विविध कारणले पछिल्लो समय सिन्धुलीगढीको अध्ययन अवलोकन गर्न पर्यटनको बृद्धि हुँदै गएको पाउन सकिन्छ।
सिन्धुलीगढीमा वीरको योगदानको चर्चादेखि प्रकृतिको वरदानसम्मका सामग्री नै मुख्य आकर्षणका रूपमा लिन सकिन्छ। त्यसैले त त्यहाँ पुग्ने जो कोही फरक अनुभूति लिएर फर्कने गर्दछन्। हामी जनता बहुमुखी क्याम्पस आमसञ्चार तथा पत्रकारिताका विषयका विद्यार्थीसमेत त्यस क्षेत्रको अध्ययन र अवलोकनबाट नयाँ ज्ञान, अनुभूतिसहित एक फरक अनुभवका साथ फर्किएका छौँ।
तस्बिरहरू : खेमराज सापकोटा