अघिल्लो साता भारतको मध्यप्रदेश राज्यस्थित बागेश्वरधामका पीठाधीश धीरेन्द्रकृष्ण शास्त्री चौधरी ग्रुपको निमन्त्रणामा नेपाल आए। उनी नेपालको व्यापारिक घराना चौधरी ग्रुपले निर्माण र सञ्चालन गरेको नवलपरासीको शाश्वतधाममा हनुमन्त कथा वाचनका लागि आएका थिए।
अर्का भारतीय साधु मोरारी बापु कथा वाचनका लागि काठमाडौँमा छन्। उनी ओशो तपोवनमा आयोजित कार्यक्रमका लागि तपोवनकै निमन्त्रणामा आएका हुन्।
नेपालको जस्तै संस्कृति र सभ्यता भएको भारतबाट साधुसन्त आउनु नयाँ घटना होइन। भारतीय साधुहरू कहिलेदेखि नेपालमा आउन थाले भन्नेचाहिँ खोजीकै विषय हुन सक्छ। यहाँ भने सात दशकअगाडि नेपालमा आएर अनौठो मागसहित आमरण अनशन बसेका एक साधुको प्रसंग उल्लेख गरिएको छ।
नेपालस्थित भारतीय दूतावासले दिल्लीस्थित आफ्नो विदेश मन्त्रालयलाई पठाएको सन् १९४९ जुलाई र अगस्टको पाक्षिक प्रतिवेदनमा यस्तो एउटा प्रसंग भेटिएको हो। त्यो प्रसंग नयाँदिल्लीस्थित राष्ट्रिय अभिलेखागारमा सुरक्षित छ।
हिन्दू धर्मावलम्बीका लागि नेपाल ध्यान, तपस्या, साधना र ज्ञान आर्जनको पवित्रभूमि हो। अहिले नेपालमा राजसंस्था छैन। राजसंस्था र हिन्दू राज्य हुँदा नेपाल संसारकै एकमात्र हिन्दू अधिराज्य थियो। सन् १९१० को मध्य र १९२० को दशकको मध्यतिर भारतमा हिन्दूवादी संघसंस्थाका रूपमा हिन्दू महासभा र राष्ट्रिय स्वयंसेवक संघ आए। त्यसपछिका दिनमा त झन् उनीहरूका लागि नेपाल संसारको एकमात्र हिन्दू अधिराज्य र हिन्दु राजा उनीहरूका पनि हिन्दु सम्राट् भए।
सन् १९२० को दशकमा भारतका हिन्दूवादी संघसंस्थाले नेपालका श्री ३ महाराज प्रधानमन्त्रीहरूलाई विभिन्न अधिवेशन र सम्मेलनको अध्यक्षता ग्रहण गरिदिनका लागि अनुरोध गर्दथे। तर त्यस्ता अनुरोधलाई श्री ३ महाराजहरूले कहिल्यै स्वीकार गरेनन्। श्री ३ महाराजहरूले त्यहाँका विभिन्न हिन्दू संघसंस्थाले गर्ने परोपकारी काममा भने दान र चन्दा दिन्थे। राणा प्रधानमन्त्रीहरूले भारतबाट विद्वान् पण्डितहरूलाई बोलाएर शास्त्रार्थ गर्न लगाउँथे। महाशिवरात्रिका अवसरमा सीमित साधुसन्तु काठमाडौँ आउँथे र फर्किहाल्थे।
राणाकालमा विदेशीका लागि नेपाल प्रवेश त्यति सहज थिए। प्रशासनिक केन्द्र काठमाडौँ आउजाउ गर्न राजधानीबाहिरका नेपालीहरूलाई पनि राहदानीको व्यवस्था थियो। राहदानी भनिए पनि त्यो एक किसिमको यात्रा अनुमतिपत्र जस्तो थियो। कुनै विदेशी नेपाल आउनुपर्यो भने उसले कारणसहित प्रधानमन्त्रीका प्राइभेट सेक्रेटरीमार्फत सीधै प्रधानमन्त्रीसमक्ष नै आवेदन दिनुपर्दथ्यो। विदेशीलाई नेपाल आउन दिने या नदिने भन्ने अधिकार प्रधानमन्त्रीमै निहित हुन्थ्यो। भारतीय साधुसन्तलाई वर्षमा एकपटक दिन तोकेर पशुपतिनाथको दर्शन गर्नका लागि काठमाडौँ आउने अनुमति दिइन्थ्यो।
तोकिएकै समयमा उनीहरूले काठमाडौँ छाड्नुपर्दथ्यो। यो व्यवस्था अत्यन्तै झन्झटिलो थियो। सबै साधुसन्तले सम्भवतः काठमाडौँ आउने त्यस्तो सुविधा पाउँदैनथे। सन् १९३० को दशकमा ब्रिटिस भारतमा प्रान्तीय सभाहरूमा पशुपतिनाथको दर्शनका लागि काठमाडौँ जाँदा हुने कठिनाइका बारेमा कुरा उठ्ने गर्दथ्यो। खुला सिमानाबाट घुम्दैफिर्दै एकाध संख्यामा उनीहरू जुनसुकै समयमा पनि काठमाडौँ आउँथे।
राणाकालमा राणा शासकहरु असाध्यै धनी थिए। मुलुकको ढुकुटी उनीहरुको निजी सम्पत्तिसरह हुन्थ्यो। उनीहरुले भारतमा वा विदेशमा पनि व्यक्तिदेखि विभिन्न परोपकारी संघसंस्थालाई मनग्गे दानदक्षिणा दिन्थे। ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र भएपछि त्यहाँ रहेका नेपाली सहित भारतीय संघसंस्थाले श्री ३ महाराजलाई भेट्न र आफ्नो संघसंस्थालाई सहयोगको अपिलसँगै बिन्तीपत्र पठाउँथे। हजारौँको संख्यामा नेपालका श्री ३ महाराजलाई त्यस्ता आग्रह सहितका पत्र भारतबाट आएका थिए। त्यसबाट पनि उनीहरूमा नेपालका श्री ३ महाराज असाध्यै धनी छन् र उनीबाट दानदक्षिणा, सहायताका नाममा केही आफूले पनि लिन सकिन्छ भन्ने छाप परेको देखिन्छ।
त्यसैबाट प्रभावित भएर होला सन् १९४९ जुलाईमा एउटा साधु नेपालमा अनौठो मागसहित आमरण अनशनमा बसेका थिए। त्यति बेला नेपालमा श्री ३ मोहनशमशेर प्रधानमन्त्री थिए। भारत स्वतन्त्र भइसकेको थियो। २००६ सालको साउनमा भारतीय साधु गोकर्ण नजिकैको एउटा गुफामा अनशनमा बसेका रहेछन्। आफ्नो तपस्याका कारण हैदराबाद र काश्मीर भारतको अंग बनेको उनको दाबी थियो।
उनी नेपाल भारतको अंग नबनेसम्म आफूले आमरण अनशन जारी राख्ने अडान लिएछन्। भारत स्वतन्त्र हुँदा हैदराबाद र काश्मीर भारतको अंग बनिसकेका थिएनन्। काश्मीरले भारत स्वतन्त्र भएको करिब ३ महिनापछि मात्र सन् १९४८ अक्टोबरमा भारतको अंग बन्ने दस्ताबेजमा हस्ताक्षर गरेको थियो। हैदराबादले सुरुमा एक वर्षसम्म पहिलेकै अवस्थामा रहने गरी भारतसँग सम्झौता गरेको थियो। एक वर्षपछि सन् १९४८ सेप्टेम्बरमा भारतले सैन्य आक्रमण गरेर हैदराबादलाई विलय गराएको हो। हैदराबाद आक्रमणका लागि नेपालले पहिलोपटक स्वतन्त्र भारतलाई १० बटालियन सैन्य सहायता उपलब्ध गराएको थियो। जसको नेतृत्व तत्कालीन प्रधानमन्त्री मोहनशमशेरका छोरा मेजर जनरल शारदाशमशेर जबराले गरेका थिए। भारत गएका नेपाली सेना हैदराबाद आक्रमणमा प्रत्यक्ष सहभागी भएनन्। नेपाली सेनाले भारतीय सेना तैनाथ अन्य सुरक्षा मोर्चा सम्हाले। नेपालीले मोर्चा सम्हालेपछि त्यहाँबाट भारतीय सेना हैदराबादतर्फ गएका थिए।
राणा सरकारलाई अनशनमा बसेका साधुको ज्यान जाला कि भन्ने पिरलोले सताएछ। धर्म र शास्त्रलाई अनुशरण गर्ने शासकका लागि कुनै साधुको प्राण आहूति पक्कै पनि चिन्ताको विषय थियो। ती साधुले आफू आफ्नो प्रणमा अडिग रहेको र पूरा नभएसम्म आमरण अनशन जारी राख्ने बताएछन्। उनको माग पूरा हुनै नसक्ने भन्दै अनशन तोड्न आग्रह गरिएछ। तर पछि उनले श्री ३ महाराज आफैँ उपस्थित भएर आग्रह गरे मात्र अनशन तोड्ने बताएछन्। केही दिनपछि भने उनले अनशन तोडेछन्।
अनशन तोडेपछि नेपाललाई भारतमा मिलाउने माग आफूले फेरि नदोहोर्याउने र त्यस्तो प्रणका साथ आमरण अनशनमा नबस्ने आश्वासन दिएका रहेछन्। त्यसपछि नेपाल सरकारले उनीमाथि गुप्त छानबिनसमेत अगाडि बढाएछ। तर उनी वास्तविक साधु नरहेको प्रमाणित भएछ। आमरण अनशन बस्दा प्रत्यक्ष रूपमा श्री ३ महाराजको ध्यान खिच्न सफल हुने उनको गुप्त योजना रहेछ। नेपालका शासकले प्राण जान नदिन सम्झौता गर्ने र त्यसबाट आफूले व्यक्तिगत रूपमा लाभ लिन सकिने बुझेर उनी अनशन बसेका रहेछन्।
राणाकालमा शासकहरू व्यक्तिगत रूपमा पनि निकै धनी थिए। उनीहरूले अन्य थुप्रै विदेशी व्यक्ति, संघसंस्था वा निकायलाई प्रशस्त दान, दक्षिणा सहायता दिन्थे। त्यही बुझेका ती साधुले अनशन गरी श्री ३ महाराजको ध्यान खिच्ने र त्यसपछि उनीबाट मनग्गे धन बटुलेर भारततिर टाप कस्ने योजनाले त्यस्तो गरेका रहेछन्। उल्टै आफूमाथि कारबाही हुने थाहा भएपछि नेपालबाट रातारात फरार भएछन्।