काठमाडौँ- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो।
काठमाडौँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको तीर्थयात्री बोकेको सो बस सडकबाट तल खहरेमा खसेको थियो।
घटनापछि उपचारको क्रममा ७ जनाको मकवानपुरको हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
मृत्यु हुनेमा ३ पुरुष र ४ जना महिला रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी छ । दुर्घटनामा अन्य १७ जना घाइते भएको बताइएको छ ।
चालक र सहचालक नियन्त्रणमा
बाराको चुरियामाई बस दुर्घटनापछि फरार रहेका चालक र सहचालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिइएको छ।
काठमाडौंबाट महोत्तरी जाँदै गरेको तीर्थयात्री बोकेको बस जितपुर सिमरा उपमहानगरपालिका–२२ मा दुर्घटना हुँदा ६ जना भारतीय र एकजना नेपालीको मृत्यु भएको थियो।
दुर्घटनापछि चालक र सहचालक फरार थिए।
बस दुर्घटनामा १९ जना घाइते रहेको र उनीहरूको हेटौँडालगायतका अस्पतालमा उपचार भइरहेको छ।