
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलका शीर्ष नेताहरू बालुवाटारमा बसेर संविधान विरोधी निर्णय गर्ने गरेकाले मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको बताएका छन्।
‘संविधानले एउटा अधिकार दिएको छ तर नेताहरू एकठाउँमा बस्नुहुन्छ र आफू अनुकुलका निर्णय गर्नुहुन्छ। यसरी देशलाई कहाँ पुर्याउन खोजिएको हो?’ कोइरालाले प्रश्न गरे।
कोशी प्रदेश सरकारको विश्वासको मतबारेको पनि उनले शीर्ष नेताले संविधान र अदालतमाथि बलमिच्याइँ गरेको बताए। उनले प्रश्न गर्दै भने,’अदालतले जे नगर्नु भन्यो शीर्षनेताहरू बसेर फेरि त्यही गर्नुभयो। संविधान र अदालतमाथिको यस्तो बल मिच्याइँ कहिलेसम्म?
मोरङको सुन्दरहरैंचामा आयोजित दुलारी सरोकार मञ्चको वाषिर्कोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइराला राजनीतिक दलहरुको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सद्भावसमेत विथोलिएको बताए।
कार्यक्रममा २०१५ सालदेखि हालसम्म निर्वाचित स्थानीय प्रतिनिधि तथा तीनका परिवारलाई सम्मान गरिएको थियो।