पञ्चेश्वर गाउँपालिका उपाध्यक्षको घरमा बैंक, केन्द्रबाट झण्डै ५ किलोमिटर टाढा

हिमाल प्रेस ५ भदौ २०८० २१:१२ | Tuesday, August 22, 2023
पञ्चेश्वर गाउँपालिका उपाध्यक्षको घरमा बैंक, केन्द्रबाट झण्डै ५ किलोमिटर टाढा पञ्चेश्वर गाउँपालिकाको केन्द्र नजिकै सैलोडा बजारदेखि कुलाउँ बजारसम्मकाे दुरी गुगल म्यापमा।

काठमाडौँ- बैतडीको पञ्चेश्वर गाउँपालिकामा रहेको नबिल बैंकको शाखा गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टको घरमा छ। गाउँपालिका केन्द्रबाट करिब ५ किलोमिटर टाढा उपाध्यक्ष भट्टको घरमा रहेको बैंकको शाखामार्फत सेवा लिन सबै वडाका सर्वसाधारणका लागि बराबर पायक पर्ने ठाउँ होइन।

प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको शाखा हुनैपर्ने राष्ट्र बैंकको बाध्यकारी व्यवस्थाअनुसार पञ्चेश्वरमा नबिल बैंकको शाखा स्थापना गरिएको हो। तर गाउँपालिकाले गर्ने आर्थिक क्रियाकलापका लागि पनि फाइल बोकेर करिब ५ किलोमिटर पर पुग्नुपर्छ।

कुल ६ वटा वडा रहेको गाउँपालिकाको केन्द्र वडा नम्बर ४ स्थित सैलोडामा छ। बैंक भने वडा नम्बर ३ स्थित कुलाउ बजारस्थित उपाध्यक्ष भट्टको घरमा छ। गाउँपालिका केन्द्र नजिकै सैलोडा बजारमा स्वास्थ्यचौकी, कक्षा १२ सम्म विद्यालय छ। सर्वसाधारणको दबाबपछि १० शय्याको अस्पताल निर्माणको प्रक्रिया पनि अघि बढेको छ।

गाउँपालिकाको उत्तरतिर वडा नम्बर ५ र ६ छन्। गाउँपालिकाको केन्द्र सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी निर्धारण गरिएको छ। वडा नम्बर ५ र ६ का स्थानीयले गाउँपालिकाबाट कुनै सेवा सुविधा लिँदा गाउँपालिका केन्द्र पुग्छन्।

ज्येष्ठ नागरिकले वृद्धभत्ता लिनुपर्दा सिफारिसका लागि गाउँपालिका केन्द्र पुग्छन्। त्यसपछि दक्षिणपश्चिम थप ५ किलोमिटर हिँडेर बैंकिङ काम गर्छन्। वडा नम्बर ५ र ६ बाट गाउँपालिकाको केन्द्रसम्म पायक परे पनि बैंकिङ कामका लागि थप हिँडेर कुलाउ पुग्नुपर्छ। बैंकिङ काम सकेर फेरि गाउँपालिका केन्द्र हुँदै फर्किनुपर्छ।

वडा नम्बर १, २ र ३ का सर्वसाधारणले गाउँपालिका लिने सेवाका लागि वडा नम्बर ४ पुग्नैपर्छ। त्यहाँबाट फर्किने क्रममा वडा नम्बर ३ स्थित कुलाउ बजार बैंकिङ काम गर्छन्।

बैंक गाउँपालिकाको केन्द्र नजिकै सैलोडा बजारमा भए सबैलाई पायक पर्ने त्यहाँका स्थानीय बताउँछन्। सैलोडा पिपल चौतारा नजिकै प्रहरी चौकी पनि भएकाले बैंकिङ सुरक्षा जोखिम पनि देखिँदैन। तर बैंक शाखा गाउँपालिका केन्द्र नजिकै सार्न जनप्रतिनिधिहरूले मानिरहेका छैनन्।

गत महिना वृद्धभत्ता बुझेर कुलाउस्थित बैंकबाट फर्किने क्रममा वडा नम्बर ५ का एक जना पुरुषको मृत्यु भएको थियो। सो घटनापछि पञ्चेश्वर गाउँ कार्यपालिकाको बैठकले बैंकको शाखा गाउँपालका केन्द्र नजिकै सार्ने निर्णय गरेको छ।

सो निर्णयअनुसार नबिल बैंक ‘हेडक्वार्टर’ले पनि बैंकको व्यवस्थापन सबैको पायक पर्ने ठाउँमा हुनुपर्ने भन्दै आफ्नो पञ्चेश्वर शाखालाई पत्राचार गरेको छ। तर वडा नम्बर १, २ र ३ का अध्यक्षहरूले बैंकको शाखा नसार्न दबाब दिइरहेका छन्।

उक्त वडाका अध्यक्षहरूले संयुक्त विज्ञप्ति निकालेर बैंक शाखा कुलाउमै हुनुपर्ने उल्लेख गरेका छन्। वडा नम्बर ५ का जनप्रतिनिधिले कुलाउ शाखा नसारे पनि सैलोडामा अर्को शाखा हुनुपर्ने माग गरेका छन्। तर नजिकै अर्को शाखा स्थापना गर्दा सञ्चालन खर्च नै बढी हुने भएकाले बैंकले अर्को शाखा स्थापना गर्ने सम्भावना छैन।

प्रकाशित: ५ भदौ २०८० २१:१२ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast