नानी शुक पुरस्कार बेनीका नैनकुमार श्रेष्ठलाई

हिमाल प्रेस ५ भदौ २०८० १७:२५
6
SHARES
नानी शुक पुरस्कार बेनीका नैनकुमार श्रेष्ठलाई

पोखरा- नानी शुक स्मृति प्रतिष्ठानले यस वर्षको नानी शुक स्मृति शिक्षा पुरस्कार म्याग्दीको बेनीका शिक्षाप्रेमी एवं समाजसेवी नैनकुमार श्रेष्ठलाई प्रदान गर्ने भएको छ। गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिनेलाई पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक २ वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ। पुरस्कार राशि २५ हजार ५२५ साथमा ताम्रपत्र रहेको छ।

प्रतिभा छनोटका लागि प्रतिष्ठान उपाध्यक्ष हेरम्बप्रसाद कोइराला, आजीवन सदस्य पुण्यबहादुर हिराचन, सदस्य दीर्घसिंह लालचन र संरक्षक वीरेन्द्र हिराचन रहेको चार सदस्यीय समिति गठन गरिएको प्रतिष्ठानका सहसचिव मखनलाल हिराचनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

२०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा उनको परिवारले ९ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठान अध्यक्ष तारानाथ गौतम पाखेले बताए।

यसअघि मुस्ताङका भक्ति हिराचन, कास्कीका अनन्तनाथ पौडेल, कास्कीकै पद्मराज कोइराला, तनहुँका दिव्यरमण अर्याल, बागलुङका पद्मसिं विश्वकर्मा, अर्घाखाँचीका कृष्णप्रसाद पौडेल, लमजुङका पूर्णभद्र नेउपाने र पर्वतका लोकनाथ आचार्य पुरस्कृत भइसकेका छन्।

बेनी नगरपालिका वडा ७, तेर्सागल्ली संगमचोक निवासी ८१ वर्षीय नैनकुमारले शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिएका छन्। प्रतिष्ठानले पोखरामा असोज १ गते आफ्नो वार्षिकोत्सव तथा सम्मान समारोह आयोजना गरी पुरस्कार प्रदान गर्ने प्रतिष्ठान संरक्षक वीरेन्द्रकुमार हिराचनले जानकारी दिए।

प्रकाशित: ५ भदौ २०८० १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =