काठमाडौँ- नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँचरछ घण्टा लाग्ने भएको छ।
सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
‘नारायाणघाट मुग्लिङ सडकको किमी ३१ं९०० स्थित नाम्सी पुल नजिक (मुग्लिङ तर्फ) पहिरो जादा सडक अवरुद्ध भएको छ। यो खण्ड ‘ठोरी-भरतपुर-मुग्लिङ, आँवुखैरेनी-गोरखा-घ्याम्पेसाल, आरुघाट-सिर्दिवास-रोइला भञ्ज्याङ’ राष्ट्रिय राजमार्गको एक खण्ड हो।’
मन्त्री ज्वालाले डिभिजन प्रमुखसहितको टोली हाल उक्त स्थानमा खटिइ पहिरो हटाउने प्रयासरत रहेको जानकारी दिएका छन्।
गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन्। ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरे।
उनले काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ। नारायणगढ-मुग्लिन सडकखण्ड पहिराका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ।