शिक्षकको बिदामा कडाइ, जथाभाबी नछाड्न जिम्मेवार अधिकारीलाई निर्देशन

हिमाल प्रेस ४ भदौ २०८० १७:४४ | Monday, August 21, 2023
शिक्षकको बिदामा कडाइ, जथाभाबी नछाड्न जिम्मेवार अधिकारीलाई निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरूको बिदामा कडाइ गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइबाट कतिपय शिक्षकहरू बिदा स्वीकृत नगराई लामो अवधिसम्म विद्यालयमा अनुपस्थित रहने गरेको गुनासो आएपछि केन्द्रले बिदामा कडाइ गरेको हो।

केन्द्रले सोमबार ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र सबै पालिकाहरूलाई परिपत्र गर्दै भनेको छ, ‘प्रचलित ऐनकानुनको प्रभावकारी रूपमा पालना गर्ने गराउने र कानुनविपरीतका कार्य हुन नदिने व्यवस्था गर्नु गराउनु हुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ।’

केन्द्रका अनुसार बिदामा बसेका कतिपय शिक्षकले विद्यालय र सम्बन्धित निकायले ताकेता गर्दासमेत जवाफ नदिने, सम्पर्कमा नआउने, लामो अवधिपछि राजीनामा पेस गर्ने एवं सेवासुविधा प्राप्त गर्नका लागि सिफारिस माग गर्ने गरेको पाइएको जनाएको छ।

शिक्षा ऐन २०२८ को दफा १६ ङ को उपदफा (५) मा सामुदायिक विद्यालयको शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने अवस्था, शिक्षा नियमावली २०५९ को नियम १३३ मा शिक्षकले पालन गर्नुपर्ने आचार संहिता र सोही नियमावलीको नियम १३५ देखि १४३ सम्म नियमविपरीत कार्य गर्ने शिक्षकलाई गरिने सजाय सम्बन्धी कानुनी व्यवस्थाबारे केन्द्रले स्मरण गराएको छ।

‘अख्तियार प्राप्त अधिकारीले नियमविपरीत कार्य गर्ने शिक्षकलाई प्रचलित कानुनबमोजिम कारबाही नगर्ने र कारबाही प्रक्रिया सुरु गरेपछि टुंगोमा नपुर्‍याई छाड्ने गरेका कारण विद्यालय र नेपाल सरकारलाई हुने हानिनोक्सानीका लागि सम्बन्धित अधिकारीसमेत जिम्मेवार हुने व्यहोरा समेत निर्देशानुसार अनुरोध छ’, परिपत्रमा भनिएको छ।

 

प्रकाशित: ४ भदौ २०८० १७:४४ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast