ललिता निवास प्रकरण : फरार भनिएका पूर्वमन्त्री जोशी आफैँ सीआईबी पुगे तर, बयान लिइएन

हिमाल प्रेस ४ भदौ २०८० १५:२४
24
SHARES
ललिता निवास प्रकरण : फरार भनिएका पूर्वमन्त्री जोशी आफैँ सीआईबी पुगे तर, बयान लिइएन तस्बिर चन्द्रदेव जोशीकै फेसबुकबाट

काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको अभियोग लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी आज बयान दिन भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)पुगे पनि उनको बयान भएन।

साउन २१ गते सर्वोच्च अदालतको आदेशपछि पक्राउ पुर्जी जारी भएर फरार सूचीमा रहेका जोशी आफैँ आज सोमबार सीआईबी कार्यालयमा बयानका लागि पनि बयान नलिई फर्काइयो।

सीआईबीले पहिलोपटक बयानका लागि आफूलाई बोलाएको तर अहिले बयान नलिई फिर्ता पठाएको जोशीले बताए। उनी दिउँसो १:१५ बजे महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेका थिए। ‘आज म सीआआईबी कार्यालय पुगेको थिएँ। तर बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो। भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ। म फरार छैन’ उनले भनेका छन्।

साउन २१ गतेको आइतबार सर्वोच्च अदालतको आदेशसँगै जोशीसहित तीन पूर्व भूमिसुधारमन्त्रीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि उनले आफू फरार नरहेको घरमै भएको जानकारी दिएका थिए।

‘म त घर मा नै छु। मेरो फोन सम्पर्क पनि चालु छ। सहयोग गर्न तयार भएर बसेको छु। परेको बेहोर्न पनि तयार छु। जीवनभर राजनीति गरेँ। देशका लागि त्याग मात्रै गरेको छु। कहिले कुनै स्वार्थमा परेको छैन। दुःख लागेको छ’ उनले पक्राउ पुर्जी जारी भएपछि भनेका थिए।

सर्वोच्चको आदेशलगत्तै तत्कालीन विभागीयमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसैगरी राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पनि अदालतले पक्राउ गर्न अनुमति दिएको थियो।

पक्राउ पुर्जी जारी भएर पनि सीआईबीले यी चार मन्त्रीलाई पक्राउ नगरी मुद्दाको फाइल सरकारी वकिलकहाँ लगेको छ। आफूसहितका मन्त्रीहरू फरार रहेको समाचार आउन थालेपछि पूर्वमन्त्री जोशीले आफू काठमाडौँको नयाँबानेश्वरस्थित घरमै रहेको र राज्यलाई सघाउने जानकारी दिएका हुन्।

यही प्रकरणमा सीआईबीले आज पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईसँग भने उनीहरूकै निवास पुगेर बयान लिएको छ। नेपाल र भट्टराईसँग सीआईबीको टोलीले ठाडो कागज मात्र गरेको हो।

आज बिहान पूर्वप्रधानमन्त्रीसँग बयान लिनेक्रममा सरकारी वकिल सीआईबीको टोलीसँगै थिएनन्। यस्ता बयान लिँदा वकिल अनिवार्य हुनपर्ने हुन्छ। नेपाल र भट्टराईसँग ललिता निवास प्रकरणबारे सोधपुछ गर्न सीआईबीका अधिकृतहरूमात्रै पुगेका थिए।

पूर्वमन्त्री जोशीले भने : मैले मन्त्री पद छाडेपछि ललिता निवासबारे केके निर्णय भए मलाई थाहा छैन

प्रकाशित: ४ भदौ २०८० १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast