तीनपाटन गाउँपालिकाले सुरु गर्‍यो ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम

दलित समुदायभित्रका बुहारीले निशुल्क पढ्न पाउने

हिमाल प्रेस ३ भदौ २०८० १५:२३
176
SHARES
तीनपाटन गाउँपालिकाले सुरु गर्‍यो ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम

कठमाडौँ– सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका बुहारीहरूलाई नि:शुल्क पढाउने कार्यक्रम सुरु गर्ने भएको छ। उक्त समुदायका महिलाहरूको पनि उच्च शिक्षामा पहुँच होस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ।

आइतबार सूचना जारी गर्दै गाउँपालिकाले तीनपाटन गाउँपालिका क्षेत्रभित्रका सरकारी/सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका र
गर्न चाहने बुहारीहरूलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क गाउँपालिकाले नै बेहोर्ने जानकारी दिएको छ।

‘बुहारीहरूलाई स्नातक वा सोभन्दा माथिल्लो तह अध्ययनका लागि क्याम्पसमा लाग्ने भर्ना शुल्कलगायत खर्च गाउँपालिकाबाट बेहोर्ने गरी ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ नामक कार्यक्रम सञ्चालनमा ल्याइएको छ’ सूचनामा उल्लेख छ।

कार्यक्रमबाट लाभ लिनका लागि बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी/छोरीलाई स्नातक/स्नातकोत्तर तहको कुनै पनि वर्ष वा सेमेष्टरमा भर्ना गर्न स्वयंले क्याम्पसमा लैजानुपर्ने व्यवस्था गरिएको छ।

साथै महिला अभिभावक परिवारमा नभएमा नजिकको परिवारभित्रका अन्य महिला नातेदारले पनि छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजान सक्ने व्यवस्था गरिएको छ।

लाभ लिनको लागि पुर्‍याउनुपर्ने विधिबारे थप उल्लेख गर्दै सूचनामा भनिएको छ, ‘अभिभावकसमेत नभएमा सम्बन्धित वडाको महिला वडा सदस्यले माथि उल्लेख भएको कार्यक्रमबाट लाभ पाउने छोरी वा बुहारीलाई स्नातक/स्नातोत्तर तह अध्ययनका लागि क्याम्पसमा भर्ना गर्न लैजानुपर्नेछ।’

त्यस्तै क्याम्पसले पनि माथि उल्लेख भए बमोजिमको प्रकृया पुरा गरी भर्ना हुन आउने दलित समुदायभित्रका छोरी/बुहारीलाई भर्ना गर्ने व्यवस्था मिलाउने र अभिलेख प्रयोजनका लागि भर्ना हुँदाको समयकोफोटो अनिवार्य खिच्न गाउँपालिकाले निर्देशन दिएको छ।

यस्तो छ सूचना 

प्रकाशित: ३ भदौ २०८० १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =