उपेन्द्र र अशोकलाई अनुकूल हुने गरी जसपाको विधान संशोधन

हिमाल प्रेस २ भदौ २०८० ७:५५
4
SHARES
उपेन्द्र र अशोकलाई अनुकूल हुने गरी जसपाको विधान संशोधन

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा) नेपालले पार्टीको विधानबाट उमेर हदको प्रावधान हटाएको छ। विधान अधिवेशनबाट जसपाले पार्टी केन्द्रीय सदस्यको उमेर हद ७० तय गरेको थियो। विधानको धारा ८६ को उपधारा (१) मा ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिको पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउने छैन भन्ने उल्लेख थियो ।

साउन २५ गते निर्वाचन आयोगले अभिलेखन गरिएपछि कार्यान्वयनमा आएको सो विधानमा धारा ८६ को उपधारा (१) लाई हटाइएको छ। विधानमा यसअघि राखिएको कार्यकाललाई कायमै राखिएको छ।

धारा ८६ मा पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश, राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरिसकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन पाउने छैन भन्ने उल्लेख छ।

उमेर हद कायम रहेको भए पार्टीका अध्यक्ष उपेन्द्र यादव सात वर्षपछि पार्टीबाट अवकाश लिनुपर्ने थियो। अध्यक्ष यादव ६३ वर्षका छन्। विधानमा ७० वर्षपछि पार्टीको केन्द्रीय समितिका लागि योग्य नहुने प्रस्ताव गरिएको थियो।

त्यस्तै, उमेर हद कायम रहेको भए पार्टी संघीय परिषद्का अध्यक्ष अशोक राईले चार वर्षपछि पार्टीबाट अवकाश लिनुपर्ने हुन्थ्यो। शिक्षामन्त्रीसमेत रहेका अध्यक्ष राई ६६ वर्षका भए। उमेर हदको प्रावधान कायम रहेको भए पार्टीका शीर्ष नेताहरुले अवकाश लिनुपर्ने अवस्था आउने देखिएकाले त्यसलाई हटाएको जसपामा एक नेताले जानकारी दिए।

उमेर हद राख्दा युवा उत्साहित भएका थिए। तीन दिनसम्म चलेको विधान अधिवेशनमा ७० वर्षे उमेर हदबारेमा व्यापक छलफल भएको थियो। छलफलमा अधिकांशले उमेर हदलाई समर्थन गरेका थिए भने केहीले यसको विपक्षमा धारणा राखेका थिए।

अधिवेशनमा उठेका विषयहरुलाई समेटेर विधानलाई अन्तिम रुप दिन जसपाका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय एक समिति गठन भएको थियो।  समितिले अधिवेशनमा उठेका विषयवस्तुलाई समावेश गरी अन्तिम रुप दिएर प्रमाणीकरणसहित आयोग पठाएको थियो। आयोगले स्वीकृत गरेपछि नयाँ विधान कार्यान्वयनमा आएको छ।

प्रकाशित: २ भदौ २०८० ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast