विद्यालय शिक्षा विधेयक : शिक्षक/कर्मचारीका माग सम्बोधन गर्ने महामन्त्री थापाको प्रतिबद्धता

हिमाल प्रेस ३२ साउन २०८० १८:१६ | Thursday, August 17, 2023
विद्यालय शिक्षा विधेयक : शिक्षक/कर्मचारीका माग सम्बोधन गर्ने महामन्त्री थापाको प्रतिबद्धता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग बिहीबार सानेपामा भेट गर्दै नेपाल शिक्षक संघका पदाधिकारीहरू।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा शिक्षक-कर्मचारीले उठाएका मागमा पार्टी सकारात्मक रहेको बताएका छन्। नेपाल शिक्षक संघका संघीय कार्यसमितिका पदाधिकारीसँग बिहीबार सानेपामा भएको भेटमा थापाले शिक्षक-कर्मचारीले अघि सारेका विषयलाई पार्टीले सकेसम्म पूरा गर्ने प्रतिबद्धता जनाएका हुन्।

‘तपाईँहरूका जायज मागप्रति पार्टी गम्भीर छ। यस विषयमा हामी गहन रूपमा छलफल गरेर मात्रै अघि बढ्नेछौँ’, थापालाई उधृत गर्दै संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले भने। यस्तै थापाले पार्टीले शिक्षक/कर्मचारीलगायत सरोकारवालासँग रायसुझाव लिएर मात्रै विधेयक अघि बढाउने बताएका छन्।

थापाले भनेका छन्, ‘तपाईँहरूका माग र मुद्दामा नेपाली कांग्रेस पार्टी र व्यक्तिगत हिसाबले सकारात्मक सहयोग हुनेछ। साथै आवश्यकताअनुसार निरन्तर संवादमा रहनेछौँ।’

थापालाई भेट्न अध्यक्ष गिरीसहितको टोली पार्टी कार्यालय सानेपामा पुगेको थियो। गिरीले प्रस्तावित शिक्षा ऐन प्रतिगामी, अव्यावहारिक, अवैज्ञानिक भएको विषयमा संघले स्पष्ट धारणा राखेको जानकारी दिए। साथै संघले विधेयकमा अहिले राखिएका मस्यौदाअनुसार अघि बढेमा थप समस्या बल्झाउने भएकाले त्यसमा सरोकारवालासमेतको धारणा समेट्न निरन्तर दबाब दिँदै आएको छ।

गिरीले भने, ‘जसरी पनि संघीय शिक्षा ऐन ल्याउने हो। त्यो अहिलेको एक्काईसौँ शताब्दी सुहाउँदो र नेपालले अन्तर्राष्ट्रिय जगत्‌मा पनि प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा सघाउ पुग्ने खालको हुनेछ।’ मस्यौदामा रहेका प्रावधानप्रति असहमति जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन जारी राखेको छ। यस क्रममा पालिका, जिल्ला शिक्षा समन्वय एकाइ र प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना र विगतमा सरकारसँग भएको सहमतिको छायाप्रति बुझाउने काम भइसकेको छ।

सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा शिक्षक-कर्मचारीको धर्ना

प्रकाशित: ३२ साउन २०८० १८:१६ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast