राजमार्ग छेवैमा छ, कलाकार युवराज लामिछानेको घर। हर्न बजाउँदै दिनभर, रातभर गाडी गुडिरहन्छन्। तर त्यस होहल्लाले उनलाई खासै फरक पार्दैन। उनी त आफ्नो काममा रमाइरहन्छन्। व्यस्त रहन्छन् अनि मग्न रहन्छन्। कलाकार लामिछानेका हतियार हुन्, कुची र चक्कु। तिनको मद्दतले उनले मूर्ति कुँद्ने गर्छन्।
सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा-८ नागढुंगास्थित घरको भुइँतलामा कलाकार लामिछानेले नागढुंगा मूर्ति उद्योग सञ्चालन गरेका छन्। उद्योगको टाँसी, टेबल, भुइँ जताततै उनको कलाकारिता देख्न सकिन्छ। २८ वर्षदेखि यसै काममा भिजेका लामिछाने भन्छन्, ‘सानैदेखि यसमै मोह बस्यो। पहिले रहर भयो, अहिले व्यवसाय।’
नागपञ्चमीका लागि धेरै अर्डर आउने गरेको उनी बताउँछन्। नागका मूर्ति बनाउन कास्कीसहित छिमेकी जिल्लाबाट अर्डर आउने गर्छ। यस वर्ष नागपञ्चमीकै लागि उनले साढे दुई सयवटा मूर्ति बनाइसकेको उनी बताउँछन्।
आम्दानी कति हुन्छ त? लामिछाने एक सय रुपैयाँको कच्चा पदार्थमा लगानीमा एक हजार रुपैयाँसम्म कमाउन सकिने बताउँछन्। त्यसबाहेक मेहनत र ज्यालाको हिसाब छुट्टै हुन्छ। ‘अहिले नागपञ्चमी सिजनमा तीन लाख रुपैयाँजति कमाइ होला,’ उनी भन्छन्, ‘नागसहित विभिन्न मूर्ति बेचेर वर्षमा पाँच लाख रुपैयाँभन्दा बढी कमाइन्छ।’
सिजनअनुसार फरकफरक कमाइ हुने उनी बताउँछन्। ‘नागपञ्चमी, श्रीकृष्णजन्माष्टमी, नवदुर्गा, वसन्त पञ्चमी, माघे संक्रान्ति, चैते दशैँमा अलि बढी आम्दानी हुन्छ,’ उनी भन्छन्, ‘नागको मूर्ति कम्तीमा एक हजारदेखि १५ हजारसम्म पर्छ।’
शिवरात्रिमा शिव-पार्वती, शिवलिंग र गणेशको पूजा हुने गर्छ, नागपञ्चमीमा नागको पूजा गरिने भएकोले मूर्तिको माग हुने उनी बताउँछन्। नागको दोष देखिएकाहरूले नागको मूर्ति किन्ने गरेको उनको अनुभव छ।
नागढुंगाको मन्दिर घरमुन्तिर छ। नागपञ्चमीको बेला मन्दिरमा पूजाआजाको लागि व्यवस्थापन हरेक वर्ष उनैलाई दिइन्छ। भगवान् शिवले प्रकृति जोगाउन आफ्नो गलामा नाग धारणा गरेको जनविश्वास छ। नागपञ्चमीको महत्त्वबारे थप प्रकाश पार्दै उनी भन्छन्, ‘माघे संक्रान्तिपछि दुलोबाट बाहिर निस्कने नाग (सर्प) नागपञ्चमीपछि भित्र पस्छन्। सर्प भित्र पसेपछि बाढी पहिरो तथा विपत्ति नहुने मान्यता छ।’
विद्यार्थी जीवनदेखि कलाकारिताप्रति आकर्षित थिए, लामिछाने। ‘माध्यमिक तहमा त्यसबेला पूर्व व्यावसायिक शिक्षा विषय पढ्नुपथ्र्यो,’ उनी सुनाउँछन्, ‘सरहरूले माटोको मद्दतमा सुन्तला, केरालगायत बनाएर ल्याउन भन्नुहुन्थ्यो। त्यसमा प्रायः म पहिलो नै हुन्थेँ।’
त्यसो त उनको घरनजिकै तत्कालीन क्रिस्टल होटल (हाल गण्डकी मेडिकल कलेजको भवन) मा आउनेहरूलाई आकर्षित गर्न कलाकारहरूले ग्यालरी नै खडा गरेका थिए। त्यसबेला कलाकार दुर्गा बराल (वात्स्यायान), बुद्धि गुरुङ, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, महेन्द्रराज भण्डारी, राजदूत जोशी, गोपाल कायस्थ, डिराम पाल्पालीले चित्र कोर्थे। अग्रजले गरेको देखेर उनी पनि कलातिर आकर्षित भए। त्यसमाथि चित्रका लागि विदेशी पर्यटकले एक हजारसम्म दिँदा उनी पनि चित्र बनाउन हौसिए। उनका चित्र तीन सय रुपैयाँमा बिक्न थाले। त्यस काममा आकर्षण झनै बढ्यो। एक्रेलिक, बाटर कलरका पोर्टेट, दृश्यचित्र, कम्पोजिसन चित्र कोर्दै गए।
झण्डै तीन दशकको साधनामा उनले हजारौँ चित्र कोरिसकेका छन्। हालसम्म छ हजार त नागका मूर्तिमात्र बनाइसकेको उनी बताउँछन्। सिमेन्ट र बालुवाको मसला बनाइसकेपछि छड राखेर ज्याभेल र नाइफ (चक्कु)को मद्दतले नागको मूर्ति बनाउन सकिँदो रहेछ। एकै पटकमा १५ वटासम्म नागका मूर्ति बनाउन सुरु गर्ने उनले सबै काम तीन दिनमा सकिसक्छन्। ‘धातु, फाइबरबाट मूर्ति बनाउन पनि फरक खालको कला चाहिन्छ,’ उनी भन्छन्।
करिब १५ वर्षअघि मुस्ताङको लोमान्थाङमा एकल चित्रकला प्रदर्शनी पनि गरेका थिए। लामिछानेले विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका छन्। युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत जिल्ला युवा समितिको कार्यालय कास्कीले केही वर्षअघि विभिन्न तीन विधामा उनलाई स्रष्टा सम्मान गरेको थियो। उनी कलासंस्कृति विधामा पुरस्कृत भएका थिए।
उनले बनाएको सबैभन्दा ठूलो मूर्ति ३० फिटसम्मको छ। पाँच वर्षअघि उनलाई देवघाटधाम प्रतिष्ठानले अष्टधातुबाट निर्मित शिवको ३० फिट अग्लो मूर्ति बनाउन अर्डर दियो। त्यसका लागि उनले सहयोगी राखेर साढे दुई वर्षसम्म अनवरत देवघाट बसेरै मूर्ति बनाए। निर्माण भइरहेको मूर्तिको अहिलेसम्म ७० प्रतिशत काम पूरा भएको छ।
लामिछानेलाई गणेशको मूर्ति बनाउन सजिलो लाग्छ। गणेशसहित शिव, पार्वती, बुद्ध, नागका मूर्ति बढी बनाउँछन्। सालिक पनि बनाउने गरेका छन्। सिमेन्ट, धातु, फाइबरमा उनको कला पोतिने गर्दछ।
स्वदेशमै बसेर कलाकारितामा रम्न पाउँदा उनी असाध्यै खुसी छन्। ‘फाइन आर्ट पढिरहेको मेरो छोरा क्यानडा जाने तरखर गर्दैछ,’ उनी भन्छन्, ‘घर छोडेर गएपछि त्यहाँ कमाउने भनेको बढीमा दुईतीन लाख न हो। गर्न सक्यो भने त त्यति यहीँ नै कमाउन सकिन्छ।’
२०३५ सालमा जन्मिएका लामिछानेले पोखराको जनप्रिय माध्यमिक विद्यालयबाट एसएलसी गरे। त्यसपछि फाइन आर्ट काठमाडौँबाट पढ्न उनले फारम भरे तर बुझाएनन्। पृथ्वीनारायण क्याम्पसमै भर्ना भए।
बीबीएससम्म पढेका उनी आफ्नै परिवारका सदस्यसँग रमाउँदै निरन्तर साधनामा रहिरहे। २०६६ सालमा नागढुंगा मूर्ति उद्योग दर्ता गरे। काममा श्रीमती अम्बिकाले सघाउँछिन्। कान्छो छोरा आविष्कार पनि बेलाबखत कुची समाउन रहर गर्छ। लामिछाने परिवारको लागि कलाकारिता आम्दानीको गतिलो स्रोत बनेको छ।
युवराजका दाजु पत्रकार विनोद लामिछाने पनि भाइको मेहनतको प्रशंसा गर्छन्। भन्छन्, ‘भाइका सहकर्मी कति विदेश गए, कति फिल्मतिर लागे। तर भाइ गएन। स्वदेशमै रहेर यही कामलाई निरन्तरता दिइरहे अनि सफल बने। पहिले फुटकर बेच्ने गरेकोमा अहिले होलसेल बेच्छन्।’
‘राइजिङ स्टार’ र ‘नेसनल क्रिएसन’का विद्यार्थीलाई सातामा एकपटक चित्रकला सिकाउने गर्छन्।
बुबा गुरुदत्त र आमा मनमायाले नागढुंगा फर्निचर उद्योग चलाएका थिए। पोखरा-काठमाडौँ तथा सुनौली चल्ने बस थियो। मालबाहक ट्रक चल्थ्यो। जग्गाजमिन पर्याप्त थियो। तर यी कुराले उनलाई लोभ्याउन सकेनन्। उनी कुचीमै रमाए। ‘यो मेरो प्यासन हो,’ उनी भन्छन्, ‘जीवनभर यसमै लाग्नेछु।’