काठमाडौँ- स्वच्छ हावालाई दिगो विकासका लक्ष्यमा समेट्नुपर्नेमा जोड दिइएको छ। वातावरण सार्वजनिक स्वास्थ्य संगठन (इन्फो)द्वारा आज (बुधबार) आयोजित ‘दिगो विकास योजना र स्वच्छ हावा’ कार्यक्रमका वक्ताहरूले दिगो विकासका लक्ष्यभित्र स्वच्छ हावा नरहे पनि सबै लक्ष्यसँग प्रत्यक्ष र परोक्षरूपमा प्रभाव पार्ने हुँदा यसलाई पनि विकासको लक्ष्यका रुपमा समेट्नुपर्ने बताए।
कार्यक्रममा इन्फोका निर्देशक राजेन्द्र श्रेष्ठले मानवीय क्रियाकलापबाट हुने वातावरण प्रदूषण न्यूनीकरणमा व्यक्तिगत जिम्मेवारी सुदृढ गर्न आवश्यक रहेको बताए। प्रत्यक्ष प्रभावित समूहसँग प्रत्यक्ष संवाद गर्न अमेरिकी विकास सहयोग नियोग (यूएसएआईडी) स्वच्छ हावा आयोजना महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
यूएसएआईडी-स्वच्छ हावा आयोजनामा आबद्ध भूषण तुलाधरले दिगो विकास लक्ष्य र वायु प्रदूषण सम्बन्ध प्रगति, कार्यदिशा, नेपालमा मृत्युको प्रमुख कारण वायु प्रदूषण, बालबालिका स्वस्थ र शिशुमा वायु प्रदूषणको असर, काठमाडौँको वायु प्रदूषणमा देखिने दैनिक र मासिक परिवर्तन, दिगो विकास लक्ष्यका पाँच स्तम्भ, घरभित्रको वायु प्रदूषण र समाधानलगायतका विषयवस्तु कार्यपत्रमा उल्लेख गरे। घरभित्रको वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राखेर अभियान नै चलाउन आवश्यक रहेको उनको भनाइ छ।
दिगो विकास राष्ट्रिय सञ्जालका कार्यकारी निर्देशक दयासागर श्रेष्ठले दिगो विकासको लक्ष्य हासिल गर्न स्थानीय तहको सक्रियता सुदृढ बनाउन जरुरी रहेको बताए। निर्देशक श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै दक्षिण एसियामा दिगो विकास कार्यान्वयनको स्थिति, दिगो विकासको नागरिक समाज समीक्षाको प्रक्रियामा रहेको जानकारी गराए।
कार्यक्रममा नागरिक समाजका अभियन्ता भोला भट्टराईले वायु गुणस्तर सुशासनका लागि समुदायको अंकपत्र, सेवा प्रवाहमा नागरिक अनुगमन र मूल्यांकनलगायत विषयवस्तु कार्यपत्रमा उल्लेख गर्दै नागरिक समाजलगायत आमन्त्रित व्यक्तिसँग दिगो विकास सम्बन्धमा बनेका नीति, सोका संघ, प्रदेश, स्थानीय तहमा भएको कार्यान्वयनको अवस्था, नागरिक समाज, जनसहभागिता, पारदर्शिता, जवाफदेहितालगायत विषयसम्बन्धमा अंक संकलन गरेका थिए।