
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हिमाल आरोहीहरूको सुरक्षा र संरक्षणका लागि कानुनी पाटो मिलाउने काम गरिरहेको बताएका छन्। केटु हिमाल आरोहण गरेर फर्कीएका संखुवासभाका एकै परिवारका चारजना कीर्तिमानी दाजुभाइलाई सम्मान गर्दै उनले सरकारले हिमाल आरोहीहरूको संरक्षणका लागि कानुनमै व्यवस्था गर्ने बताएका हुन्।
शेर्पा र हिमालको सम्बन्ध नङ र मासुको भएको भन्दै उनले नेपाललाई विश्वसामु चिनाउन शेर्पाहरूको भूमिका महत्पूर्ण रहेको पनि बताए। पर्यटन क्षेत्रमा सुधार ल्याउन पुरानो पर्यटन नीति र ऐन कानुन बाधक भएको भन्दै मन्त्री किरातीले चाँडै समयसापेक्ष ऐन ल्याउने पनि प्रतिबद्धता व्यक्त गरे। संखुवासभाले हिमाल अरोहीको जिल्ला भनेर परिचय बनाएको भन्दै मन्त्री किरातीले एकै घरका चार दाजुभाइको कीर्तिमानले नेपालको शीर उच्च बनाएको पनि बताए।
कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले पर्यटन क्षेत्रमा हिमाल अरोहणको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे। पूर्वसांसद राजेन्द्र गौतमले आरोहीको संरक्षण र सुरक्षा हुन नसक्दा धेरै अरोहीहरू बिदेश पलायन हुन बाध्य भएको भन्दै चिन्ता व्यक्त गरे।
कोशी प्रदेशका सांसद राजेन्द्र कार्कीले कोशी प्रदेशलाई ‘पर्यटन हब’को रुपमा विकास गर्नुपर्ने बताए। पर्वतारोही मिङ्मा शेर्पाले आर्थिक क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रलाई सरकारले चिन्न नसकेको गुनासो गरे।
कार्यक्रममा पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गर्ने मुक्तु शेर्पा, आङदावा शेर्पा, निग्मा दोर्ची शेर्पा र पिच्युम्बी शेर्पालाई पर्यटन मन्त्री किरातीले सम्मान गरे। कार्यक्रम संखुवासभा-काठमाडौँ पत्रकार समाजले गरेको हो।