लुम्बिनी- गत साता कपिलवस्तु मायादेवी गाउँपालिका-३, खैराटीका सुनिल बरईका २ वर्षीय छोरा सूर्यलाई सर्पले डस्यो। आफ्नै घरको आँगनमा खेलिरहेका बेला सर्पले डसेपछि उनलाई उपचारका लागि सर्पदंश अस्पताल गोरुसिंगे पुर्याइयो। तर त्यहाँ उपचार सम्भव नभएपछि कपिलवस्तु अस्पताल तौलिहवा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भयो।
असार २५ गते कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुईसहित चार जना जनाको मृत्यु भयो। भुइँमा सुतेका बेला बुद्धभूमि नगरपालिका–१, कपासीमा १२ वर्षीय दीपक भुसाल र ९ वर्षीय प्रदीप भुसालको सर्पले डसेर मृत्यु भयो। त्यस्तै गोमन सर्पको डसाइबाट महाराजगञ्ज नगरपालिकाकी ३१ वर्षीया अनिता यादव र बुद्धभूमि नगरपालिका–१० हरदास डिहवाकी १४ वर्षीया ममता चमारको पनि मृत्यु भयो।
कपिलवस्तुमा मात्रै पछिल्लो एक महिनाको अवधिमा सर्पले डसेर अकालमा ज्यान गुमाएका उदाहरण हुन् यी । समयमा उपचार नपाउनु र उपचारका लागि अस्पताल पुगे पनि प्रभावकारी उपचार नहुनुनै मृत्युका कारण हुन्।
वर्षायाम सुरु भएसँगै लुम्बिनी प्रदेशसहित तराईका जिल्लामा सर्पदंशका कारण अकालमा मानिसहरूले मृत्युवरण गर्नुपरेको छ।
कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया र नवलपरासीमा सर्पको बिगबिगी नै छ। पहाडी जिल्लासमेत विषालु सर्पको डसाइका घटनाहरू आउने गरेका छन्।
लुम्बिनी प्रदेशमा गएको एक वर्षमा सर्पदंशबाट ३० जनाको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो संख्यामा कतिपय तथ्यांकहरू पुनःपुष्टि भइरहेकाले थपघट हुन सक्छ। तर प्रदेश प्रहरी कार्यालय लुम्बिनीको तथ्यांकमा भने आर्थिक वर्ष ०७९/८० मा सर्पदंशका कारण १८ जनाको मृत्यु भएको देखिन्छ।
साउन यता मात्रै लुम्बिनी प्रदेशमा ६ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा देखिएको छ। साउन सुरु भएपछि दाङमा ४ र कपिलवस्तुमा २ जना गरी ६ जनाको सर्पदंशका कारण मृत्यु भएको छ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशमा २ हजार ४७७ वटा सर्पदंशका घटना भएका छन्।
यसमध्ये १२ वटै जिल्लामा गरी ४५६ जनालाई विषालु सर्पले डसेको हो। त्यस्तै बाँकी २ हजार २१ जनालाई कम विषालु सर्पले डसेको स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत डोरबहादुर बस्नेतले जानकारी दिए।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र पाल्पामा सर्पको डसाइ उच्च छ। रुपन्देहीमा एक हजार ६०७, दाङमा ३४२, नवलपरासी (पूर्व) २३३, बर्दियामा ५०, कपिलवस्तुमा २० र बाँकेमा ८ जनालाई सर्पले डसेको छ।
यस्तै पहाडी जिल्लामा पनि सर्पदंश वृद्धि भएको देखिन्छ। निर्देशनालयका अनुसार लुम्बिनीको पहाडी जिल्ला रोल्पामा ७७ लाई गत वर्ष सर्पले डसेको थियो। यसैगरी पाल्पामा ६३, गुल्मीमा ४३, अर्घाखाँचीमा ११, प्युठानमा १७ र रुकुम पश्चिम ६ जनालाई सर्पले डसेको निर्देशनालयले जनाएको छ।
लुम्बिनी प्रादेशिक अस्ताल बुटवलमा एक वर्षको अवधिमा सर्पदंशबाट ११ जनाको मृत्यु भएको थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले वर्षायाम लागेसँगै सर्पका बिरामीहरू वृद्धि हुने गरेको बताए।
‘पानी पर्न थालेपछि सर्पको डसाइका घटनाहरू पनि सुरु हुन्छ, यहाँ निकै गम्भीर बिरामीहरू आउनुहुन्छ,’ डा. थापाले भने, ‘कतिपयलाई इमर्जेन्सी (आपत्कालीन) कक्षबाटै निको भइरहेको छ भने कतिपयलाई आईसीयूमा राख्ने गरेका छौँ।’
फिजिसियन चिकित्सकसमेत रहेका डा. थापाले तराईमा सर्पले डस्ने बित्तिकै तुरुन्त उपचार नपाए बिरामीको मृत्यु हुने भएकाले सचेत हुनुपर्ने बताए। धेरैजसोले सर्पले डसेको थाहा नपाउने, थाहा पाए पनि धामीझाँक्रीमा जाने प्रचलनले पनि मृत्यु हुने गरेको उनको भनाइ छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गत वर्ष मृत्यु भएका ११ मध्ये चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो। बाँकी सात जनालाई ढिलो गरी अस्पताल ल्याउँदा बचाउन नसकिएको चिकित्सकहरू बताउँछन्।
कपिलवस्तुको गोरुसिंगेमा सञ्चालित सर्पदंश उपचार केन्द्रमा बर्खा लागेसँगै सर्पदंशका बिरामीको भीड लाग्छ। २०६० सालमा नेपाली सेनाले सञ्चालनमा ल्याएको यो उपचार केन्द्रमा एक वर्षमा ९ सय १२ जनाको उपचार भएको छ।
सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले पानी पर्न थालेपछि सर्पको डसाइका बिरामीहरू बढ्ने बताए। उनका अनुसार तराईमा विषालु सर्पले डस्ने भएकाले समयमा उपचार नपाए बिरामीको मृत्यु हुन्छ। यहाँ एक वर्षको अवधिमा उपचारमा आएकामध्ये ११ जनाको मृत्यु भएको उनले बताए। ९१२ जनामध्ये १६९ जनालाई विषालु सर्पले डसेको थियो। त्यसमध्ये पनि ६४ जना गम्भीर भएको भण्डारीको भनाइ छ।
पहिले धामीझाँक्री, गम्भीर भएपछि अस्पताल
सर्पले डसेमा बिरामी अस्पताल नगएर झारफुक गर्ने प्रवृत्ति समाजमा अझै छ, जसकारण सर्पदंशका बिरामीहरूको मृत्यु हुने गरेको छ।
गाउँघरतिर सर्पले डसेपछि अस्पताल पुर्याउनुको साटो झारफुक गर्न धामीझाँक्री खोज्ने चलन अझै हट्न सकेको छैन। करिब ५ देखि १० प्रतिशत बिरामी पहिला धामीझाँक्रीकोमा र त्यसपछि अन्तिम स्थितिमा मात्रै उपचारका लागि अस्पताल आउने गरेको चिकित्सकहरू बताउँछन्।
सर्पले डस्नेबित्तिकै उपचारका लागि अस्पताल आउने हो भने अकालको मृत्यु रोकिने चिकित्सकहरूको भनाइ छ। ‘कतिपयले सर्पले डसेकै थाहा पाउँदैनन्,’ भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डाक्टर संकेतकुमार रिसाल भन्छन्, ‘सर्पदंशका बिरामीलाई तुरुन्तै उपचार गरेमा मृत्यु रोक्न सकिन्छ।’
उनले भेरी अस्पतालमा पनि दैनिक रूपमा सर्पदशंका बिरामीहरू आउने गरेको बताए। बर्खामा पानी परेपछि ओत खोज्दै सर्प घरभित्र आउने भएकाले सचेत हुनुपर्ने उनले बताए।
सर्पले डसेपछि डसेको भागमा रबर तथा डोरीले रगत सञ्चालन नै नहुने किसिमले धेरै दिनसम्म बाँधिराख्ने र लामो समयसम्म उपचार नगरी बस्ने गरेका कारण कतिपय अंगभंग नै हुने गरेको उनको भनाइ छ।
उनका अनुसार रक्तनलीलाई धेरै बाधा नपुर्याई सामान्य पट्टी बाँधेर बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्छ। नेपालमा हालसम्म पाइएका ८९ प्रजातिका सर्पमध्ये २१ प्रजातिका सर्प विषालु छन्।
सर्पविद् कमल देवकोटाका अनुसार सर्पले आहारका लागि मानिसलाई डस्दैन। सर्पले आफ्नो सुरक्षा गर्न खोज्दा मानिसलाई डस्ने उनी बताउँछ्न।
उनले सर्पको डसाइबाट बच्नका लागि विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताए। सर्पदंशका कारण मानवीय पीडा भए पनि यो मानव जीवनका लागि निकै उपयोगी रहेकाले मार्न न्दा पनि यसको संरक्षण गर्नुपर्ने देवकोटाको भनाइ छ।
नाम मात्रका उपचार केन्द्र
लुम्बिनी प्रदेशमा मुख्य गरी तराईका जिल्लाहरूमा सर्पको बिगबिगी छ। सर्पदंशको जोखिम भएकैले यहाँ सर्पदंश उपचार केन्द्रहरू पनि सञ्चालित छन्। तर यहाँका सर्पदशं उपचार केन्द्र नाम मात्रका छन्।
नवलपरासी (पश्चिम) सुनवल–११, जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालित सर्पदंश उपचार केन्द्र बन्द छ। केन्द्रको २०७५ फागुन २७ गते तत्कालीन नगर प्रमुख भीमबहादुर थापा ‘भरत’ले उद्घाटन गरेका थिए।
२०७५ फागुन २७ गतेदेखि सञ्चालनमा आएको उपचार केन्द्रले २०७५ सालमा तीन जना, २०७६/०७७ मा २२ जना, ०७७/०७८ मा ७२ जना, ०७८/०७९ मा ५८ जना र २०७९ माघसम्म ५९ जना सर्पदंशका बिरामीलाई उपचार गरेको थियो। तर अहिले भने उपचार केन्द्र बन्द रहेको केन्द्रका डाक्टर हिमशैल खड्काले बताए। भौतिक संरचना, दक्ष जनशक्ति र औषधिको अभावको कारण हाल उपचार केन्द्र बन्द छ।
उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर नभएको तथा बिरामीलाई जुनसुकै बेला आईसीयू र भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले उपकरणबिना उपचार गर्न सम्भव नभएको उनको भनाइ छ।
लुम्बिनीमा नेपाली सेनाले सर्पदंशको उपचारका लागि चार वटा केन्द्रमा नेतृत्व गरेको छ। कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको सालझण्डी, दाङको गढवा र बर्दियाको ठाकुरबाबामा सेनाले यसको काम थाले पनि यीमध्ये गोरुसिंगे र गढवा केन्द्रले मात्र नियमित सेवा दिएका छन्।
रुपन्देहीको सालझण्डी केन्द्र र ठाकुरबाबा केन्द्रले कार्यविधि बनाउन नसकेका कारण सञ्चालनमा आउन सकेका छैनन्। लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही, भीम अस्पताल भैरहवा रुपन्देही, त्रिवेणी सर्पदंश केन्द्र नवलपरासी, गोरुसिंगे सर्पदंश केन्द्र कपिलवस्तु, कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा, भेरी अस्पताल नेपालगन्ज बाँके, बर्दिया अस्पताल बर्दिया, राप्ती प्रादेशिक अस्पताल घोराही दाङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही सर्पदंश केन्द्र दाङ, पृथ्वीचन्द्र अस्पताल परासी, चिसापानी अस्पताल नवलपरासी, रामपुर अस्पताल पाल्पा र युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा सपर्दशंको उपचार हुँदै आएको छ।