
काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली चिकित्सक भनेर पक्राउ परेका एक जना सक्कली नै भएको खुलेको छ। सीआईबीको ‘अपरेसन चार्ली फक्स्ट्राट’अन्तर्गत पक्राउ परेका ८ जना डाक्टरमध्ये महोत्तरी पिपराका डा.रञ्जितकुमार यादव सक्कली डाक्टर भएको पाइएको हो।
नेपाल मेडिकल काउन्सिलका रजिस्टार कृष्णप्रसाद अधिकारीले नक्कली भनिएका चिकित्सक र सक्कली चिकित्सकको नाम मिल्दा उनी पक्राउ परेको जानकारी आएको बताए।
‘अनुसन्धानको क्रममा प्रहरीले विभिन्न विवरणहरू काउन्सिलसँग माग्यो। काउन्सिलले दिएको विवरण र पक्राउ परेको व्यक्तिले भनेको विवरण मिलेपछि वास्तविक नक्कली व्यक्ति हो कि होइन भन्ने कुरा आएछ,’ अधिकारीले हिमालप्रेससँग भने, ‘मैले सीआईबीलाई अहिले पक्राउ पर्नु भएका डा. रञ्जितकुमार यादव सक्कली डाक्टर नै भएको व्यहोराको पत्र पठाएको छु। सायद आज नै उहाँ सीआईबीको हिरासतबाट निस्कनुहुन्छ।’
उता सीआईबीले भने काउन्सिलले दिएको विवरणकै आधारमा यादवलाई पक्राउ गरेको बताएको थियो। यही प्रकरणमा नेपाली कांग्रेसका सांसदसमेत रहेका सुनिल शर्मा पनि पक्राउ परेका थिए। तर उनलाई म्याद थपका लागि अदालत लैजाँदा अदालतले म्याद थप गर्न अनुमति नदिएपछि उनी थुनामुक्त भइसकेका छन्।