पाँचाैं वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी : ‘स्रोतसाधनअनुसार लाभ हासिल गर्न सकेन’

हिमाल प्रेस २८ साउन २०८० १५:४०
4
SHARES
पाँचाैं वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी : ‘स्रोतसाधनअनुसार लाभ हासिल गर्न सकेन’

काठमाडौँ- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँचाैं वर्षमा प्रवेश गरेकाे छ। कम्पनीले तत्कालीन नेपाल खाद्य संस्थान र नेस्नल ट्रेडिङ कम्पनीलाई गाभेर सरकारले यो कम्पनी स्थापना गरेको थियो।

आइतबार उक्त कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्यान्नलगायत अत्यावश्यकीय उपभोग्य वस्तुको सहज आपूर्तिका लागि बजार निर्माताको भूमिका निर्वाह गर्नसक्ने एक सक्षम व्यावसायिक संस्थाका रूपमा स्थापित हुुनुपर्ने बताए। मुलुकको खाद्य सुरक्षा र सम्प्रभुताका लागि कम्पनीको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो। ‘खाद्य सम्प्रभुता र खाद्य सुरक्षाको प्रत्याभूत हुने गरी बजारमा खाद्य वस्तुको मूल्यवृद्धि नियन्त्रण, मूल्य स्थिरता कायम, आफ्नो सेवा र व्यापार विविधीकरण, आर्थिक अनुशासन कायम तथा नवीन व्यावसायिक कार्ययोजनाको कार्यान्वयनबाट व्यावसायिक संस्कार विकास गरी किसान, उपभोक्ता तथा ग्राहकलाई सेवा दिनेतर्फ कम्पनी केन्द्रित हुनुपर्छ,’ मन्त्री रिजालले भने।

यसका लागि कम्पनीले दीर्घकालीन व्यावसायिक योजना र वार्षिक कार्ययोजना बनाई सोहीअनुसार आफ्ना क्रियाकलापहरू सञ्चालन गर्न पनि उनले निर्देशन दिए।

कम्पनीका अध्यक्ष एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले कम्पनीसँग पर्याप्त भौतिक पूर्वाधार तथा स्रोत साधन उपलब्ध भए पनि सोअनुसार व्यावसायिक लाभ हासिल गर्न नसकेको बताए। ‘निजी क्षेत्रले सानो लगानीबाट पनि राम्रो आम्दानी गर्छन्, तर खाद्य व्यवस्था कम्पनीसँग यति धेरै जग्गा जमिन, पूर्वाधार, जनशक्ति उपलब्ध हुँदा पनि अपेक्षित नतिजा देखिन सकेको छैन,’ उनले भने, ‘रोकिएका वार्षिक लेखापरीक्षण र साधारणसभाका कामसमेत तत्काल अगाडि बढाउनुस्।’

खाद्य व्यवस्था कम्पनीले न्यूनतम खाद्य सुरक्षा कायम हुनेगरी खाद्यान्न सामग्री मौज्दात राख्न नसकेको भन्दै सचिव मरासिनीले यस वर्षका लागि आवश्यक धान चामललगायत खाद्यान्न खरिदको प्रबन्ध मिलाउन निर्देशन दिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले देशका हरेक क्षेत्रका जनतामाझ आफ्नो वस्तु तथा सेवाको पहुँच पुर्‍याउन कम्पनी प्रयत्नशील रहेको बताए। कम्पनीले स्थापनाको छोटो समयमै व्यापार विविधीकरण, रैथाने उत्पादन खरिदबिक्रीलगायत महत्वपूर्ण काम गरेको उनको भनाइ थियो।

सरकारी स्वामित्वको यस कम्पनीले दुर्गम जिल्लामा खाद्यान्न आपूर्ति गर्ने, उत्पादक किसानलाई उचित मूल्य प्रदान गर्ने, नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यमा कृषि उपज खरिद गर्नेलगायत गर्दै आएकाे छ।

त्यस्तै सहरी क्षेत्रमासमेत मूल्य स्थिरीकरणका लागि वस्तु तथा सेवा उपलब्ध गराउने, खाद्य सुरक्षाका लागि तोकिएको परिमाणमा खाद्यवस्तु भण्डारण गर्ने र कम्पनीलाई दिगोरूपमा सक्षम बनाउन व्यावसायिक क्रियाकलाप विस्तार गर्नेलगायत जिम्मेवारी निर्वाह गर्दै आएकाे चन्दले बताए। कम्पनीले अनलाइन पोर्टलमार्फत काठमाडौँ उपत्यकामा विभिन्न खाद्यान्न सामग्रीह होम डेलिभरी पनि  गर्दै आएको छ।

प्रकाशित: २८ साउन २०८० १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast