संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरुद्ध किटानी जाहेरी

हिमाल प्रेस २७ साउन २०८० १४:५७ | Saturday, August 12, 2023
संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरुद्ध किटानी जाहेरी

काठमाडौँ- संखुवासभा कारागारमा शंकास्पद मृत्यु भएका दुईजना कैदीका आफन्तले कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्। जाहेरीमा सुरक्षाकर्मीको निर्घात कुटपिटबाट मृत्यु भएको जिकिर गरिएको छ।

जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायत अन्य सुरक्षाकर्मीविरुद्ध पीडितका आफन्तले शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दर्ता गराएका हुन्। दुवै मृतकका परिवार सदस्यलाई एड्भोकेसी फोरम–नेपालका अधिवक्ता कुमारप्रसाद थपलियाले जाहेरी दर्खास्त तयार पार्न कानुनी सहयोग गरेका छन्।

कारागारमा रहेका दुईजना कैदी संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान शंकास्पद मृत्यु भएको थियो।  मृतक कैदीको शव परीक्षण पनि शनिबारै गरिने प्रमुख जिल्ला अधिकारी शिव कार्कीले जानकारी दिएका छन्।

घटना अनुसन्धानका लागि सुरक्षामा खटिएका १० जना प्रहरी यसअघि नै पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी उपरीक्षक ऋषिराम कँडेल नेतृत्वको टोलीले बिहीबार घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। कारागारमा भएको सीसीटीभी फुटेजमा पक्राउ परेका प्रहरीले कैदीमाथि हातपात गरेको देखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ साउन २०८० १४:५७ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast