
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सबै प्रकरणमा शिक्षा विधेयकसम्बन्धी नयाँ प्रकरण थप गरेर सरकारले थप अराजक र अस्थिर बन्न खोजेको टिप्पणी गरेका छन्। उनले गोप्य रूपमा रहेको शिक्षा विधेयकको मस्यौदा संसद्मा टेबुल हुनुअगावै बाहिर ल्याएको आरोप लगाएका छन्।
उनले भनेका छन्, ‘गोप्य मस्यौदा चलिरहेको शिक्षा विधेयक हाउसमा दर्ता हुनुअगावै बाहिर यत्राविधि खलबल मच्चिनुले ‘हावा नचली पात हल्लिएन होला’ भनेर बुझ्नुपर्ने अवस्था आइपरेको छ।’ नेता श्रेष्ठले काण्डैकाण्ड र प्रकरणहरुले घेरिएको यो सरकार शिक्षा क्षेत्रलाई पनि अस्थिर र अराजक बनाएर युवा र बौद्धिक जनशक्ति पलायनलाई तीव्रता दिनमा उद्यत रहेको आरोप लगाए।
‘नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, एक क्विन्टल सुन अवैध रूपमा भन्सार वारपार गराएको प्रकरण, विश्वरभरका करोडौँ हिन्दूहरुको सर्वोच्च आस्थाको धरोहर पशुपतिनाथको सुनको जलहरी प्रकरण, लकरमा गोली लुकाउने ल्हारक्याललाई संसारभरका शान्तिकामी र बुद्धमार्गीहरूको आस्थाको केन्द्र लुम्बिनी जिम्मा लगाएको प्रकरणसँगै अब एउटा अर्को प्रकरण पनि थपिएको छ– त्यो हो शिक्षा विधेयक प्रकरण’, सामाजिक सञ्जालमा शुक्रबार श्रेष्ठले लेखेका छन्।
‘ठूला दलहरुको सिन्डिकेटले गर्दा अल्पमतको आवाजलाई ‘अरण्य रोदन’ मा परिणत गर्ने दुष्प्रयासमा सरकार तल्लीन देखिएको आरोप उनले लगाएका छन्। उनको प्रश्न छ, ‘के यही हो हाम्रो संघीय प्रजातन्त्र? के यही हो सुशासन? जनमानसले जवाफ मागिरहेका छन्!’