काठमाडौँ- नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले पार्टीका सांसद डा.सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेको प्रति आपत्ति जनाएका छन्। आज शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकमा राणाले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारले नै विदेश भगाएको आरोप पनि लगाए।
उनले भने,’पक्राउका लागि कांग्रेसका नेताहरूमाथि टार्गेट गरिएको छ। हैन भने ललिता निवास प्रकरणमा जोडिएका माधव नेपाललाई विदेश भगाउने। हाम्रा सांसद सुनिल शर्मालाई सक्किसकेको मुद्दामा पक्राउ गर्ने?
राणाले विजयकुमार गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी गरिनु, केही समयअघि बालकृष्ण खाणलाई पक्राउ गरिनु गलत भएको बताए। ‘हाम्रै पार्टी सरकारमा छ तर, केही पहिले बालकृष्ण खाणलाई पक्राउ गरियो, अहिले विजय गच्छदारलाई पक्राउ पूर्जी जारी गरिएको छ, सांसद सुनिल शर्मालाई समातियो,’ उनले भने, ‘कम्युनिष्ट नेताहरूको संलग्नताका काण्डहरू आउँदा पनि ढुक्कले अदालतको आदेश आइसक्दा पनि विदेश भ्रमणमा जान दिइएको छ।’
ललिता निवास प्रकरणमा माधवकुमार नेपालमाथि पनि छानबिन गर्न बाटो खुला भएलगत्तै उनी विदेश गएका थिए। उनी अझै स्वदेश फर्किएका छैनन्।