नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

हिमाल प्रेस २५ साउन २०८० १६:३७ | Thursday, August 10, 2023
नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

काठमाडौँ-  मेडिकल व्यवसायी तथा नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ परेका छन्। उनलाई आज बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आफ्नै निवास मण्डिखाटारबाट पक्राउ गरेको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले शर्मालाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे।

‘उहाँले आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको जानकारी नेताहरूलाई गराउनुभएको छ’, सिवाकोटीले हिमालप्रेससँग भने।  उनी मोरङ-३ बाट निर्वाचन निर्वाचित सांसद हुन्।

उनलाई नक्कली कागजात तथा विवरण पेस गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ। पछिल्लो समय सय किलो सुन प्रकरणमा शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै आइरहेका थिए।

संसद्‌को अधिवेशन अन्त्य नभएको समयमा सांसदलाई पक्राउ गर्नुअघि  सभामुखलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। तर फौजदारी अभियोगमा कुनै सांसदलाई पक्राउ गर्नुपर्ने अवस्था आए पक्राउ गरेपछि जानकारी गराए हुने उल्लेख छ।

विशेष अधिकारसहित संविधानको धारा १०३ को उपधारा ६ मा भनिएको छ, ‘संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन। तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ।’

तर सीआईबीले सभामुख देवराज घिमिरेलाई अहिलेसम्म जानकारी भने गराएको छैन।

प्रकाशित: २५ साउन २०८० १६:३७ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast